• विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा डेरा गरी बस्दै आएकी रीना बस्नेतको संकास्पद मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले करिब ५० जनासँग सोधपुछ गरेको छ । गत शनिबार डेराअगाडि नग्न अवस्थामा मृत भेटिएकी रीनाको हत्या भएको आशंकामा आइतबार साँझसम्म ५० जनासँग केरकार गरेको प्रहरीले ३० जनाको लिखित बयान लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

    प्रहरीले बयान लिएकामध्ये केही रीनाका आफन्त र साथी पनि छन् । रीनाको सम्बन्धका विषयमा सामाजिक सञ्जाल र कल डिटेल अध्ययन गरेको प्रहरीले पथरी र उर्लाबारी क्षेत्रका केही व्यापारीहरूसँग समेत सोधपुछ गरेको हो ।

    रीना मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रेमी भनिएका कमल नेपाल प्रहरी नियन्त्रणमा छन् । गत सोमबार पक्राउ गरी अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरेको प्रहरीले कमलको पोलिग्राफ जाँच पनि गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार रीनाको कनेक्सन कमलबाहेक पथरी र उर्लाबारीका केही नाम चलेका व्यक्तिहरूसँग देखिएको छ ।

    ५० जनासँग केरकार र प्रारम्भिक पोष्टमार्टम रिपोर्टका आधारमा प्रहरीले दुर्घटनाका कारण मृत्यु भएको प्रारम्भिक निष्कर्ष छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार घटना भएको दिन राति उनको डेरामा कोही पुरुष पुगेको खुलेको छैन । तर स्थानीयबासी भने रीनाको हत्या नै भएको दाबी गर्दै आएका छन् । रीनाको शवको अवस्था, शव भेटिएको स्थान, डेराको दुरी र तेस्रो तल्लाबाट तल झर्दा ठेलामुनि खुट्टा हुनुलगायत शंकास्पद भएको स्थानीयबासी बताउँछन् ।

    रीना मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीलाई दबाब दिन संघर्ष समितिसमेत गठन भएको थियो । तर नेकपा र कांग्रेसबीचको राजनीतिक स्वार्थ बाझिएपछि सो समिति विघटन भएको छ ।

    घटना भएको नौ दिनपछि आइतबार आफन्तले सुनसरीको चतराघाटमा रीनाको शवको दाहसंस्कार गरेपछि स्थानीयबासी कबिता पराजुलीको नेतृत्वमा गठन भएको संघर्ष आइतबार साँझ नै विघटन भएको हो । आफन्त र स्थानीयबासीबाट असहयोग भएपछि सघंर्ष समिति विघटन गरिएको संयोजक पराजुलीले बताइन् ।

    मोरङ प्रहरीका प्रवक्ता डीएस्पी श्रेष्ठले पोस्टमार्टम रिपोर्टले छाती र टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको देखाएको बताए । पोस्टमार्टम रिपोर्टले हतियार प्रहार गरिएको र बलात्कारपछि हत्या भएको प्रमाण नदेखाएको उनले बताए । शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो ।

    चार वर्षमा आठ गम्भीर घटना

    पथरी क्षेत्रमा पछिल्लो चार वर्षमा सात वटा गम्भीर प्रकृतिको घटना भएको पाइएको छ । पछिल्लो चार वर्षमा पथरी र आसपासमा रीना बस्नेत मृत्यु प्रकरणसहित आठ वटा गम्भीर प्रकृतिका घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांकअनुसार २०७२ साल साउन १७ गते राती पथरीशनिश्चरे नगरपालिका–१ मा माग्दै हिंड्ने ५० वर्षीय रमा राईको शव फेला परेको थियो । अनुसन्धान र पोष्टमार्टम रिपोर्टले उनको हत्या भएको नदेखिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै २०७३ साल भदौ ७ गते पथरी शनिश्चरे नगरपालिका– ८ स्थित श्रीजंगा धार्मिक वनमा सोही स्थानका गोविन्द दर्नालको शव भेटिएको थियो । उनको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत मोरङले २०७३ साल चैत १४ गते पथरी शनिश्चरे नगरपालिका– ८ का झाँक्री विजय भनिने २७ वर्षीय विजय तामाङ, १८ वर्षीय एलेक्स नेपाली र २१ वर्षीय किरण गुरूङलाई २० वर्ष कैद सजाय गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएस्पी श्रेष्ठले जानकारी दिए ।

