• बैशाख १४
    मोरङको बेलबारी ६ स्थित बोराबाँधकी २७ वर्षिया सिर्जना राईको मृत्यु भएको घटनाबारे अनर्गल प्रचार गरेर समाजकै वदनाम गरिएको भन्दै परिवार र गाउँलेले आपत्ती जनाएका छन् । सिर्जनाका श्रीमान् पर्वत राईको परिवार र छिमेकी सहितका गाउँलेले पत्रकार सम्मेलन नै गरेर त्यस्तो दुस्प्रचारको भत्र्सना समेत गरेका छन् । शनिबार पर्वत राईकै घरमा करिव २ सय जति गाउँले भेला भएर पत्रकार सम्मेलन गरेका थिए
    के थियो सिर्जनाको मृत्यु घटना ?
    सिर्जनाका श्रीमान् पर्वतका अनुसार गएको बैशाख ५ गते विहान सिर्जनाले पेट दुख्यो भनेपछि उपचारका लागि उनलाई नजिकैको दयाल मेडिकल लगिएको थियो । तर सिर्जनाको अवस्था गम्भिर रहेको भन्दै मेडिकलले थप उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विराटनगरको गोल्डेन अस्पताल लैजान सल्लाह दिएको थियो । पर्वतकी दिदिको घर पनि धरानमै रहेको उपचारमा सजिलो हुने भन्दै सिर्जनालाई धरान लगिएको थियो । प्रतिष्ठानमा डाक्टरले सिर्जनाको अवस्था गम्भिर रहेको भन्दै आइसियुमा राख्नु पर्ने बताएका थिए । तत्काल आइसियु उपलब्ध नभएको र विकल्पको तयारी हुँदैगर्दा साँझ ६ बजेतिर सिर्जनाको मृत्यु भएको पर्वतले बताए ।सिर्जना विरामी भएपछि सिर्जनाकी दिदि विर्सना राई र माइतीलाई पनि समयमै खबर गरेको पर्वतको दावी छ ।

    सिर्जनाको मृत्यु पछि शव पोष्टमार्टमको प्रकृयामा गएदेखि नै सिर्जनाका माइतीपक्षले हत्या भएको भनेर सामाजिक सञ्जालमा दुस्प्रचार र मिडियावाजी गरेको पर्वतको परिवार र गाउँलेको भनाई छ ।‘श्रीमतीको मृत्यु हँुदा त्यसको पिडा आफैलाई थियो ।’ पर्वतले भने‘ काजक्रिया समेत गर्न नदिई, प्रहरी आउने, थाना लैजाने काम भयो ।’ सिर्जनाका काका वडाध्यक्ष उदयवहादुर राईले नै गलत आसय राखेर प्रहरीमा जाहेरी दिने,प्रहरी खटाएर दुख दिने र हत्या भएको हो भनी दुस्प्रचार गरेको पर्वतकी दिदि शान्ति राईले बताइन् ।
    ‘पोष्टमार्टम रिपोर्ट नै नआइकन गलत प्रचार गर्ने प्रहरीले दुख दिने काम भयो ।’ शान्तिले भनिन्‘गर्दै नगरेको कामको दोष बोकाउने प्रयास गरियो । सिँगो गाउँ ले ज्यानमाराको आरोप खेप्नुपरेको छ ।’
    पत्रकार सम्मेलनमा प्रतिष्ठानले दिएको ‘डेथ सर्टिफिकेट’ र ‘ल्याब रिपोर्ट’को प्रतिलिपि पनि वितरण गरिएको थियो । सिर्जनाको ब्लडमा इन्फेक्सन,किड्नीमा गम्भिर समस्या र जण्डिस को समस्या देखिएको ल्याब रिपोर्ट र डेथ सर्टिफिकेट उद्दृत गर्दै स्थानिय स्वास्थ्यकर्मी रबिकुमार शाहले बताए ।
    वडाध्यक्षले सिर्जनामाथी कुटपिट भएको र त्यसकै कारण ज्यान गएको भनेर मिडियामा बोलेको कुराप्रति पर्वतको परिवार र स्थानिय गाउँलेको ठुलो आपत्ती रहेको थियो । सिर्जनाको चिउँडो लगायतका स्थानमा देखिएको चोट कुटपिटबाट नभै लडेर लागेको चोट भएको पनि पर्वतका छिमेकीले बताए ।स्थानिय नरहरी राईले भने ‘बैशाख ३ गते मेरो घरको कल चलाउन खोज्दा सिर्जना लडेर चोट लागेको थियो ।’ कुटेर चोट लागेको भन्ने भनाई गलत भएको उनले बताए ।
    पवर्तकै छिमेकी रेनुका घिमिरेले पनि सिर्जनामाथी कुटपिट भएको आफुहरुले थाहा नपाएको बताइन् । सिर्जनाले अधिकांस समय मदिरा सेवन गर्ने गरेको गाउँलेहरुको भनाई छ ।
    नभएको कुरा प्रचार गरेर वुहारी मार्ने गाउँका रुपमा चिनाउने र वदनामी गर्ने प्रयास भएको भन्दै सबै गाउँलेको चित्त दुखाई थियो । वडाध्यक्षले नै गरिमामय पदमा बसेर दुस्प्रचार गर्ने र भ्रम फैलाएर दुख दिएको भन्दै स्थानिय डम्बर राईले आपत्ती जनाए ।पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि सिर्जनाको हत्या भएको नदेखिएको प्रहरीले आफुहरुलाई बताएको राइले बताए ।
    यता इलाका प्रहरी कार्यालय बेलबारीले भने पोष्टमार्टमको भिसेरा लगायतका रिपोर्ट आउन बाँकी रहेको बताएको छ । सो रिपोर्ट आएपछि सबै कुरा खुल्ने इन्स्पेक्टर रामकुमार राईले बताए ।
    घटना संकास्पद भएकाले सत्यतथ्य बाहिर आओस भनेको हो : वडाध्यक्ष राई
    बेलबारी वडानम्बर ६ का वडाध्यक्ष उदयवहादुर राईले घटना संकास्पद देखिएकोले निष्पक्ष छानबिन गरिपाउँ भनि सिर्जनाकी दिदिले प्रहरीमा जाहेरी दिएको बताए । सिर्जनाको मृत्यु नै भैसकेको अवस्था र मृतकको आमाबुबा समेत नभएको अवस्थामा आफु काका भएकोले अभिभावकत्वको जिम्बेवारी पुरा गरेको उनले बताए । हालसम्म पोष्टमार्टम रिपोर्ट आधिकारिक रुपमा वाहिर आएको जानकारी आफुले नपाएको समेत उनले बताए ।
    सिर्जना र पर्वतविच ६ वर्ष अघि विवाह भएको थियो । उनीहरुको ४ वर्षे छोरा पनि रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…