• रोल्पा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल २ दिनयता रोल्पा भ्रमणमा छन्। तर, उनी जताजता गयो, उतै बम विस्फोटका घटना भएपछि सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको छ।

    भ्रमणको पहिलो दिन प्यूठानको स्वर्गद्वारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय उद्घाटनपछि रोल्पा छिरेका पोखरेललाई रोल्पाको प्रवेशद्वार सुलिचौरमा पार्टी कार्यकर्ताले स्वागत गरेका थिए। जिल्ला सदरमुकाम लिवाङमा निर्वाचित जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरुका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएकै बखत कार्यक्रम स्थल नजिक अज्ञात समूहले बम विस्फोट गराएको थियो। तर मानवीय क्षति हुन पाएन।

    प्रहरीले भने सामान्य पटका भएको प्रतिक्रिया दिएको छ। जनजीवन आतंकित पार्न सामान्य पटका पड्काएका हुन सक्ने एक प्रहरी अधिकारीले बताए।

    तर, बम विस्फोटको आवाजले सदरमुकामका घरसमेत थर्किएको प्रत्यक्षदर्शी खिर्मा शर्मा बताउँछिन्। 'निकै ठूलो आवाजमा बम पड्किँदा युद्धकालीन समयको सम्झना आयो,' शर्माले भनिन्।

    रोल्पा नगरपालिकाले आयोजना गरेको साहित्य मेलाको दोस्रो दिनका विभिन्न कार्यक्रम भइरहेको समय भएकाले बम विस्फोटले कार्यक्रम स्थलमा समेत भागाभाग चलेको थियो। त्यसबेला रोल्पा नगरपालिका वडा नं ४ तित्रिकोट जंगलमा धुवाँको मुस्लो देखिएको थियो। सो स्थल बजार क्षेत्रबाट करिब २ किलोमिटर दुरीमा पर्छ।

    रोल्पा आएका मुख्यमन्त्रीलाई तर्साउन उक्त बम विस्फोट भएको आंकलन गरिएको छ।

    एक कार्यक्रममा रोल्पाको त्रिवेणी गाउँपालिका पुगेका मुख्यमन्त्री पोखरेललाई लक्षित गरी आज पनि २ पटक बम विस्फोट भएको पत्रकार सन्तोष शर्माले जानकारी दिए।

    माओवादी लडाकु शिविर रहेको स्थान टिला बजार नजिक बम विस्फोट भएको बताइएको छ। दिउँसो करिब १ बजे जुगारमा कार्यक्रम भइरहेका बेलासमेत अर्को बम विस्फोट भएको पत्रकार शर्माले जानकारी दिए।

    सवारीसाधन मार्फत जिल्ला भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलसँग उनकी धर्मपत्नी सुजिता शाक्य, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्र पुन लगायतका नेता तथा जनप्रतिनिधिहरु रहेका छन्।

    विस्फोट कसले कुन उद्देश्यले गराएको नखुले पनि सामाजिक सञ्जालमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका एक जिल्ला स्तरीय नेताले आफूहरुमाथि लगाइएको प्रतिबन्धको विरोधस्वरुप बम विस्फोट गराएको बताएका छन्। प्रतिबन्ध फुकुवा नभएसम्म यस्तो विरोध जारी रहने उनको भनाइ छ।

    आफूहरु शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेका बेला राज्यले विचारमाथि प्रतिबन्ध लगाएको भन्दै संकेत स्वरुप बम विस्फोट गराएको ती नेताले उल्लेख गरेका छन्।

    साहित्यमार्फत पर्यटनको विकास गर्ने भन्दै केही दिनयता रोल्पामा गन्तव्य जलजला कार्यक्रम चलिरहेको छ। देशको विभिन्न स्थानबाट ५ दर्जनभन्दा बढी लेखक साहित्यकार र पत्रकारले भ्रमण गरेका थिए।

    रोल्पा नगरपालिकाले समेत बैसाख १५ बाट सुरु गरेको गुराँस साहित्य मेला जलजला पुगेर समापन गर्ने कार्यतालिका बनाएको छ।

    समयमै समस्याको वार्ता तथा संवादद्वारा समाधान गर्न स्थानीयहरुले सरकारलाई आग्रह गरिरहेका छन्। रोल्पालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रभाव क्षेत्रको रुपमा लिने गरिन्छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…