देबु बानियाँ
बाहुनडाँगी, ६ बैशाख । जेसीज १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरुको साझा संस्था हो । जुन संस्थामा १८ वर्षमा सदस्यता पाइन्छ र ४० वर्ष पुगेपछि स्वत समाप्त हुन्छ । यहि उमेर समूह भित्रमा शाखामा विभिन्न जिम्मेवारीको पदग्रहण गर्दै शाखा अध्यक्ष हुने चलन छ । सामान्यतया एउटा सदस्यले शाखामा निरन्तर काम गरेमा अध्यक्षको जिम्मेवारी पाउँछन् । जुन सकुै संस्थामा पनि आफु भन्दा जुनियर व्यक्तिलाई उमेरको हकबन्दी देखाएर नेतृत्व तहमा पुग्नबाट बञ्चित गराइन्छ । जब उमेर सकिन लाग्छ अनि मात्र उसले जिम्मेवारी पाउँछ । जुन अवस्था नेपाल जेसीजका थुप्रै शाखाहरुमा घाम झै छर्लङ देखिएको छ । तर, पाटन जेसीजका मिजास चित्रकारलाई यो परिधिले छोएको छैन । मिजास उमेरले २४ वर्ष पुगे । उनी पाटन जेसीज वर्ष २०१९ का शाखा अध्यक्ष हुन् । उनी नेपाल जेसीजमा आबद्ध रहेका १५० वटा शाखाका कान्छा शाखा अध्यक्ष हुन् ।
वि.सं २०५२ साल कात्तिक ३० गते बुबा राजेश चित्रकार र आमा रोज चित्रकारका एक्लो छोराका रुपमा ललितपुर जिल्लाको पाटनमा जन्मिएका मिजासको जेसीज यात्रा २०१३ बाट सुरु भएको हो । जुन बेला उनी १८ वर्षमा टेक्दै थिए । कलेज पढ्दै गरेको एउटा युवालाई जेसीजमा लाग्ने उत्साह जागेपछि उनी पाटन जेसीजको साधारण सदस्यका रुपमा प्रवेश भए । पहिलो वर्ष सदस्य बनेका उनका लागि त्यसयता सबै वर्षहरुमा कुनै न कुनै जिम्मेवारी बहन गर्दै आए । वर्ष २०१४ मा उपाध्यक्ष, वर्ष २०१५ सह सचिव, वर्ष २०१६ कोषाध्यक्ष, २०१७ महासचिव र वर्ष १०१८ कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । सरल स्वभाव, सालिन व्यक्तित्व, थोरै तर मिठो बोल्ने बानी भएका मिजासले ५ वर्षको अन्तरालमा शाखामा सबैको मन जित्न सफल बने । उनको जस्तो नाम छ वास्तविक जीवन पनि उस्तै छ । कामप्रतिको जिम्मेवारीलाई सहज रुपमा लिएर अघि बढेका मिजासका लागि २०१९ भाग्यमानी सावित भयो । उनले देशकै जेठो शाखाका रुपमा रहेको पाटन जेसीजको नेतृत्व सम्हाल्ने अवसर पाए । जुन शाखाबाट थुप्रै राष्ट्रिय अध्यक्षहरु उत्पादन गरिसकेको छ । मिजासले त्यो गौरव बोकेको शाखाको अध्यक्ष हुने सौभाग्य पाए । जेठो शाखाको कान्छो शाखा अध्यक्षका रुपमा उनले वर्ष २०१९ लाई नेतृत्व गर्दैछन् ।
हुन त उनले चाहेका भए विदेश गएर पढ्न सक्थे । विदेश जाने मन नगरेका पनि होइनन् तर उनलाई विदेशी मोह भन्दा जेसीजको भूत धेरै चढिसकेको थियो । थेम्स इन्टरनेश्नल कलेजबाट व्यवस्थापन विषयमा डिब्लोमा सकेका मिजासले विदेश गएर पढ्ने मोहलाई त्यागेर नेपालमै पढे । जुन कुरा उनलाई जेसीजले सिकाएको बताए । स्नातक पढ्ने तयारीमा रहेका उनका लागि जेसीज खुल्ला समुन्द्र रहेको बताए । ‘जेसीज एउटा समुन्द्र हो’ मिजासले भने–‘जहाँबाट जति पानी निकाले पनि हुन्छ । जेसीज मेरो लागि एउटा विश्व विद्यालय सावित भयो । जहाँबाट मैले यो समाजलाई नजिकबाट बुझ्ने मौका पाए । सानै उमेरमा समाजका लागि केही गर्नु पर्छ भन्ने थाहा भयो । जुन कुरा मलाई जेसीजले सिकायो ।’
सफल व्यवसायी बन्ने लक्ष्य बोकेका मिजास अहिले बुबाको व्यवसायमा सारथी बन्दै आएका छन् । बुबाले सञ्चालन गर्दै आउनु भएको हेण्डीग्राफ्टको व्यवसायमा उनी पनि सँगसँगै छन् । आफ्नो अध्ययन सकेपछि यहि क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन गर्ने सोचमा रहेको उनले बताए । जेसीजले आफ्नो जीवनलाई नै मोडिदिएको बताउँदै मिजासले भने–‘आज म जे छु त्यो सबै जेसीजका कारणले बनेको छु ।’
नेपाल जेसीजका पूर्व अध्यक्ष तथा पाटन जेसीजका पूर्व अध्यक्ष सिनेटर राजेश न्याछोन र पूर्व अध्यक्ष सम्राटमान जोशीको प्रेरणाले यस अभियानमा होमिएको बताउने मिजासले जेसीज समाजको सफल लिडर बनेर आफ्नो व्यक्तित्व विकास गर्ने संस्था भएको बताए । उनले समाजमा केही गर्नु पर्छ भन्ने भावनको विकास नै जेसीजले सिकाएको बताए ।
मिसाज त एउटा प्रतिनिधि पात्र मात्र हुन् । यदि देशभरका शाखाहरुले आफ्ना शाखामा क्रियाशील सदस्यहरुलाई समयमा अध्यक्ष बनाउँदै लैजाने हो भने नेपाल जेसीजको प्रतिनिधित्व मात्र होइन अन्तराष्ट्रिय जेसीआई सम्म पुग्नका लागि बाटो खुल्ला हुनेछ । जुन कुरा सबै शाखाले सिक्न जरुरी छ ।