• मधु शाही
    महिला ! जो घरको दैलो पार गर्न परिवारको अनुमति लिनुपर्छ । घुम्टोभित्रै सजिएर घर सिंगार्नु पर्छ । जहा ठूलो स्वरमा बोलेर आफ्नो मनको अभिव्यक्ति राख्न डराउँछन् । हाम्रो समाजका झण्डै दुई तिहाई महिला यस्तै अवस्थामा गुज्रिरहेका छन् । एक तिहाई संख्यामा रहेका महिलाले पनि समाजका अनेकन कठिनाई चिर्दै बाटो बनाउनुमा संघर्ष गरिरहेका छन् । लैंगिक असमानताको जालो चिर्दै गरेका महिला पत्रकारको अवस्था पक्कै पनि सहज छैन । छोरी बोल्दा नाक खुम्चाउने हाम्रो पितृसत्तात्मक समाज अझै विद्यमान छ ।

    यद्यपि संविधानले सम्बोधन गरेको पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा निरन्तर लागिपरेको पत्रकारिता क्षेत्रमा महिलाको योगदान पनि उत्तिकै छ । उनीहरु समाजको कुरीतिविरुद्ध लड्दै पत्रकारिताको चुनौती पार गरिरहेका छन् । जुन समाजको दोहोरो भूमिका हो । नेपाली पत्रकारितामा ९५ प्रतिशत पुरुष नेतृत्वमा छ । केही वर्षयता महिला पत्रकारको संख्या बढ्दो छ । सञ्चारिका समूहले केही वर्षअघि ११ प्रतिशको हाराहारीमा रहेको महिला पत्रकारको संख्या अहिले बढेर झण्डै २५ प्रतिशत पुगेको दावी गर्छ । तर, संख्या बढ्नुमै उपलब्धि र सन्तोषजनक मान्ने स्थिति छैन ।

     

    मिडियामा महिला र पुरुषमाथि गरिने असमान ज्याला, असमान पदोन्नति, कार्यस्थलमा गरिने दुव्र्यवहार लगायत पक्षले महिला पत्रकार पेशागतरुपमा असुरक्षित छन् । ‘पेशागत असुरक्षाले गर्दा महिला पत्रकार पत्रकारितामा दिगो हुन सकेका छैनन्’, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित भन्छिन् । केन्द्रीय तथ्यांक विभागले ‘श्रमशक्ति सर्भेक्षण २०७४÷२०७५ को प्रतिवेदनको नमूना सर्भेक्षणमा पनि महिला र पुरुषबीच समान ज्याला छ । महिलालाई ५ हजार ८ सय कम ज्याला दिइने गरेको तथ्यांकमा उल्लेख छ ।

    यसको प्रभाव मिडियामा कार्यरत महिला पत्रकारको हकमा पनि लागु हुन्छ । एउटै पदमा एउटै जिम्मेवारी सम्हाल्दै आएका महिला र पुरुष पत्रकारले बुझ्ने मासिक तलबमा ठूलो भिन्नता छ । ज्यालामा लैंगिक विभेदले गर्दा महिला पत्रकार पेशागत सुरक्षा अपनाउन नसकेको गुनासो गर्छन् । देशसञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहले सार्वजनिकस्थलमा फोटो खिचेकै बहानामा प्रहरीले क्यामेरा जफत गर्यो भने उनलाई गिरफ्तार गर्यो । लामो समयदेखि पत्रकारिता गर्दै आएकी वर्षाले महिला पत्रकार कमजोर मान्ने हुँदा प्रहरीले जफत गर्ने आँट गरेको हुनसक्ने महशुस गरिन् । ‘अरु कार्यक्रममा जाँदा पनि महिला पत्रकार भनेपछि अलि हलुका ढंगले हेर्ने गर्छन’, उनले भनिन्, ‘त्यस्तो व्यवहार पुरुष पत्रकारमा देखिँदैन ।’

     