    त्यसैगरी २०७३ असोज १० गते पथरीसँगै जोडिएको कानेपोखरी गाउँपालिका–७ खण्डमा पर्ने पूर्व–पश्चिम राजमार्गमा भारतीय नागरिक २९ वर्षीय लीला दहाल शर्माको शव भेटिएको थियो ।

    महिलाको शव भेटिएपछि अनुसन्धान सुरू गरेको प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सुनसरीको धरान नगरपालिका–१५ घर भई भारतको सिलगुडी बस्दै आएका ४२ वर्षीय राजकुमार प्रधानलाई पक्राउ गरेको थियो । उनी २०७४ बैशाख ३१ गते पक्राउ परेका थिए । हाल उनी अदालतको आदेशपछि थुनामा रहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै २०७५ साल जेठ २१ गते बिहान पथरीशनिश्चरे नगरपालिका– १० मा पर्ने श्रीजंगा धार्मिक वनमा पथरी शनिश्चरे नगरपालिका–३ का ६१ वर्षीय रनबहादुर लिम्बूको शव फेला परेको थियो ।

    शव भेटिएपछि अनुसन्धान सुरू गरेको प्रहरीले हत्या नभई भवितव्यबाट मृत्यु भएको बताएको छ । लाश जाँच मुचुल्का र पोष्टमार्टम रिपोर्टले हत्या भएको नदेखिएको प्रहरीले बताएको हो ।

    गत कात्तिक २ गते पथरी शनिश्चरे नगरपालिका–८ का कृष्णबहादुर बिष्टले सोही स्थान घर भई इटहरी बस्दै आएका बिजय खड्काको हत्या गरेका थिए । पूरानो रिसइबीका कारण दशैंका बेला खुकुरी प्रहार गरी खड्काको हत्या गरेका बिष्टले प्रहरीसमक्ष आत्मसमर्णण गरेका थिए । गत फागुन ३ गते पथरी शनिश्चरे नगरपालिका– १० मा पर्ने डाँस मोरङ्गी सामुदायिक वन क्षेत्रभित्र ५२ वर्षीया सावित्री खतिवडाको शव फेला परेको थियो ।

    झापा मेचिनगर नगरपालिका घर भई काठमाडौं तारकेश्वर नगरपालिका–१ बस्दै आएकी खतिवडाले विष सेवन गरी आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टमा खुलेको थियो । ढुकुटी खेलेका कारण आर्थिक अवस्था बिग्रिएपछि मोबाइल घरमै छाडेर निस्किएकी खतिवडाले पथरीको जंगल खण्डमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    षडराज तामाङको मृत्यु दुर्घटनाबाट

    गत फागुन १६ गते पथरी शनिश्चरे नगरपालिका– १ स्थित सिक्का लन्च एण्ड वारको मुनि मृत अवस्थामा फेला परेका षडराजको हत्या नभई दुर्घटनाका कारण मृत्यु भएको प्रहरीले बताएको छ । उनको हत्या भएको बताउँदै आफन्तले १६ दिनपछि मात्र शव बुझेर दाहसंस्कार गरेका थिए ।

    चौथो तल्लामा रहेको बारमा तामाङसहित ६ जनाले ७ सय ५० एमएलका दुई बोतल खुकुरी रम सेवन गरी तल झर्ने क्रममा तेस्रो तल्लाको वरण्डाबाट सिंढीतर्फ झर्नुपर्नेमा अर्कैबाटो लरखराउँदै जाँदा उचाई कम भएको पर्खालबाट झरेको सीसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…