• काठमाडौं । देशभर मिर्गौला समस्या भएका बिरामीको संख्या बढ्दै गएको छ । सरकारले मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको उपचार सेवाका लागि करोडौं रुपैयाँ खर्चिए पनि रोग निदानमा सचेतना अपनाउन नसक्दा मिर्गौलाप्रभावितको संख्या बढ्दै गएको हो । नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । सरकारले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा मिर्गौला रोगीहरूले लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ ।

    —बर्सेनि ३ हजारको मिर्गौला फेल
    —३० लाख नागरिकमा मिर्गौलाको समस्या
    —१४ सय जनाको मिर्गौला प्रत्यारोपण

    बर्सेनि ३ हजार मिर्गौला फेल भएका नयाँ बिरामी अस्पताल पुग्ने गरेका छन् । हालसम्म १ हजार ३१७ जनाको मिर्गौला प्रत्यारोपण भएको सरकारी तथ्यांक छ । जसअन्तर्गत वीर अस्पतालले १४६, त्रिवि शिक्षण अस्पतालले ५७० र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ६०१ जनाको मिर्गौला प्रत्यारोपण गरेको तथ्यांकले देखाएको छ ।
    सरकारले क्यान्सर, मुटुरोग, हेड इन्ज्युरी, स्पाइनल इन्ज्युरी, अल्जाइमर, पार्किन्सस, सिकलसेल एनिमिया र मिर्गौला गरी आठ किसिमका कडा रोग लागेका विपन्न बिरामीलाई उपचारका लागि आर्थिक सहायता दिँदै आएको छ । स्वास्थ्य सेवा विभागका अनुसार सरकारले वार्षिक १ अर्ब १८ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको र त्यसमध्ये धेरै रकम मिर्गौला रोगीकै लागि खर्च गरिएको छ ।

    मिर्गौलामा समस्या हुन नदिन के गर्ने ?

    — पानी प्रशस्त पिउनुपर्ने
    —दैनिक १० हजार पाइला हिँड्नुपर्ने
    —समयमा सन्तुलित खाना खानुपर्ने
    —चुरोट, सुर्ती सेवन गर्न नहुने
    —डाक्टरको सल्लाहबिना ‘पेन किलर’ खान नहुने
    — वर्षमा एकपटक मिर्गौला परीक्षण गर्ने

    मिर्गौला प्रत्यारोपण निःशुल्क भइसकेपछि सरकारले सूचीकृत ५५ अस्पताललाई प्रत्यारोपणबापत प्रतिव्यक्ति करिब साढे ५ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । क्रसचेकबापत ५० हजार रुपैयाँ तथा औषधिबापत १ लाख रुपैयाँ गरी झन्डै साढे ५ लाख रुपैयाँ सरकारले लगानी गरिरहेको छ । तर, रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन पूर्वसचेतनामा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । नेपालमा मिर्गौला प्रत्यारोपण सन् २००८ बाट सुरु भएको थियो ।

    रोग लाग्न नदिन जनचेतना फैलाउन आवश्यक छ । मस्तिष्क मृत्यु भयो भनेर घोषणा गरेपछि मुटुको चाल रोकिनुभन्दा अगाडिसम्म मिर्गौला दान गर्न सकिन्छ ।
    डा. ऋषिकुमार काफ्ले, राष्ट्रिय किड्नी सेन्टरका कार्यकारी निर्देशक

    राष्ट्रिय किड्नी सेन्टरका कार्यकारी निर्देशक, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेले डायलासिस सेवाको विस्तार आवश्यक रहेको बताए । उनले सरकारले रोग लाग्नै नदिन जनचेतना अभिवृद्धिका लागि रकम खर्चिनुपर्ने बताए । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…