पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रीना बस्नेतको मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले तीन जनाको पोलिग्राफ जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका एक र शंकास्पद देखिएका अन्य दुई जनाको पोलिग्राफ जाच गराइएको हो । वैशाख ७ गते शनिबार डेराअगाडि मृत अवस्थामा फेला परेकी रीनाको हत्या भएको आशंकामा प्रहरीले उनका प्रेमी कमल नेपालसहित उनकी श्रीमती मनिता र रीना बस्ने घरमा बस्दै आएका मदन भट्टराईको पोलिग्राफ जाँच गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएस्पी घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार तीनजनाको बयानमा शंका लागेपछि पोलिग्राफ जाँच गरिएको हो । पोलिग्राफ जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो, होइन भनेर छुट्याउन सहज हुने प्रहरीको भनाइ छ । प्रहरीले एक साताअघि रीनाका प्रेमी भनिएका कमललाई नियन्त्रणमा लिएको थियो । रीनासँगको सम्बन्धबारे जानकारी पाएपछि गत वैशाख ४ गते श्रीमान्लाई जुत्ताको माला र कालोमोसो दलेर पथरी घुमाउने बताएकी कमलकी श्रीमती मनिताको समेत पोलिग्राफ जाँच गरिएको बताइएको छ ।
मदन भने मृतक रीना बस्दै आएको वीरबहादुर बस्नेतको घरकै तेस्रो तल्लामा बस्ने गर्थे । तीन जनाको पोलिग्राफ जाँच, ३६ जनाको लिखित बयान र ५० जनाभन्दा बढीसँग सोधपुछ गरेको प्रहरीले हत्या नभई दुर्घटनाका कारण रीनाको मृत्यु भएको बताउँदै आएको छ । पोष्टमार्टम रिपोर्टले पनि माथिबाट झर्दा लागेको चोटका कारण मृत्यु भएको देखाएपछि प्रहरीले तेस्रो तल्लाको रेलिङबाट कसैले ठेलिदिएको हुनसक्ने आशंकामा अनुसन्धान गर्दै आएको थियो । तर घटना भएको रात सो घरमा कोही ब्यक्ति पुगेको भरपर्दो प्रमाण हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएस्पी श्रेष्ठले जानकारी दिए ।