मोरङ वामपन्थीको ‘लालकिल्ला’ भनेर चिनिने मोरङको क्षेत्र नम्बर ३ पछिल्लो समय कांग्रेसमय बन्दै गएको छ ।
खासगरी कांग्रेसका लोकप्रिय नेता सुनिल शर्माको उपस्थितिका कारण ३ नम्बर क्षेत्र कांग्रेसमय भएको हो । गत निर्वाचनमा नेकपाका उम्मेदवारसँग शर्मा १९ सय मतले पराजित भएका थिए । विगतमा ४० हजारभन्दा बढी मतान्तर थियो । शर्माको उम्मेदवारीकै कारण नेकपासँगको मतान्तर १९ सयमा झरेको कांग्रेस नेताहरू नै स्वीकार्छन् । शर्माले ३ नम्बर क्षेत्रमा समाजसेवालाई आक्रमक बनाएका छन् । सो क्षेत्रका सबैजसो सर्वसाधारणले नोवेल अस्पतालमार्फत सेवा लिइरहेका छन् ।
पछिल्लो समय कांग्रेसमा प्रवेश गर्नेहरूको लहर नै चलेको छ । हरेक कार्यक्रममा २ सयभन्दा बढी विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरिरहेको शर्माले बताए । मोरङको बेलबारी–४ काकुमस्थित कांग्रेस महासमिति सदस्यसमेत रहेका समाजसेवी डा. शर्माको निवासमा आयोजित नववर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कांग्रेस नेताहरूले ३ नम्बर क्षेत्रमा कांग्रेसको जितलाई अब कसैले रोक्न नसक्ने दाबी गरे ।
उनीहरूले नेकपाले भोटको राजनीतिमात्रै गरेकाले अब जनताले कांग्रेसलाई रोज्ने बताए । शर्माले जनतालाई प्रत्यक्ष रुपमा पु¥याएको सेवाका कारण क्षेत्र नम्बर ३ मा कांग्रेस मजबुत हुनलाई सहयोग पुगेको धारणा राखे । कांग्रेसले नववर्ष २०७६ सालको शुभकामना आदानप्रदानका लागि आयोजना गरेको कार्यक्रममा सयौंका संख्यामा नेता कार्यकर्ता एवं सर्वधारण सहभागी भएका छन् । कार्यक्रममा महासमिति सदस्य वसन्त भट्टराईलगायत नेताले कांग्रेसले जनताको भावना बुझेर काम गरेकाले कांग्रेसमा जनलहर बढेको दाबी गरे । उनले देशभरि नै कांग्रेसप्रति जनताको आकर्षण बढेर गएको बताए ।