• विराटनगर । प्रहरीले मोरङ पथरीकी रीना खड्का मृत्यु प्रकरणमा अनुसन्धानको दायरा फराकिलो बनाएको छ । योसँगै ‘घटनालाई नै तथ्यहीन रुपमा प्रस्तुत गर्दै अतिरंजित बनाउने केही अनलाइन र यूट्युबरमाथि निगरानी बढाएइएको’ मोरङ प्रहरीले जनाएको छ ।

    प्रहरीको भनाइमा ‘अनुसन्धान नै पूरा नभइ निक्र्योल नभएको घटनालाई हत्या नै हो’ भन्ने दाबी गर्दै समाचार प्रकाशन र प्रसारण गरेको भन्दै केही अनलाइन र यूट्युब च्यानलका संचालक तथा उनीहरुले प्रस्तुत गरेको संचार सामग्रीको सूची प्रहरीले तयार गरेको छ ।
    यस्ता सामग्री प्रस्तुत गर्ने अनलाइनका पत्रकारलाई समेत प्रहरीले घटनाको अनुसन्धानकै दायरामा ल्याइ सोधपुछ गर्ने तयारी गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले अहिलेसम्मको अनुसन्धान र प्राप्त प्रमाणलाई थप अधार दिन अनुसन्धानको दायरा झन् फराकिलो बनाइएको जानकारी दिएका छन् । केसीले भने,‘‘यो घटनामा शवको शल्य परीक्षण (पोस्टमार्टम) रिर्पोटले बलात्कार नभएको तर उचाइबाट खस्दा छाती र टाउकोमा लागेको चोटका कारण मृत्यु भएको हुन सक्ने देखाएको छ । तर, हामी सबै कोणबाट घटनाको सुक्ष्म अनुसन्धान गर्दै अघि बढिरहेका छौं ।’’

    एसपी केसीले हत्या अथवा दुर्घटना जे भएपनि दुवै विषयमा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको बताएका छन् । रीनाले मादक पदार्थ सेवन गरे नगरेको, कसरी निर्वस्त्र भइन् जस्ता विषय पनि प्रहरीको सुक्ष्म अनुसन्धानको दायरामा परेको एसपी केसीले बताए । रीनाले मादक पदार्थ सेवन गरे नगरेको भन्ने विषय भिसेरा रिर्पोट आएपछि खुल्ने केसीको भनाइ छ ।

    केसीले अति सम्वेदनशील घटनाको अनुसन्धान नै पूरा नभएको अवस्थामा कतिपय मिडियामा आएको संचार सामग्रीले सामाजिक द्वैष फैलने खतारसमेत देखिएको दाबी गरेका छन् ।

    यस विषयमा मोरङ प्रहरीले नेपाल पत्रकार महासंघ प्रदेश १, मोरङ शाखा र अन्य संचार संस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ । छलफलमा महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले संचारमाध्यमको निगरानी प्रहरीले गर्ने भन्दा पनि प्रेस काउन्सिलबाट हुनुपर्ने विषयमा प्रहरी उपरीक्षक केसीको ध्यानाकर्षण गराए ।

    अध्यक्ष लुइँटेलले भने,‘‘मिडियामा प्रकाशित समाचारको विषयमा चित्त नबुझे छुट्टै कानुनी उपचारको विधि अपनाउन प्रेस काउन्सिल अथवा अदालतसम्म जाने कानुनी प्रावधान छ ।’’ यस विषयमा महासंघ र अन्य संचार संस्थासँग प्रहरीले थप छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लभ घिमिरेले बताए ।

    प्रेस सेन्टर मोरङका अध्यक्ष गोकुल पराजुलीले कानुनविपरीत काम गरेको भए जसलाई पनि कार्वाही गर्न कानुनी बाटो खुला भएको स्मरण गराए । पराजुलीले भने,‘‘पत्रकारहरुल आचारसंहिता र तथ्यगत आधारलाई स्मरण गर्दै समाचार पस्कनु पर्छ ।’’

    एसपी केसीले नेपाल सरकारको कानुनअनुसार दर्ता भए नभएको विषयमा सूचना विभाग र काउन्सिलबाट मिडियाको सूची माग गरिएको जानकारी दिँदै भने, ‘‘यो घटनामा मिडियाबाट आएको सूचना पनि अनुसन्धानको लागि सहयोगी हुने भएकोले सम्पादक तथा संचालकहरुसँग पनि हामीले कुराकानी गर्ने तयारी गरेका हौं । एउटा अनलाइनले एकै दिन विभिन्न तथ्यहीन शीर्षक राखेर ४० वटासम्म समाचार प्रकाशन गरेको हाम्रो अनुसन्धानबाट देखिएको छ ।’’

