• काठमाडौं । नेपाल बंगलादेश बैंकले करिव ९५ करोड रुपैयाँमा खरिद गरेको जग्गामा ठूलो घोटला भएको भन्दै सञ्चालकहरुले नै विरोध शुरु गरेका छन् । बैंकले चैतको अन्तिम साता केन्द्रीय कार्यालय प्रयोजनको लागि भन्दै विवादास्पद व्यापारी अजयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको विशालनगरस्थित झण्डै ८ रोपनी जग्गा खरिद गरेको थियो ।

    जुन जग्गा डिल्लीबजार मालपोत कार्यालयबाट बैंकको नाममा नामसारी भइसकेको छ । तर, बजारमूल्य अनुसार प्रति आना ६० लाख पर्ने उक्त जग्गालाई प्रति आना ७८ लाख ४० हजार रुपैयाँ खरिद गरेर झण्डै २२ करोड रुपैया घोटला गरिएको भन्दै बैंककै सञ्चालकहरुले राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सञ्चालक समितिका अध्यक्ष र बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) विरुद्ध उजुरी हालेका छन् ।

    अध्यक्ष बंगलादेशी नागरिक जलाल अहमद र सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले जग्गा खरिदका लागि सञ्चालक समितिबाट निर्णय गराउन खोज्दा केही सञ्चालकहरुले नोट अफ डिसेन्ट लेखी विरोध गरेका थिए । बंगलादेशी नागरिकको ४१ प्रतिशत लगानी रहेको बैंकले लगानीयोग्य तरलताको कमी भइरहेको अवस्थामा झण्डै एक अर्बको जग्गा खरिद गर्ने कार्य राष्ट्र बैंकको ऐन विपरित रहेको भन्दै उजुरी परेको थियो ।

    एक अर्बमा जग्गा खरिद गरेर भवन बनाउँदा पनि थप दुई अर्ब खर्च हुने हुँदा पूँजीको २५ प्रतिशत भन्दा बढि घरजग्गा खरिदमा खर्च लाग्ने भएकाले उक्त कार्य राष्ट्र बैंकको निर्देशन विपरित रहेको देखिन्छ ।सञ्चालक समितिका एक सदस्यका अनुसार एनबी बैंकका सिइओ ढुंगाना र अध्यक्ष बंगलादेशी नागरिक अहमदको मिलेमतोमा बजारमूल्य भन्दा बढि मूल्यमा उक्त जग्गा खरिद गरी बैंकलाई झण्डै २२ करोड रुपैयाँ घाटा पु¥याइएको देखिन्छ ।

    सिइओ ढुंगानाले जग्गा खरिदका लागि समर्थन नगर्ने सञ्चालकलाई किर्ते हस्ताक्षर गरी हटाउने कोशिष गरेको समेत रहस्य खुलेको छ । साधारणसभाबाट सञ्चालकहरु निर्वाचित भइसकेपछि र बंगलादेशी प्रमोटरबाट महिला सञ्चालक आइसकेको अवस्थामा पनि खड्का थरकी एक महिलालाई पब्लिकको तर्फबाट उच्च अदालतमा केही सञ्चालकविरुद्ध निवेदन हाल्न लगाएर एकलौटी निर्णय गराउन भूमिका खेलेको अध्यक्ष अहमद र सिइओ ढुंगानामाथि आरोप लागेको छ । तर त्यो उजुरी नै कीर्ते रहेको खुलिसकेको छ।

    राष्ट्र बैंकमा जग्गा खरिदको विषयमा उजुरी परेपनि हतारमा जग्गा खरिद गरिएका कारण यो प्रकरणमा राष्ट्र बैंकको समेत भूमिका शंकास्पद देखिएको छ । त्यसो त २०७४ माघ २२ गते कम्पनी रजिष्ट्रार कार्यालयले एक जना महिला सहित ७ जनाको सञ्चालक समिति कायम राख्न निर्देशन दिएको थियो ।

    तर, जग्गा खरिद गर्दासम्म सञ्चालक समितिमा सात जनाको सञ्चालक समिति बन्न सकेको छैन भने भएका सञ्चालकलाई पनि जानकारी नदिइएको एक सञ्चालकले बताए ।

