• विराटनगर बैशाख १६ ।

    मोरङको पथरी बजारमा व्यवसाय सञ्चालन गर्दै आएकी रिना बस्नेतको विभत्स शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले करिब ५० जना व्यक्तीहरुसँग सोधपुछ गरेको छ ।

    स्थानीय वीरबहादुर बस्नेतको घरको तेस्रो तल्लामा डेरा गरी बस्दै आएकी रिना गत शनिवार डेरा अगाडी नग्न अवस्थमा मृत भेटिएकी थिइन् ।

    शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले करिब ५० जनासँग सोधपुछ गरेको हो । ती मध्ये ३० जनाको लिखित बयान लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

    रिना मृत्यु प्रकरणको अनुसन्धानकालागि प्रेमी भनिएका कमल नेपाल प्रहरी नियन्त्रणमा छन् । गत सोमबार पक्राउ परेका नेपाललाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले कमलको पोलिग्राफ जाँच पनि गरेको थियो । तर रिनाको संकास्पद मृत्यु प्रकरणमा उनको संलग्नता नदेखिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले बयानकालागि बोलाएकाहरु मध्ये केही आफन्त र रिनाका साथी छन् भने केही पथरी, उर्लाबारी क्षेत्रका व्यपारीहरु छन् ।

    अनुसन्धानका क्रममा रिनाको कनेक्सन कमल बाहेक पथरी र उर्लाबारीका अन्य व्यपारीसँग पनि देखिएको प्रहरीले बताएको छ । करिब ५० जनासँग सोधपुछ गरेको प्रहरीले दुर्घटनाका कारण मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रारम्भिक पोष्टमार्टम रिपोटमा पनि माथीबाट झरेका कारण मुख्य अंगहरुमा चोट लागेका कारण मृत्यु भएको उल्लेख छ ।

    संघर्ष समिति विघटन
    डेरा बसेको घरमुनी मृत फेल परेकी २९ वर्षीय रिना बस्नेतको न्यायकालागि आन्दोलन गर्न भन्दै गठन भएको संघर्ष समिति विघटन भएको छ । रिनाको शव भेटिएको नौ दिनपछि आइतबार आफन्तले दाहसंस्कार गरेपछि कबिता पराजुलीको संयोजकत्वमा गठन भएको संघर्ष समिति विघटन भएको हो ।

    शव भेटिएको नौ दिनपछि आइतबार आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा शवको अन्त्येष्टी गर्दा संघर्ष समितिका सदस्यहरु सहभागि भएनन् । ‘हामीले रिनाको न्यायकालागि आन्दोलन गर्दा उहाँको परिवारबाट सहयोग भएन’ संघर्ष समिति संयोजक पराजुलीले भनिन ‘परिवारको सपोर्ट नपाएपछि संघर्ष समिति विघटन गरियो ।’

    दाहसंस्कार गर्ने खबर पाएपछि संघर्ष समिति रोक्नकालागि शनिवार राति नौं बजे रिनाको माइती पक्ष मधुमल्ला पुगेको थियो । तर माइती पक्ष र घर पक्षलाई तत्काल दाहसंस्कार नगर्न आग्रह गरेपनि आफन्तले मानेनन् । आफन्त र स्थानीयबाट सघंर्ष समितिलाई असहयोग भएपछि समिति विघटन गरिएको हो ।

    १४ वर्षीय छोरासहित बस्दै आएकी रिनाको बलात्कारपछि हत्या भएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयबासी आन्दोलित भएका थिए ।

    शव भेटिएपछि आक्रोशित बनेका स्थानीयले आन्दोलन गर्दा सोमबार र मंगलबार पथरी बजार असान्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २९ सेल अश्रुग्यास प्रहार गर्दा ५ जना घाइते भएका थिए ।

    पोस्टमार्टम रिपोर्टले छात्ती भित्र र टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको देखाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरेको कुरा पोस्टमार्टम रिपोर्टले देखाउँदैन । शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको गर्भ रहेको देखिदैन् ।

