रुपन्देही । पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले व्यक्तिको नाममा भएको ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलगायतको नाममा भएको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताएका हुन् । थापाले नेकपा महासचिव पौडेललाई व्यंग गर्दै भने, ‘म काठमाण्डुको सांसद । तपाईंहरूले यहाँबाट निर्वा्चित गरेर पठाउनुभएको मेरो साथी सांसद काठमाण्डुमा जग्गा किन्दा नराम्रोसँग ठगिनुभएछ,’ थापाले भने ।
बालुवाटार किन्दा किन्दा पशुपति किन्न नभ्याएको भन्दै उनले पौडेलमाथि व्यंग गरे । ‘मलाई खुसी पनि लागेको छ, बालुवाटार किन्दा किन्दा उहाँले पशुपति किन्न भ्याउनुभएनछ ।’ ‘बर्दघाटको जग्गा बेचेर काठमाण्डुमा किन्दा उहाँ नराम्रोसँग ठगिनुभएछ,’ उनले भने, ‘उहाँको दुःखमा अन्यन्त सहानुभूति छ । विचरा नराम्रोसँग ठगिनुभएछ ।’
जग्गा किन्दा ठगिएका पौडेललाई काठमाण्डुका जनताले क्षतिपूर्ति दिन नसक्ने भएकोले भोट दिने रुपन्देहीबासीले नै क्षतिपूर्ति दिन पनि उनले आग्रह गरे । उनले आफू क्षेत्रीय सम्मेलनमा आफ्ना कुरा राख्न र सांसद पौडेललाई ठगिएकोमा सहानुभूति प्रकट गर्न रुपेन्देही आएको बताए ।