• काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधानप्रति प्रधानमन्त्रीको प्रतिवद्धतामाथि प्रश्न उठाएको छ । बजेट अधिवेशनको पहिलो दिन सोमबार संसदलाई सम्बोधन गर्दै विपक्षी दलका दलका नेता शेरबहादुर देउवाले सरकार संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र र समावेशिताका संरचनालाई भत्काउनेतर्फ लागेको आरोप लगाए ।
    सेना परिचालनको निर्णय संवैधानिक परिषदबाट खोसेर प्रधानमन्त्रीमा ल्याउन खोजेको भन्दै देउवाले यो प्रत्युपादक हुने बताए । ‘सबै तहका राज्य संरचनाको अधिकार आफूमा केन्द्रीत गरेर चाँडै विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्दछु,’ न्याय, समृद्धि र विकासका लागि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको भन्दै देउवाले भने, ‘प्रधानमन्त्री संविधानप्रतिको तपाईको प्रतिबद्धता विगतको इतिहास देखाएर होइन, वर्तमानको कामबाट प्रमाणित गर्नुस् । मेरो तपाईलाई यही शुभकामना छ ।’ उनले सरकारले स्थानीय तहदेखि प्रदेश सरकारका अधिकारलाई समेत केन्द्रिकृत गर्ने काम गरेको आरोप बताए ।

    सरकारले १४ महिनामा देखाउन लायक र जनतालाई आशा जगाउने एउटा पनि काम गर्न नसकेको कांग्रेस सभापतिसमेत रहेको देउवाको आरोप छ । यसले जनतामा निराशा छाएको उनले बताए । प्रधानमन्त्रीले समृद्धि यात्रामा मुलुकलाई निर्वाध रुप अघि बढाउने जनताको अपेक्षा भएपनि सरकारले अभूतपूर्व ऐतिहासिक अवसरलाई खेर फालेको देउवाको भनाइ थियो । ‘कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधी अहिलेसम्म सरकारले फेला पारेको छैन,’ उनले भने ‘आम नागरिकबीच यस विषयमा सरकारको नियतप्रति आशंका उब्जिएको छ ।’
    शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको, पुँजीगत खर्च निराशाजनक भएको उनको दाबी छ । उनले भने, ‘विगतका सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको हुँ भनी झूठ प्रचार गर्नबाहेक सरकारले उल्लेखनीय काम गर्न सकेन ।’

    नेपालकै लगानीमा बुढीगण्डकी परियोजना कार्यान्वयन गर्नुको साटो बिना प्रतिस्पर्धा विदेशीलाई सुम्पने प्रपञ्च रचेको, विदेशी अनुदान लक्ष्यअनुसार ल्याउन नसकेको, व्यापारघाटा बढेको उनले आरोप लगाए ।
    सिद्धान्त, दर्शन, नीति, कानून र कार्यक्रमहरुको प्रष्टता बेगर विदेशी लगानी आकर्षित गर्न वा समृद्धिको यात्रा अगाडि बढ्न सम्भव नभएको भन्दै देउवाले भने, ‘दिनानुदिन ठूल–ठूला भ्रष्टाचारका काण्ड सुनेर नागरिक निराश छन् ।’ वाइडबडी विमान प्रकरणमा अख्तियारले छिट्टै दोषीलाई कानुनी कठघराउमा ल्याउनुपर्ने उनले माग गरे । बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न खोजेको भन्दै उनले भने, ‘नागरिकको धैर्यको सीमा टुट्न लागेको छ । आउने वर्षमा सरकार यस्ता दुष्कर्ममा नलागोस्, मेरो शुभकामना छ ।’

    अब नागरिकले गफ र नारामा होइन, साच्चिकै काम र परिणाममा सरकारको उपस्थिति खोजेको भन्दै कांग्रेस सभापति देउवाले जनअपेक्षा पूरा गराउने सरकारलाई सशक्त दबाब दिइने बताए । ‘आम नागरिकको अपेक्षा अनुरुपका राम्रा काममा सरकारलाई हाम्रो सहयोग रहनेछ’ उनले भने, ‘तर संविधानले स्थापित गरेका संरचना भत्काउने दिशा उद्यत सरकारका कार्यलाई बलियो रुपमा प्रतिवाद गर्ने छौं । हाम्रो कर्तव्य पनि यही हो ।’ सरकारले अहिलेम्म गरेका कमिकमजोरी सुधार गरेर अघि बढ्ने संकल्प गरोस् भन्ने शुभकामना पनि दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…