• काठमाडौं, १३ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि बालुवाटारस्थित ललितानिवासले चर्केको सरकारी जग्गा हडप्नेहरुको भागाभाग भएको छ ।

    त्यो सरकारी जग्गा व्यक्तिको नाममा गराउन भूमिका खेल्ने डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह पछिल्लो समय वेपत्ता भएका हुन ।

    सरकारले ५४ वर्षअघि मुआब्जा दिएर ललितानिवासको जग्गा अधिग्रहण गरेको थियो । राजनीतिक नेता, मन्त्रिपरिषद्का सदस्य, सचिव, मालपोत कर्मचारी, व्यापारी र भूमाफियाको मिलेमतोमा करिब एक सय १४ रोपनी जग्गा हडपिएको प्रतिवेदन छानविन समितिले दिएपछि उनीहरुको भागाभाग भएको हो ।

    सरकारी जग्गा हडप्नेमध्ये मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदीको परिवार नै फरार भएका छन् । स्रोतले शोभाकान्त, उनकी पत्नी उमा तथा छोरा सन्दीप तथा रामकुमारसहित उनकी पत्नी माधवी र छोरा विवेककुमार मोबाइल फोन बन्द गरेर सम्पर्क विहिन भएको बतायो ।

    मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृतहरू कलाधर देउजा, टीकाराम घिमिरे, मालपोत अधिकृत हुपेन्द्रमणि के.सी. तथा उनीहरूलाई सघाउने अन्य कर्मचारी पनि भागेका स्रोतहरु बताउँछन् ।

    शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन समितिले मुआब्जा तिरेर अधिग्रहण भएको ललितानिवासको करिब एक सय १४ रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरेको छ ।

    समितिको सिफारिसबमोजिम नै सरकारले २०४७, २०४९, २०६१/६२, २०६६/६७ र २०६९ सालका मन्त्रिपरिषद् बैठकका विवादास्पद निर्णय खारेज गर्दै जग्गा फिर्ता प्रक्रिया अघि बढाइसकेको छ ।

    ललितानिवासको जग्गा हिनामिनामा निधन भइसकेका दुई पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासहित माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वका मन्त्रिपरिषद् निर्णय प्रमुख कारण रहेको छानविन समितिको प्रतिवेदनमा छ ।

    सो जग्गा प्रकरणमा मन्त्रिपरिषद्बाट निर्णय हुनुअघि तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरे (हाल निधन), अख्तियारकै प्रमुख आयुक्तबाट अवकाश पाएका तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव द्वीपबहादुर बस्न्यात, चुनावी मन्त्रिपरिषद्को सदस्यसमेत रहेका तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्त, गृह मन्त्रालयका तत्कालीन सहसचिव, हालका निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतको नाम जोडिएको छ ।

    ललिता निवास खरिद काण्डमा नेकपाका नेता विष्णुप्रसाद पौडेल तथा उनका छोराको नाम पनि मुछिन पुगेको छ । उनीहरुले आफूहरु जग्गा खरिद प्रक्रियामा ठगीमा परेको दाबी गरेका छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…