• पथरी । वैशाख ७ गते आफ्नै कोठाअगाडि नग्न अवस्थामा रूपा भनिने रिना बस्नेत मृत भेटिएपछि पथरीबासीले प्रहरी प्रशासनमाथि प्रश्न तेस्र्याउँदै सुरक्षा मजबुत गर्न माग गरेका छन् । प्रहरीले रिनाको मृत्युलाई ‘आत्महत्या’ मान्दै आएको छ । नगरबासीले भने यो घटनालाई ‘हत्या’ को संज्ञा दिइरहेका छन् ।

    प्रारम्भिक पोष्टमार्टमले पनि रिनाको मृत्युमा हत्या हुन सक्ने यथेष्ट कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । रिना मृत्यु प्रकरणले प्रदेश १ को प्रदेशसभा बैठक पनि तातेको छ । बैठकको शून्य समयमा सांसद् सुयर्माराज राईले पथरी असुरक्षित भएकाले तत्काल शान्तिसुरक्षाका लागि ‘डिएसपी’ को नेतृत्व आवश्यक रहेको औंल्याए ।

    इलाका प्रहरी कार्यालय पथरी प्रमुख इन्स्पेक्टर कमल बजगाईंलाई अन्यत्र सरुवा गरिएको छ । चुस्त–दुरुस्त अनुसन्धान नगरेको भन्दै पथरीशनिश्चरेबाट उनी हटाइएका हुन् । उनको स्थानमा इन्स्पेक्टर सुवास भट्टराईलाई जिम्मेवारी दिएको छ । जिल्ला प्रहरी कार्यालयले डिएसपी नवराज ढुङ्गानालाई रिना मृत्यु प्रकरणको अनुसन्धानको जिम्मेवारी दिएको छ । पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट आइसकेको छ भने भिसेरालगायतको रिपोर्ट आउन बाँकी छ । रिनाको पोष्टमार्टममा उल्लेख्य सफलता हात नपरेको उनले बताए ।

    अन्यत्र हत्या गरी ल्याएको भन्ने कुरातर्फ पनि हालको रिपोर्टले नखुलेको उनले बताए । सीसी क्यामेराको फुटेजमा राति ठेलामा केही शङ्कास्पद वस्तु लगेको जस्तो देखिएकाले उक्त फुटेजमा देखिएका सम्बन्धित व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याइसकेको उनले बताए । ‘हालसम्मको पोष्टमार्टम रिपोर्ट र अनुसन्धानको क्रममा अन्यत्र मारेर सडकमा ल्याएको पुष्टि भएको छैन । जहाँ शव भेटियो, त्यहीँ नै मरेको बुझिन्छ । अझै सूक्ष्म अनुसन्धानले केही दिनमा तथ्य पत्ता लाग्छ’ –उनले भने । रिनाका प्रेमी भनिएका कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…