• निर्वस्त्र अवस्थामा भेटिएको रीनाको शब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा टाउको र छातीमा गम्भीर चोटका कारण मृत्यु भएको देखिएको छ । रिपोर्टमा हत्या भएको ठोस प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ ।

    मोरङको पथरी, शनिश्चरे–१ बजार क्षेत्रमा निर्वस्त्र अवस्थामा मृत अवस्थामा फेला परेकी रीना खड्का बस्नेतको हत्या हो कि आत्महत्या भन्ने विषयको अन्यौल कायमै छ । गत वैशाख ७ गते तेह्रथुम स्थायी घर भै हाल पथरी, शनिश्चरे–१ मा वीरबहादुर बस्नेतको घरमा डेरामा बस्दै आएकी

    २९ वर्षीया रीनाको शव उनकै डेराअघि फेला परेको थियो । वैशाख ६ गते राति पथरीमै भएको सांगीतिक कार्यक्रम हेर्न रीना छोरा साइमनसहित पुगेकी थिइन् ।

    छोरासँगै घर फर्किएकी रीना बिहान निर्वस्त्र अवस्थामा मृत भेटिएकी थिइन् । रीनाको नियोजित रूपमा हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै स्थानीय व्यवसायी कविता पराजुलीको नेतृत्वमा संघर्ष समिति नै गठन गरी चरणबद्ध आन्दोलनमा उत्रियो । सोमबार चार घण्टा सडक अवरुद्ध गर्दै घटनाको दोषी सार्वजनिक गर्न माग गरियो ।

    स्थानीयवासीको दबाबसँगै सोही दिन रीनाका प्रेमी भनिएका कमल नेपाललाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लियो । मंगलबार पनि हत्यारा सार्वजनिक नगरेको भन्दै संघर्ष समितिको नेतृत्वमा भएको आन्दोलन केही अराजक भयो । पथरी, शनिश्चरे नगरपालिकामा तोडफोड तथा वडा नम्बर १ को कार्यालय र पथरी उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरियो भने त्यसपछि सडक अवरुद्ध र पथरी बजार बन्द गरियो ।

    ठूलो संख्यामा उपस्थित स्थानीय बासिन्दाको आक्रोशित भीडले इलाका प्रहरी कार्यालय, पथरीमा ढुंगामुढा गरेपछि प्रहरीले दुई राउन्ड हवाई फायर तथा २९ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । सोही क्रममा आधा दर्जनभन्दा बढी स्थानीय बासिन्दा तथा प्रहरी घाइते भए । रीना मृत्यु प्रकरणले उग्र रूप लिएपछि मंगलबार बेलुका प्रशासन र संघर्ष समितिबीच भएको छलफलमा तीन दिनभित्र घटनाको सत्यतथ्य सार्वजनिक गर्ने सहमति बन्यो । बुधबार पुनः बसेको अर्को बैठकले ७ दिनभित्र मात्र रिपोर्ट आउने भन्दै प्रहरी प्रशासनले थप समयको माग गर्‍यो ।

    त्यसपछि फेरि अर्को समिति सहमति कायम भै संघर्ष समितिले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लियो । बुधबारदेखिनै पथरी फेरि शान्त भयो । केही दिन अशान्त रहेको पथरी अहिले शान्त भैसकेको छ । रीनाका आफन्त तथा परिवारका सदस्यहरूले भने घटनाको अनुसन्धान नै प्रभावित तुल्याउने गरी आन्दोलन गरिएको भन्दै संघर्ष समितिप्रति असन्तुष्टि जनाएका छन् । परिवारले आइतबार रीनाको शव चतरामा अन्त्येष्टि गरिसकेको छ । रीनाको मृत्युपश्चात् वैदेशिक रोजगारमा रहेका उनका पति सन्तोष बस्नेतसमेत दुबईबाट फर्किसकेका छन् ।

    यसबीच संघर्ष समितिकी संयोजक कविता पराजुलीले पीडित परिवारकै कारण रीनालाई न्याय दिन नसकेको भन्दै आइतबार साँझ पत्रकार सम्मेलन नै गरेर समिति विघटन गरिन् । ‘आफूहरूले रीनाको न्यायका लागि आन्दोलन गरे पनि परिवारकै साथ नभएका कारण समिति विघटन गरेका हौं,’ पराजुलीले भनिन् । स्थानीयवासीहरूले भने अहिले पनि रीनाको आत्महत्या नभई हत्या नै भएको दाबी गरिरहेका छन् ।

