झापा । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ ।प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले सोमबार काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै गोल्डकपमा सहभागी टिम सार्वजनिक गरेको हो । आयोजकका अनुसार गोल्डकपमा पारो एफसी भुटान, रुस्लान थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सिएमजी संकटा क्लब, च्यासल युथ क्लब, धरान फुटबल क्लब र माइभ्याली फुटबल क्लब गोल्डकपमा सहभागी छन् ।
आयोजक सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतले गोल्डकपको तयारी अन्तिम पुगेको बताए । उनका अनुसार ८५प्रतिशत गोल्डकपको तयारी पूरा भएको छ । दुई दिनभित्र सम्पूर्ण तयारी पूरा गर्ने आयोजकको दाबी छ । आर्थिक उपसमितिका संयोजक गंगालाल गुरुङका अनुसार प्रतियोगिता सम्पन्न गर्न ८५ लाख खर्च हुनेछ । यसपटक करिब चार हजार दर्शक अट्ने बाँसको प्यारापिट बनाइएकाले गेट मनी कम्तिमा २० लाख उठाउने अपेक्षा गरिएको छ ।
खर्चको ५० प्रतिशत रकम संकलन भइसकेको बताएका उनले एनएमसीमार्फत इ सेवाबाट टिकेटिङको व्यवस्था गरिएको जानकारी दिए ।गोल्डकपको संरक्षक मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले खेल महत्वपूर्ण विषय भएकाले नगरले गोल्डकपलाई निरन्तरता दिँदै लैजाने बताए । नगरभित्र हुने खेलकुदको विकासमा नगरपालिका तत्पर रहने बताउँदै उनले गोल्डकपलाई साझा सम्पत्तिको रुपमा ग्रहण गरेर ऐतिहासिक बनाउन आग्रह गरे ।फुटबलको क्रेज मेचीनगरमा अत्यधिक रहेको भन्दै उनले अर्को वर्ष मैदानको स्तरोन्नती र पक्की प्यारपिट निर्माण हुनेसमेत दाबी गरे ।
कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, पूर्वअध्यक्ष डिल्लीराम घिमिरे, मुख्य प्रायोजक मेची नेत्रालयका डा। शरदचन्द्र राईलगायतले गोल्डकपका बारेमा आप्mना धारणा राख्दै प्रतियोगिता सम्पन्न गर्नका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ । त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउनेछन् ।
न्युूज सञ्जालबाट