    चारवर्षमा सात गम्भिर घटना
    पथरीमा पछिल्लो ४ वर्षमा सात वटा गम्भिर प्रकृतिको घटना भएको पाइएको छ । मानविय क्षति भएका सातवटा घटना प्रहरीले अनुसन्धान पुरा गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०७२ साल साउन १७ गते राती पथरी शनिश्चरे नगरपालिका– १ मा माग्दै हिड्ने ५० वर्षिय रमा राईको शव फेला परेको थियो । लामो समयको अनुसन्धान र पोष्टमार्टम रिपोर्टले उनको हत्या भएको नदेखिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै २०७३ साल भदौ ७ गते पथरी शनिश्चरे नगरपालिका– ८ स्थीति श्रीजंगा धार्मिक बनमा सोही स्थानका गोविन्द दर्नालको शव भेटिएको थियो । उनको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत मोरङले २०७३ साल चैत १४ गते पथरी शनिश्चरे नगरपालिका– ८ का झांक्री बिजय भनिने विजय तामाङ १८ वर्षिय एलेक्स नेपाली र २१ वर्षिय किरण गुरुङलाई २० वर्ष कैद फैसला भएको हो ।

    त्यस्तै २०७३ असोज १० गते पथरीसँग जोडिएको कानेपोखरी गाउपालिका– ७ खण्डमा पर्ने पूर्व पश्चिम लोकमर्गमा भारतीय नागरिक २९ वर्षिय लिला दाहाल शर्माको शव भेटिएको थियो । महिलाको हत्यामा संलग्न भएको आरोपमा सुनसरीको धरान नगरपालिका– १५ घर भई भारतको सिलगडी बस्दै आएका ४२ वर्षिय राजकुमार प्रधान पक्राउ परेका थिए । उनी २०७– बैशाख ३१ गते पक्राउ परेका थिए ।

    त्यस्तै २०७५ साल जेठ २१ गते विहान पथरी शनिश्चरे नगरपालिका– १० मा पर्ने श्रीजंगा धार्मिक वनमा पथरी शनिश्चरे नगरपालिका ३ का ६१ वर्षिय रनबहादुर लिम्बुको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्या नभई भवितब्यबाट मृत्यु भएको बताएको छ । लाशजाँच मुचुल्का, पोष्टमार्टम रिपोर्टले हत्या भएको नदेखिएको प्रहरीले बताएको हो ।

    त्यस्तै गत कात्तिक २ गते पथरी शनिश्चरे नगरपालिका– ८ का कृष्णबहादुर विष्टले सोही स्थान घर भई इटहरी बस्दै आएका बिजय खड्काको हत्या गरेका थिए । पूरानो रिसिबीइका कारण दशैको बेला विष्टले खुकुरी प्रहार गरी प्रहरी समक्ष आत्मसमर्णण गरेका थिए ।

    त्यस्तै गत फागुन ३ गते पथरी शनिश्चरे नगरपालिका– १० मा पर्ने डाँस मोरङ्गी सामुदायिक वन क्षेत्र भित्र ५२ वर्षिय सावित्री खतिवडाको शव फेला परेको थियो । झापा– मेचिनगर नगरपालिका घर भई काठमाडौं तारकेश्वर नगरपालिका– १ बस्दै आएकी खतिवडाले विष सेवन गरी आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टमा खुलेको थियो ।

    ढुकुटी खेलका कारण आर्थिक व्यवहार विगिएपछि मोवाइल घरमा नै छाडेर निस्कीएकी खतिवडाले पथरीको जंगल खण्डमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    षडराज तामाङको मृत्यु दुर्घटनाबाट
    गत फागुन १६ गते पथरी शनिश्चरे नगरपालिका– १ स्थीत सिक्का लन्च एण्ड वारमाको मुनी मृत अवस्थामा फेला परेका षडराजको हत्या नभई दुर्घटनाका कारण मृत्यु भएको प्रहरीले बताएको छ ।

    चौथो तल्लामा रहेको बारमा तामाङ सहित ६ जनाले ७५० एमएलका दुई बोतल खुकुरी रम सेवन गरी तल झर्ने क्रममा तेस्रो तल्लाको वरण्डाबाट सिढी तर्फ झर्नुपर्नेमा अर्कैबाटो लरखराउँदै जाँदा उचाई कम भएको पर्खालबाट झरेको सिसि टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…