    सत्यतथ्य बाहिर ल्याऊ

    रीनाका लागि न्यायको माग गर्दै पथरी बहुमुखी क्याम्पसका महिला विद्यार्थी तथा महिला फेडरेसनको संयुक्त आयोजनामा शनिबार इलाका प्रहरी कार्यालय, पथरीमा धर्ना कार्यक्रम सम्पन्न गरे । उनीहरूले र्‍यालीसहित करिब १ घन्टा धर्ना दिएका थिए । उनीहरूले प्रहरीलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । कार्यक्रममा प्रदेशसभा सांसद कृष्णकुमारी राई, पथरी बहुमुखी क्याम्पसकी स्ववियु उफाध्यक्ष नीता कुलुङ राई आदिले मन्तव्य व्यक्त गरे । यसबीच रीनाकी आमा विष्णुमाया खड्काले सरकारले रीनालाई न्याय दिने आशा व्यत्त गरिन् । साप्ताहिकसँगको कुराकानीमा उनले भनिन्–सरकार नै लागेको छ, न्याय त पाइन्छ होला नि ? पारिवारिक सल्लाहबमोजिम नै रीनाको अन्त्येष्टि गरिएको उनले जानकारी दिइन् ।

    रिपोर्टले के भन्छ

    निर्वस्त्र अवस्थामा भेटिएको रीनाको शब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा टाउको र छातीमा गम्भीर चोटका कारण मृत्यु भएको देखिएको छ । रिपोर्टमा हत्या भएको ठोस प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ । कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरिएको कुरा पोस्टमार्टम रिपोर्टले नदेखाएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार, ‘माथिबाट झरेका कारण मृत्यु भएको कुरा पोस्टमार्टम रिपोर्टले पनि बोल्छ ।’

    अनुसन्धान जारी

    प्रहरीले रीना मृत्यु प्रकरणको छानविन गरिरहेको छ । डीएसपी नवराज ढुंगानाको नेतृत्वमा प्रहरी निरीक्षक सुवास भट्टराईसहितको विशेष टोली अनुसन्धानमा खटिएको छ । प्रहरीले करिब ५० जनासँग सोधपुछ गरेको छ । उनीहरूमध्ये ३० जनाको लिखित बयान लिइएको प्रहरीले जनाएको छ जसमा आफन्त, रीनाका साथी, पथरी–उर्लाबारी क्षेत्रका व्यवसायी आदि छन् । प्रहरीले पक्राउ गरेका कमल नेपालविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको छ । प्रहरीले उनको पोलिग्राफ जाँच पनि गरेको छ । उर्लाबारीका व्यवसायी नेत्र घिमिरेलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । यद्यपि रीनाको हत्या भएको कुनै प्रमाण फेला परेको छैन ।

    मिडियाका कारण तनावमा

    रीनाको मृत्यु प्रकरणमा स्थानीय बासिन्दा तथा आफन्तहरू मिडियालाई अन्तर्वार्ता दिँदा–दिँदा हैरान भएका छन् । पटक–पटक विभिन्न मिडिया (युट्युब)मा घटनासँग जोडेर अन्तर्वार्ता लिनेको होड नै चलेपछि घटनाको बिषयमा भ्रम सिर्जना भएको धेरैको बुझाइ छ ।

    पत्रकार तथा युट्युबरबीच सोही विषयमा विवादसमेत सिर्जना भएको थियो । त्यस क्रममा ठेलावाला, साथीभाइ, आफन्त आदिको अन्तर्वार्ता लिन लहरनै चलेको थियो । पत्रकारहरूले स्थानीय पसलको सिसीटिभी फुटेज सार्वजनिक गरेसँगै एक ठेलावाला समस्यामै परे । ठेलावाला कान्छा शेर्पालाई सोही फुटेजका कारण प्रहरी कार्यालय बोलाइयो तर, उनले रीनाको शव बोकेको नभै आलु बोकेको रहस्य खुल्यो । उक्त ठेला रीनाको हत्यापछि शव फाल्न प्रयोग भएको अनुमान गरिएको थियो ।

    - सरोज बस्नेत

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…