पथरी: जनप्रतिनिधिको पहलमा दिनभरजसो तनावग्रस्त बनेको पथरी बजार क्षेत्र अहिले सामान्य बन्दै गएको छ ।
पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप राई र उपमेयर यमुना बिष्टको पहलमा संघर्ष समितिसहित इलाका प्रहरी कार्यालयमा वार्ता भइरहेको छ । यसअघि, प्रहरीले हवाई फायरसँगै लाठी चार्ज गरेपछि झडप भएर तनावग्रस्त बनेको पथरी जनप्रतिनिधिकै पहलमा शान्त हुदै गएको छ । अश्रुग्याँस र लाठी प्रहारबाट ५ जना घाइते भएका थिए । ती मध्ये गम्भीर २ जनालाई थप उपचारको लागि विराटनगर लगिएको छ । दिनभर पुर्वपश्चिम राजमार्ग अवरुद्ध भएर सयौं गाडी र यात्रुहरु अलपत्र परेका थिए ।
पीडितलाई न्याय दिलाउन जनप्रतिनिधि आफै पनि आन्दोलनको समर्थनमा पुगेर ऐक्यवद्धता जनाएपछि स्थानीयबासीहरु यातायात खुलाउन सहमत भएका थिए । करिब ३ बजेदेखि एक घण्टाको लागि मात्र यातायात खुलाउन सहमत भएका आन्दोलनकारीहरु अहिले वार्ता भइरहेकोले शान्त छन् । उनीहरु आफैले बजार पनि खुलाइरहेका छन् भने यातायात पनि सहजरुपमा सुचारु भइरहेको छ । वार्तामा मेयर, उपमेयर, संघर्ष समितिसँगै जिल्ला प्रहरी कार्यालयबाट आएका डिएसपी पनि सहभागी छन् । संघर्ष समितिकी संयोजक कविता पराजुलीले छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन् ।