    यूट्युब च्यानलहरुमा अभिभावकको अनुमति नलिई मृतकका नाबालक छोराको अन्तर्वार्ता देखाएको, घटनालाई तोडमोड गर्ने गरी शीर्षक राखेर समाचार प्रकाशन गरेको, मृतकको निर्वस्त्र शरीर ‘ब्लर’ नगरी प्रकाशन तथा भिडियोमा देखाएको, प्रहरीले अश्रुग्यासमात्र चलाएको अवस्था तर समाचारमा भने हवाइ फायर गरेको भन्दै सुरक्षास्रोतको भनाइ नै नराखी समाचार प्रकाशित गरेको जस्ता धेरै विषयलाई प्रहरीले ‘नोटिसमा राखेको’ प्रहरी उपरीक्षक केसीले बताएका छन् ।

    तर, के कति यूट्युब च्यानल र अनलाइन पोर्टलको सूची तयार भएको छ भन्ने उनले खुलाएनन् ।

    बिहीबार मोरङ प्रहरीले विज्ञप्ति प्रकाशित गरी तथ्यमा आधारित संचार सामग्री मात्र प्रस्तुत गर्न आग्रह गर्दै ‘सामाजिक सद्भाव भड्काउने उद्देश्यले दुस्प्रचार गरी असंवेदनशीलताको सीमा पार गर्ने सम्बद्ध गैरजिम्मेवार मिडियामाथि समेत निगरानी बढाइएको’ जनाएको थियो । अनलाइनका सम्पादकलाई टेलिफोन गरी प्रहरी कार्यालयमा आई घटनाबारे जानकारी दिनसमेत आग्रह गरिएको एसपी केसीले जनाए ।

    गत बैशाख ६ गते राति मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ को प्रस्तावित रङ्गशालामा आयोजित कन्सर्ट पुगेर घर फर्केको भनिएकी रीनाको निर्वस्त्र शव घर अगाडिकै सडकमा भोलिपल्ट बिहान घोप्टो परेको अवस्थामा फेला परेको थियो । स्थानीयले घटना ‘हत्या नै हो’ भन्ने दाबी गर्दै चरणवद्ध आन्दोलन शुरु गरेका छन् । यसक्रममा प्रहरीसँग पथरीमा मुठभेडसमेत भएको छ ।

    प्रहरीले घटना नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नु परेको थियो । पथरी बजारमा व्यवसायसमेत गर्ने रीना स्थानीय वीरबहादुर बस्नेतको घरमा डेरा गरेर बस्थिन् । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलमा विदेशमा थिए ।

    रीनाको ‘केटा साथी’ भनिएका व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको र ‘पोलिग्राफ टेस्ट’ गर्ने तयारी भएको मोरङ प्रहरीले जनाएको छ । केसीले भने,‘‘उनीहरुको सम्बन्ध तथा घटनामा निकटता जस्ता धेरै विषयलाई फरक फरक कोणबाट अनुसन्धान गरिरहेका छौं ।’’

    यस्तो छ मोरङ प्रहरीको विज्ञप्ति

    पथरीशनिश्चरे न. पा. १ मा बस्ने रिना बस्नेतको मृत्युको विषयलाई लिएर केही अनलाईन मिडियाहरूमा अतिरन्जित हेडलाईन दिएर प्रकासन भएको समाचारहरूप्रति जिल्ला प्रहरी कार्यालय मोरङको गम्भीर ध्यानआकर्षण भएको छ ।
    घटनाको सुक्ष्म अनुसन्धान भईरहेको विषयमा ‘मृतकको लाश उक्त घटनास्थलमा ठेलामा राखी फालेको सिसिटिभिमा देखियो’ जस्ता शीर्षक राखी तथ्यहीन, कपोकल्पित र मनोगणन्ते तवरबाट समाचार प्रकाशन गर्दा यसले आम जनमानसको सत्य तथ्य समाचार प्राप्त गर्न पाउनुपर्ने सूचना सम्बन्धी मौलिक हकको समेत हनन् हुने हुँदा एकजना महिलाको मृत्यू भएको संवेदनशील विषयमा अनर्गल रूपमा सामाजिक सद्भाव भड्काउने उद्देश्यले दुस्प्रचार गरी असंवेदनशीलताको सीमा पार गर्ने सम्बद्द गैरजिम्मेवार मिडिया माथि समेत निगरानी बढाईएको छ ।
    उक्त घटनास्थल क्षेत्रको सो समयको सिसिटिभि फुटेज प्रहरीले अनुसन्धान गरिरहेको र उक्त रात त्यस्तो ठेला लिई गई कोही कसैले मृतकको लास नफालेको अनुसन्धानबाट देखिएको स्पष्ट पार्न चाहन्छौं । उक्त सिसिटिभि फुटेजमा देखिएका मानिसहरू उक्त क्षेत्रमा तरकारी ओसारपसार गर्ने ज्यालादारी मजदुरहरू रहेको, निजहरू आफ्नो दैनिक रोजिरोटीको क्रममा तरकारी लैजाने ल्याउने कामको सिलसिलामा अन्दाजी ५ बजेको समयमा उक्त स्थानमा गएको हालसम्मको अनुसन्धानको क्रममा खुलेको छ ।
    सो घटना सम्बन्धमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेकोले सम्बद्द सबैमा जानकारी गरिएको छ ।बाह्रखरीबाट साभार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…