• बाहुनडाँगी । वीरता जेसीजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट नागरिक सम्मान यस वर्ष चन्द्रगढी विमानस्थल कार्यालयका प्रबन्धक पूर्ण चुडाललाई प्रदान गर्ने निर्णय गरेको छ । प्रवन्धक चुडाँललाई २०७५ सालको ‘उत्कृष्ट नागरिक’ सम्मान प्रदान गरिने भएको हो ।

    वीरता जेसीजका पूर्व अध्यक्षहरुले २०५२ सालमा स्थापना गरेको यो सम्मान हरेक वर्ष एउटा विधामा विशिष्ट सामाजिक योगदान पुर्याएका झापाका प्रतिभाशाली व्यक्तिलाई प्रदान गरिदै आएको छ ।

    वीरता जेसीजद्वारा गठित ३ सदस्यीय निर्णायक समितिले चन्द्रगढी विमानस्थलका प्रबन्धक चुडाललाई राष्ट्रसेवा विधामा ‘उत्कृष्ट नागरिक’ सम्मान दिने निर्णय गरेको हो ।

    झापाको सर्वोत्कृष्ट मानिएको उक्त सम्मान बैशाख ५ गते विर्तामोडमा विशेष समारोहविच प्रदान गरिने कार्यक्रम छ ।

    निर्णायक समितिमा विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका पूर्व उपाध्यक्ष कुमार भट्टराई संयोजक, सदस्यमा पत्रकार मोहन काजी र शिक्षासेवी मोहन शिवाकोटी रहेका छन् ।

    सम्मान प्रदान गर्नका लागि वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्र चम्लागाई संयोजक र निवर्तमान अध्यक्ष एकराज गिरी सचिव रहेको उत्कृष्ट नागरिक सम्मान समारोह–२०७५ गठन गरिएको छ ।

    सम्मान प्राप्त गर्न लागेका ४६ वर्षीय चुडाल झापाको कनकाई–९ घैलाडुब्बा निवासी हुन् । विगत २३ वर्षदेखि सरकारी सेवामा रहेका उनी हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका नवौं तहका कर्मचारी हुन् ।

    उनी एक वर्ष अघि चन्द्रगढी विमानस्थलमा प्रमुख भई आएपछि विमानस्थलको भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हुनुका साथै रात्रि उडान सेवा समेत सञ्चालन हुन थालेको छ ।

    विमानस्थलमा चुडालको नेतृत्वमा भइरहेको सुधारले झापाको चिनारी अन्तर्रा्ष्ट्रिय स्तरमा बढिरहेको छ भने मुलुकले प्राथमिकतामा राखेको पर्यटन प्रवर्धनमा ठूलो टेवा पुगेको छ ।चुडाँल यस एयरपोर्टमा आएको एक वर्षमै चन्द्रगढी एयरपोर्टको काँचुली नै फेरिएको छ । यहाँको भौतिक संरचनाको निर्माण तथा कुशल नेतृत्वको सफल व्यवस्थापनले यहाँको परिचय नै फेरिएको छ ।  आयोजकले सम्मानित प्रतिभालाई स्वर्ण पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नेछन् । यस अघि विभिन्न विधामा २१ जना प्रतिभाहरुले ‘उत्कृष्ट नागरिक सम्मान’ प्राप्त गरिसकेका छन् । सम्मानित भइसकेकाहरुमा तुर्सा हेमरम, चुडामणि रेग्मी, खिलप्रसाद शिवाकोटी, डम्बरबहादुर अधिकारी, दाताराम शर्मा, अशोक शर्मा, स्व. दान खालिङ, भवानी घिमिरे, छत्रबहादुर बस्नेत, डा. शङ्कर उप्रेती, लीला उदासी, रामदर्शन गुरुङ, बैरागी काइँला, पुण्यप्रसाद ओली, राजेश खड्का, गणेशबहादुर प्रसाई, शिवशङ्कर थापा, डा. केआर खम्बु, सीताराम कट्टेल–कुञ्जना घिमिरे र महेन्द्र गिरी रहेका छन् ।
    लोकतन्त्र अनलाईनबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…