    सिइओ ढुंगानाले कम्पनी रजिष्ट्रारको कार्यालयमा जानकारी गराएको अभिलेखको कागज राष्ट्र बैंकमा अभिलेख गराएका छन् कि छैनन् ? गम्भिर प्रश्न उठेको छ । स्रोतका अनुसार ढुंगानाले आफ्ना सहयोगी सञ्चालकद्धय इन्द्रबहादुर थापा मुकुन्दनाथ ढुंगेललाई हातमा लिएर अन्य सञ्चालकको सहमति विपरित जग्गा खरिद गराएका हुन् ।

    ‘शुरुमा उक्त जग्गा खरिदको कुरा उठ्दा प्रति आना ६० लाख रुपैयाँ महंगो हुन्छ भन्ने ढुंगानाले अहिले आएर किन प्रति आना ७८ लाख ४० हजारमा जग्गा खरिद गरे ? यसैमा उनको खराव नियत रहेको देखिन्छ ।’–बैंकका एक उच्च अधिकारीले बताए ।

    बैंकका अर्का सञ्चालक दिपक कार्की भने जग्गा खरिदको विषयमा आफूलाई बैंकले जानकारी नै नदिएको बताउँछन् । उनले भने–‘मैले पनि मिडिया र बाहिरबाट जग्गा खरिद गरिएको सुनेको हुँ । मैले बैंकमा बुझ्न खोज्दा कसैले पनि जानकारी दिएका छैनन् । यदि जग्गा खरिद गरिएको हो भने सेयरहोल्डर र बचतकर्तालाई ठूलो अन्याय हुनेछ । नियमनकारी निकाय राष्ट्र बैंक र सरकारलाई नै खुलेआम चुनौती दिंदै ठूलो अनियमितता भएको पुष्टि हुन्छ । बैंक यसको जवाफदेही हुनुपर्छ ।’

    करोडौं घोटला गरेर भएको जग्गा खरिद र अन्य अनियमितताको विषयमा विरोध गर्न खोज्दा सञ्चालक कार्कीमाथि सिइओ ढुंगानाको समूहले फसाउन खोजेको भन्दै बैंकमा ठूलो हल्ली खल्ली मच्चिएको थियो । ढुंगानाले विमल खड्का नामका साधारण सेयरधनीको नामबाट कार्की विरुद्ध उजुरी हाल्न लगाएर कार्कीलाई सञ्चालकबाट हटाउन खोजेका थिए । तर, उनको त्यो प्रयास सफल हुन सकेको छैन । कार्कीविरुद्ध उजुरी हाल्दा उल्टै ढुंगानामाथि नै हस्ताक्षर किर्ते गरेको आरोप लागेको छ ।

    जग्गा खरिद गर्ने कार्यले बैंकभित्र वित्तिय सुसासन कायम नभएको र जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक घोटला भएकोले सम्बन्धित सिलबन्दी बोलपत्रको मुचुल्का, उपसिमितिको बैठक तथा सञ्चालक समितिको सक्कली कागजपत्रहरुको जाँचबुझ गरी दोषीलाई तत्काल कारबाहीको माग गर्दै राष्ट्र बैंकमा उजुरी पर्दा समेत जग्गा खरिदको विषयमा किन राष्ट्र बैंक बोलन ? बैंककै कर्मचारीहरु प्रश्न गर्छन् ।

    मुक्तिश्री प्रालिको नाममा रहेको उक्त जग्गाको क्षेत्रफल ७–९–१–३ रहेको छ । मुक्तिश्रीका सञ्चालक अजयराज सुमार्गीले बैंकले जग्गा खरिद गरिदिएबापत सिइओ ढुंगाना र अध्यक्ष अहमदलाई विदेशमै कमिसनको कुरा मिलाएको बैंक स्रोतको दावी छ । स्रोतका अनुसार सुमार्गीले नेपाल ल्याउन नसकेको विदेशी बैंकमा रहेको अवैध रकमबाट कमिसन मिलाइसकेका छन् । सर्वसाधारणको लगानी रहेको बैंकको पैसामा यसरी मस्ती गर्दै आएका ढुंगानाको समूहमाथि कहिले कारबाही होला त ?

    (यूनाइटेड पोस्ट साप्ताहिकबाट )

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…