• रतुवामाई / मोरङको रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीका तीन व्यक्तिबाट पटक–पटक बलात्कार हुँदा पनि स्थानीय एक महिलाले न्याय पाएकी छैनन् ।

    मिर्चाडाँगीका गान्धी सिंह गन्गाईं, विनोद सिंह र चन्दन सिंहबाट दुईपटक सामूहिक बलात्कार र एकपटक बलात्कार प्रयास भएकी ती महिला न्याय खोज्दै पटक–पटक प्रहरी कार्यालय पुगिन् । पीडित महिलाले प्रहरीमार्फत् न्याय निरुपण हुनुपर्ने र आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनुपर्ने माग गर्दै आएकी छन् । तर गान्धी सिंह समूहको दबदबा भएको ठाउँमा उनले न्याय पाउन सकिनन् । पीडकहरू कारबाहीमा परेनन् ।

    गत चैत्र २५ गते साँझ घरनजिकैको बाँस झ्याङमा भैंसी लिन गएकी ती महिलालाई गान्धी प्रसादसहित तीनजनाले मुख थुनेर बलात्कार गर्न खोजे । उनी चिच्याएको आवाज सुनेर छिमेकीको घरमा मोबाइल चार्ज गर्न गएका श्रीमान् दौडँदै आए । श्रीमतीलाई स्थानीय व्यापारी गान्धीसहितको समूहले बलात्कार कोशिस गरिरहेको देखेपछि उनले छुटाउने कोशिस गरे । उनले श्रीमतीलाई त बलात्कार हुनबाट जोगाए तर आफै भने निर्घात कुटिए ।

    तत्काल इलाका प्रहरी कार्यालय सिजुवामा दुवैजना न्याय माग्दै पुगे । गान्धी सिंह समूहले ‘प्रहरीलाई उजुरी दिए ज्यान मार्ने’ धम्की दिएपछि क्लिनिकमा उपचार गराउँदै आएका उनीहरू कोशी अञ्चल अस्पताल पुगे । गान्धीले गाउँमा हुकुम जमाएर धम्की दिँदै दिनदहाडै महिलालाई हातपात गर्ने गरेको स्थानीयको आरोप छ ।

    पीडित इलाका प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योगको मुद्दा लिएर पुगिन् । तर, इप्रका सिजुवाका तत्कालीन प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले यौन दुव्र्यवहारको निवेदन मात्र लिए । उजुरी लिएको एक दिनपछि चैत २७ गते प्रहरीले यौन दुव्र्यवहार मुद्दा मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ को दफा २२४ को उपदफा १ बमोजिमको कसूर शीर्षक पर्ने भएकोले प्रहरीले अनुसन्धान गर्न नपाउने भन्दै सम्बन्धित निकायमा उजुरी गर्न भन्दै पीडितलाई फर्काइदिए ।

    त्यसभन्दा अघि गान्धी समूहले आफूलाई दुई पटक बलात्कार गरिसकेको ती महिलाले बताइन् । गत फागुन २० गते शिवरात्रीको दिन ती महिलाका श्रीमान् ससुराली गएका थिए । शिवरात्रीको मेला भरेर फर्कने क्रममा र त्यसअगाडि पनि आफूलाई बलात्कार गरेको उनले बताइन् । पहिलेका बलात्कार घटना सार्वजनिक भए पनि पहुँचवाला गान्धी सिंह, विनोद र चन्दनको दबावका कारण गाउँमै मौखिक मिलापत्र भएका थिए । त्यही तीनजनाको समूहद्वारा अन्तिम पटक पुनः गत चैत २५ गते साँझ जबरजस्ती करणीको प्रयास गरिएको घटनामा समेत प्रहरीले यौन दुव्र्यवहार गरेको निवेदन लियो ।

    सोही घटनाको अनुसन्धानमा संवेदनलशीलता नदेखाएको भन्दै इप्रका सिजुवाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ । प्रहरी निरीक्षक श्रेष्ठको ठाउँमा वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का प्रहरी निरीक्षक रामचन्द्र साहलाई पठाइएको छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार परिच्छेद १८ को २२४ अन्तर्गत यौन दुव्र्यवहारको मुद्दा व्यक्तिवादी फौजदारी अन्तर्गत पर्दछ । जसमा व्यक्ति आफैले अदालतमा ‘फिराद पत्र’ बनाएर अदालतमा दर्ता गराउनुपर्ने हुन्छ । व्यक्तिवादी मुद्दा भएकोले अदालतमा प्रमाण पुर्याउनसके यौन दुव्र्यवहारमा कसूर गर्नेलाई तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरिवना हुने कानूनी व्यवस्था छ ।

    मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठ भने पीडितलाई न्याय दिलाउन प्रहरी सहयोगी बनिरहेको बताउँछन् । ‘यौन दुव्र्यवहारको मुद्दा अदालले हेर्ने गर्दछ’ उनले भने, ‘अदालतको क्षेत्राधिकार अनुसारका निवेदन आएका कारण अदालती प्रक्रियामै जानुपर्दछ । पीडितलाई न्याय दिलाउन अहिले पनि प्रहरी लागिपरेकै छ ।’

    रतुवामाई नगरपालिकाका उपप्रमुख दमन्ता चूडाल प्रहरीसम्म आएका घटनाको बारेमा अन्तिम पटक मात्रै आफूले जानकारी पाएको बताउँछिन् । पीडितलाई न्याय दिलाउन आफू पनि लागिपरेको उनले बताइन् । पीडितले प्रहरीमार्फत् आफ्नो न्याय निरुपण हुनुपर्ने र आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनुपर्ने माग उनको छ ।

    न्यायको लागि विराटनगरमा विभिन्न निकायसँग परामर्श गरिरहेको पीडित परिवारले मङ्गलबारसम्म मुद्दा दर्ता गर्न सकेको छैन । पीडितले आफूमाथि यसअघि बलात्कार र पछिल्लो पटक बलात्कारको प्रयास भएकोले आरोपीलाई जबरजस्ती करणीको मुद्दा चलाउनु पर्ने माग गर्र्दै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…