• वैशाख २४, काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैद सजाय र जरिवाना माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले ५ करोड १० लाख ३३ हजार रुपैयाँ बिगो दाबी गरेको छ । अधिकारीको सम्पत्ति मूल्यांकनबाट १६ वर्षे जागिरे जीवनमा ५ करोड ९८ लाख आर्जन गरेको देखिएको छ । यसमध्ये ८८ लाख रुपैयाँ मात्र वैध छ ।

    उनले २०५९ मा जागिर सुरु गरेका थिए । उनले वैधानिक रुपमा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आय आर्जन गरेको र बाँकी रकम अवैध देखिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    २०५९ देखि २०६० सम्म एक वर्ष रोल्पाको तेवाङमा गाविस सचिव रहेका अधिकारी २०६० देखि २०६५ सम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ को पदमा कार्यरत थिए । निजामती सेवाको लेखापाल पदमा २०६५ चैतमा नियुक्त भई उनले कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरमा दुई वर्ष काम गरे । उनी २०६७ देखि २०७४ वैशाखसम्म यातायात व्यवस्था कार्यालय कोसी इटहरीमा लेखापाल पदमा कार्यरत रहे । २०७४ वैशाख ६ गते राजस्व हिनामिनामा उनी निलम्बनमा परेका थिए ।

    २०५९ असोजदेखि २०७५ वैशाखसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिउपर विश्लेषण गर्दा निजले तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाइ, कर्जालगायतबाट ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आर्जन गरेको अख्तियारले जनाएको छ । सोही अवधिमा उनले आफू र श्रीमतीहरू दुर्गा अधिकारी, दीपा श्रेष्ठ ९अधिकारी०, सुस्मिता अधिकारी, सोममाया श्रेष्ठसहित सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मासमेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चलअचल सम्पत्ति जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दातलगायतमा ५ करोड ९८ लाख ६८ हजार रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

    ५ करोड १० लाख ३३ हजार रुपैयाँबराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐनअनुसार दुई वर्ष कैद र बिगोबमोजिम जरिवाना गरी गैरकानुनी सम्पत्ति जफत गर्न अख्तियारले अदालतसमक्ष माग गरेको छ । उनका श्रीमतीहरू, सासू र मामालाई प्रतिवादी बनाइएको छ । उनीहरूका नाममा रहेका सम्पत्ति जफत गर्न माग गरिएको छ । तर, त्यस्तो सम्पत्तिको हक हस्तान्तरण गरिसकेको र त्यसरी हस्तान्तरण गर्दा थैली कायम भएको रहेछ भने सो रकम ‘कपाली’सरह हुने व्यवस्था छ । अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…