    पछिल्लो समय डिजिटल प्रविधिको विकाससँगै पत्रकारिताको सरलता बढ्दैछ । साथै पत्रकारको असुरक्षा पनि । खासगरी महिला पत्रकारको हकमा डिजिटल मिडियाले बढी असुरक्षित बनाएकोछ । अन्तर्राष्ट्रिय मिडिया फोरमहरुमा महिला र इन्टरनेट दुव्र्यवहारको अवस्था खोजी भइरहेकोछ । महिलामैत्री पत्रकारिताको अभाव छ । केही मिडिया हाउसले यस्तो वातावरण सिर्जना गर्ने प्रयास नगरेका होइनन् । तर, सबैमा लागु देखिँदैन । अनलाइनमा काम गर्दै गरेकी एकजना महिला पत्रकारले आफूमाथि अप्रत्यक्षरुपमा दुव्र्यवहार हुने गरेको बताइन् । कार्यालयमा काम गर्दागर्दै नकारात्मक भावले हात छुने, अनावश्यक दोहोरो अर्थ लाग्ने कुरा गर्ने, छुट्टै भेट्न दवाव दिने, सामाजिक सञ्जालमार्फत आवश्यकता भन्दा बढी कुरा गरेर मानसिक तनाव दिने जस्ता समस्या सुनाइन् । हाकिमबाटै यस्तो व्यवहार खेपेकी उनले सुरुमा वास्तै गरिनन् । हुँदैन भन्दै टारिन् । पछि कार्यालयमै काम गर्ने स्थिति नभएपछि उनी पत्रकारितामा बिट मारेको बताउँछिन् । ‘हामी महिला पत्रकार धेरै जोगिएर काम गर्नुपर्ने चुनौती छन्’, उनले भनिन् । अझ बिहे गरेपछि महिला पत्रकारले पत्रकारितामा निरन्तरता दिन गाह्रो छ । यसमा आर्थिक पक्ष एक हो भने सामाजिक पक्ष अर्को । १९ वर्षको उमेरदेखि पत्रकारिता करिअर सुरु गरेकी दैनिक पत्रिकामा काम गर्ने एकजना महिला(नाम नखुलाउने शर्तमा) बिहेपछि पत्रकारिता छोडिन् । उनको त्यो रहरभन्दा पनि बाध्यता थियो ।

     

    रातिसम्म काम गर्नुपर्ने तर तलब भनेजति नपाउने हुँदा परिवारले जागिर नगर्न दवाव दिएको उनले खुलाइन् । उनले मिडिया हाउसमा महिला र पुरुष पत्रकारबीच ठूलो पारिश्रमिक भेद रहेको सुनाइन् । महिला पत्रकारको अर्को असुरक्षाको पाटो बनेको छ, इन्टरनेट प्रविधि । इन्टरनेटको प्रयोगमा न्यु मिडियाको वर्चश्व भएसँगै महिला पत्रकार हिंसाका मुख्य शिकार भएका छन् । अन्तर्राष्ट्रिय पत्रकारिता जगतमा यो विषय गम्भीरताका साथ चिन्तन गरिएको छ । इन्टरनेशनल न्युज सेफ्टी इन्स्टिच्युटका निर्देशक एस हन्नह स्ट्रोमका अनुसार पुरुष पत्रकार भन्दा महिलाले तीन गुणा अनलाइनमार्फत दुव्र्यवहार भोगिरहेका हुन्छन् ।

    धम्की र दुव्र्यवहारकै कारण ४० प्रतिशत महिलाले राम्रा र जोखिमयुक्त समाचार लेख्नै छोडेका छन् । इन्टरनेशनल वुमन मिडियास् फाउन्डेशन(आइडब्लुएमएफ)को रिपोर्टमा झण्डै आधा महिला पत्रकारले कार्य क्षेत्रगत दुव्र्यवहार सहनु परेकोछ । संयुक्त राज्य अमेरिका लगायत विश्वका ६ सय महिला पत्रकारबीच गरिएको सर्वेक्षणमा अधिकांशले हिंसा र दुव्र्यवहारको मुल कारण लैंगिकता रहेको रिपोर्टले खुलाएकोछ । अमेरिकाका केही पूर्व महिला पत्रकारले अनलाइनमार्फत धम्की र दुव्र्यवहार भावका म्यासेज आएकाले पत्रकारिता नै छाड्नु परेको रिपोर्टमा उल्लेख छ । टाइम्स अफ इण्डियाका कन्सल्टिङ एडिटर सगारिका घोसले पत्रकारिता गर्दा पाएको धम्की सुन्दा आङ जिरिङ्ग हुन्छ ।

    अन्तर्राष्ट्रिय टेलिभिजन अल्जेजिराको रिपोर्टमा उनले आफ्नो र छोरीको सामूहिक बलात्कार गर्नेसम्मको धम्की आएको खुलाएकी छन् । उनले भिडियोमा गौरी लंकेशको हत्या पनि सामाजिक सञ्जालबाटै सुरु भएको दावी गर्छिन् । मार्ने धम्की, सामूहिक बलात्कार गर्ने, अश्लील शब्द प्रयोग गरेर गाली गर्ने जस्ता प्रवृत्ति सामाजिक सञ्जालमा महिला पत्रकारले धेरै भोग्नु परेको छ । यो विश्वमा महिला पत्रकारको मानचित्र हो । यस अवस्थाबाट नेपाल अछुतो छ भन्न सकिँदैन । डिजिटल दुव्र्यवहारसँगै यहाँका महिला पत्रकारले सामाजिक, आर्थिक, साँस्कृतिक र शारीरिक असुरक्षा भोगेका छन्, नेपालकाश्रमिक महिलाले ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…