• काठमाडौं, ६ वैशाख । सेयर खरिदबिक्री करोडौं रुपैयाँ बराबरको कर छली हुने गरेको रहस्य सार्वजनिक भएको छ ।

    महालेखा परीक्षकले सार्वजनिक गरेको ५६ औँ वार्षिक प्रतिवेदनअनुसार विभिन्न कम्पनीहरुको सेयरको वर्तमान बजार मूल्यलाई आधार मान्दा ठूलो परिमाणमा पुँजीगत लाभकर उठ्नुपर्ने भए पनि सेयर मूल्य फरक पारी उठ्नुपर्ने वास्तविक पुँजीगत लाभकरभन्दा २५ करोड १३ लाख रुपैयाँ घटाएर कर असुली गरिएको छ ।

    यसरी कर असुली गर्दा राज्यलाई करोडौं रुपैयाँको नोक्सानी भएकोले उक्त निर्णय पुनरवलोकन हुनुपर्ने महालेखाले जनाएको छ ।

    महालेखाका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ७२ वटा कम्पनीहरुको दुई करोड ५५ लाख २० हजार कित्ता संस्थापक सेयर १० अर्ब ६४ करोड १४ लाखमा बिक्री गरेको देखिन्छ । उक्त सेयर कारोबार भएको दिनको साधारण सेयरको न्यूनतम मूल्यमा बिक्री गर्दा पनि १५ अर्ब ६६ करोड ८७ लाख हुने देखिन्छ ।

    ‘तसर्थ बिक्रीमा फरक परेको पाँच अर्ब दुई करोड ७२ लाखमा समेत पुँजीगत लाभकर गणना गरी असुल गर्नुपर्नेमा उक्त निर्णयलाई आधार लिई लाभकरको गणना गरेको कारण पाँच प्रतिशतका दरले पुँजीगत लाभकर २५ करोड १३ लाख घटी असुल भएकोले सो निर्णयमा पुनरवलोकन हुनुपर्दछ’, महालेखाले भनेको छ ।

    आयकर ऐन २०५८ को दफा ९५ क (२) मा नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभमा पाँच प्रतिशत कर लाग्ने व्यवस्था छ ।

    लाभ गणना गर्ने प्रयोजनका लागि बुक क्लोज गर्दाको अन्तिम मूल्यलाई बोनस तथा हकप्रद सेयरको अनुपातले समायोजन गरी औसत गणना गर्दा आउने अंकमा पुनः तीनपटकको बजार मूल्यको औसत लिई कायम भएको आधार मूल्यलाई खर्च छुट दिने अर्थमन्त्रीस्तरबाट वि.सं. २०६५ मंसिर २२ गते निर्णय भएको छ ।

    यो व्यवस्था पुँजीगत लाभ कर निर्धारण गर्ने अर्को व्यवस्था नभएसम्मका लागि लागू भएको थियो । सेयरको वास्तविक तिरेको लागतलाई आधार नलिई बजार मूल्यको आधारमा समायोजन गर्दा लागत खर्च बढी दाबी हुने गरेको छ ।

    यसरी अंकित मूल्यभन्दा बोनस तथा हकप्रद सेयरको वास्तविक लागत बढी समायोजन भई पुँजीगत लाभकर घटी दाखिला गरी सेयर खरिद बिक्रीमा अनियिमतता हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

    महालेखाका अनुसार यस वर्ष १४ अर्ब ८० करोड २१ लाखको हकप्रद र बोनस सेयर बिक्री गरेकोमा यथार्थ लागत दुई अर्ब ३० करोड ४४ लाख कट्टा गरी १२ अर्ब ४९ करोड ७६ लाखमा आयकर ऐन, २०५८ को अनुसूची–१ (४) ख ३ बमोजिम पाँच प्रतिशतले हुने कर ६२ करोड ४९ लाख असुल हुनुपर्नेमा चार करोड ९० लाख मात्र असुल भएकोले ५७ करोड ५९ लाख छुट भएको देखिन्छ ।

    यससम्बन्धी व्यहोरा गत वर्ष औंल्याए पनि स्थिति यथावत् छ । यसबाट परेको असर एकीन गरी राजस्व असुलीमा प्रभावकारिता ल्याउनुपर्दछ, महालेखाले भनेको छ ।

    प्रतिवेदनमा उल्लेख भएअनुसार आयकर ऐन, २०५८ को दफा ३७ (१) मा कुनै सम्पत्ति वा दायित्वको निसर्ग गर्दा प्राप्त आम्दानीभन्दा सो सम्पत्ति वा दायित्वबापतको खर्चको (आउट गोइग्ंस) घटी भएकोमा फरक रकम आय मानी गणना गर्ने व्यवस्था छ ।

    संस्थापक सेयरको खरिदबिक्री कारोबार हुँदा पुँजीगत लाभकर गणनाका लागि अर्थमन्त्रीस्तरीय वि.सं. २०६४ चैत ५ गतेको निर्णयले खुद सम्पत्ति सकारात्मक भएको कम्पनीको हकमा गत वर्षको किताबी मूल्यको पाँच गुणा वा साधारण सेयरको बजार मूल्यको ५० प्रतिशतमध्ये जुन कम हुन्छ सो मूल्य र खुद सम्पत्ति ऋणात्मक भएको कम्पनीको हकमा एक सय ८० दिनको औसत बजार मूल्यको ५० प्रतिशत वा कारोबार भएको दिनको बजार मूल्यको ५० प्रतिशतमध्ये जुन कम हुन्छ, सोभन्दा बढी मूल्यमा गणना गर्ने उल्लेख छ ।

    साधारण सेयरको ५० प्रतिशत हुने गरी संस्थापक सेयरको मूल्य कायम गर्ने आधार देखिँदैन । तसर्थ सेयर कारोबारमा वास्तविक बजार मूल्यलाई तोडमोड गरी पुँजीगत लाभकर छल्ने काम बन्द हुनुपर्छ, प्रतिवेदनमा भनिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…