• काठमाडौं। दुई तिहाइ सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना हुने गरेको छ। अझ विभागीय मन्त्रीहरुले राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै बेला बेलामा मन्त्री परिवर्तनका कुरा पनि हुने गरेका छन्। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त केही मन्त्रीहरु परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति पनि दिएका थिए। तर प्रधानमन्त्रीले हालसम्म मन्त्री परिवर्तन गरेका छैनन्। यसअघि लगानी सम्मेलन लगत्तै मन्त्री परिवर्तन हुने चर्चा थियो।

    त्यसो त प्रधानमन्त्री ओली अहिलेका सबै मन्त्रीसँग सन्तुष्ट छन् भन्ने होइन। प्रधानमन्त्री ओली केही मन्त्रीलाई तत्काल हटाउन चाहन्छन्। यो विषयमा उनले अर्का अध्यक्ष प्रचण्डसँग पनि बेला बेलामा छलफल गर्ने गरेका छन्। तर प्रधानमन्त्रीले किन मन्त्री परिवर्तन गर्न सकिरहेका छैनन्?

    प्रधानमन्त्री निकट स्रोतका अनुसार आफूले नै विश्वास गरेर अवसर दिएका मन्त्रीले राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसक्दा प्रधानमन्त्री चिन्तित छन्। आफूले जिम्मेवारी दिएका मन्त्रीलाई हटाउँदा त्यसैमा टेकेर प्रतिपक्षले खेल्छ की भन्ने चिन्ता प्रधानमन्त्रीलाई छ।

    ‘प्रधानमन्त्रीज्यू सबै मन्त्रीसँग सन्तुष्ट हुनुहुन्छ भन्ने होइन,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘तर आफैंले चयन गरेका मन्त्रीलाई तत्काल परिवर्तन गर्दा त्यसैलाई आधार बनाएर प्रमुख प्रतिपक्षले खेल्न सक्ने र सरकारको झन आलोचना हुने हो की भन्ने चिन्ता पनि देखिन्छ।’

    गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ र उद्योग मन्त्री माृतका यादवलाई परिवर्तन गर्ने सहमति भएको छ

    प्रधानमन्त्री ओलीले बजेट अधिवेशनपछि भने केही मन्त्रीलाई फेर्ने तयारी गरेको स्रोतले दाबी गर्यो। सकेसम्म पहिलेकै टिमलाई सुधारेर काम गर्न सकिन्छ की भनेर कोशिश गर्दा पनि परिणाम नदेखिएपछि केही मन्त्री परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्री पुगेको स्रोतको दाबी छ। यो विषयमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग पनि छलफल गरिसकेका छन्। ओली र प्रचण्डबीच पहिलो चरणमा चार जना मन्त्री परिवर्तन गर्ने सहमति भएको स्रोतले दाबी छ।

    पहिलो चरणमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ र उद्योग मन्त्री मातृका यादवलाई परिवर्तन गर्ने सहमति भएको स्रोतले जनायो।

    ‘बजेट पारित भएपछि मन्त्रिमण्डल पुनगर्ठन हुने संभावना छ,’ स्रोतल भन्यो, ‘पहिलो चरणमा चार जना मन्त्री परिवर्तन गर्ने गरी दुवै नेता (ओली–प्रचण्ड) बीच सहमति भएको छ।

    गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा परिवर्तन गर्ने विषय निकै छलफल र सोच विचार गरेर गरिएको स्रोतले दाबी गरेको छ। ओली र प्रचण्डले यो विषयमा निकै चरणमा छलफल गरेका छन्।

    गृह र अर्थ मन्त्री परिवर्तन भएपनि गृहमन्त्री पूर्वमाओवादी कोटाबाट प्रधानमन्त्री निकट व्यक्तिलाई नै बनाइँदैछ, भने अर्थमन्त्री पूर्व एमाले कोटामा प्रचण्ड निटक व्यक्तिलाई बनाइनेछ

    पछिल्लो समय गृहमन्त्री थापाको महत्वकाँक्षा बढ्दै गएपछि प्रचण्डले गृहमन्त्री परिवर्तन गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष गरेका थिए। स्रोत भन्छ, ‘गृह र अर्थ मन्त्री परिवर्तन भएपनि गृहमन्त्री पूर्वमाओवादी कोटाबाट प्रधानमन्त्री निकट व्यक्तिलाई नै बनाइँदैछ, भने अर्थमन्त्री पूर्व एमाले कोटामा प्रचण्ड निटक व्यक्तिलाई बनाइनेछ।’

    गृहमन्त्रीबाट बादललाई फिर्ता बोलाएपछि उनी निकट मानिने पम्फा भुसाललाई मन्त्री बनाउने तयारी भइरहेको छ। तर कुन मन्त्रालय दिने भन्ने विषयमा भने टुंगो नलागेको स्रोतले जनायो।

    प्रचण्डले अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको नाम सिफारिस गरेको स्रोतले दाबी गरेको छ। चितवनबाट निर्वाचन भएका पाण्डेलाई अर्थमन्त्री बनाउनु पर्नेमा प्रचण्डले जोड दिएका छन्। पाण्डे पूर्व अर्थमन्त्रीसमेत हुन्। उनी वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन्।

    यसैगरी भौतिक पूर्वाधार र उद्योग मन्त्रीलाई परितर्वन गरेपछि उनीहरुका ठाउँमा ल्याउने मन्त्रीको नामका विषयमा पनि छलफल सुरु भएको छ। उद्योगी व्यापारीको समूहले पूर्व उद्योगमन्त्रीसमेत रहेका महेश बस्नेतलाई नै उद्योग मन्त्रालयको जिम्मेवारी दिनुपर्ने प्रधानमन्त्रीलाई सुझाव दिएको स्रोतले जनाएको छ। महेश बस्नेत प्रधानमन्त्री ओली र प्रधानमन्त्रीको भावना अनुसार काम गर्ने भएकाले उद्योगी व्यापारीले बस्नेतलाई उद्योग मन्त्री बनाउन सुझाव दिएका छन्।

    यसैगरी भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पूर्वमाओवादी कोटाबाट प्रभु साहलाई दिने गरी छलफल भएको छ। मातृका यादव र रघुबीर महासेठलाई फिर्ता बोलाएपछि तराइ मधेसको सन्तुलन मिलाउन पनि प्रभु साहलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने विषयमा छलफल भएको हो।

    योसँगै प्रधानमन्त्रीले अन्य केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने योजनासमेत बनाएका छन्। स्रोतका अनुसार संचारमन्त्री गोकुल बास्कोटालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने, स्थास्थ्य मन्त्री उपेन्द्र यादवलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संचारमन्त्रीको जिम्मेवारी दिने गरी प्रधानमन्त्रीले छलफल थालेका छन्। योगेश भट्टराई पनि मन्त्री बनाउने विषयमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएको बताइएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…