• काठमाडौं, २५ वैशाख । बालुवाटारबाट व्यक्तिका नाममा गएकामध्ये करिब २५ रोपनी जग्गा तीन परिवारका नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरूका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको हो । गुरुङले आफ्नो परिवार र कम्पनीका नाममा समेत जग्गा खरिद गरेका छन् ।

    ‘करिब ६० कित्ता जग्गा उनीहरूले आफ्नो, परिवारका सदस्य र सामूहिक स्वामित्वमा खरिद गरेको देखिन्छ,’ भूमि व्यवस्थापन विभाग स्रोतले भन्यो, ‘उनीहरूले आफ्नो नाममा ल्याएर बेचेको जग्गाको हिसाबकिताब यसमा छैन, त्योसमेत जोड्ने हो भने अझै बढी जग्गा आफ्नो पञ्जामा पारेको देखिन्छ ।’ स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको मिसिल हेर्ने हो भने बालुवाटारको करिब सबैजसो किक्ताको खरिदबित्रीको ट्र्याक रेकर्डमा उनीहरूको नाम जोडिएको देखिन्छ ।

    भूमि व्यवस्थापन मन्त्रालयको निर्देशनमा डिल्लीबजार भूमिसुधार कार्यालयले ब्लकमा जग्गाधनीहरूको विवरण निकालेको छ, जसअनुसार पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले भूमाफिया भनी किटान गरेका रामकुमार सुवेदी र शोभाकान्त ढकालको संयुक्त नाममा ९ कित्ता जग्गा छ । यसको कुल क्षेत्रफल १ हजार ७ सय २६.६६ वर्गमिटर छ । जुन ३ रोपनी ७ आना हुन आउँछ । बालुवाटारमै सरला गुरुङ, उमाकुमारी ढकाल र माधवी सुवेदीका नाममा तीन कित्ता जग्गा छ ।

    कुल १ हजार ४ सय ८.८८ वर्गमिटरको यो जग्गा २ रोपनी १३ आना हो । उमाकुमारी र माधवीका नाममा थप ३ कित्ता जग्गा छ । २ सय ४२.४५ वर्गमिटरको यो जग्गा आठ आना हो । यी तीनै जना बालुवाटार जग्गामा मिलेमतो गरेका ढकाल, सुवेदी र गुरुङका परिवार सदस्य हुन् । सरला मीनबहादुर परिवारकी सदस्य हुन् भने उमा शोभाकान्तकी पत्नी हुन् । माधवी रामकुमारकी पत्नी हुन् । मीनबहादुरकै नाममा ३ कित्ता जग्गा छ । २ सय ४२.४३ वर्गमिटरको यो जग्गा करिब आठ आना हुन आउँछ ।

    कब्जा भएकोमध्ये करिब साढे ५२ आना जग्गा कल्याण गुरुङको नाममा छ । उनी भाटभटेनीका मालिक मीनबहादुरकै छोरा हुन् । अर्को कित्तामा ३ जना मिलेर झन्डै १४ आना जग्गा आफ्नो नाममा बनाएका छन् । यिनीहरूले नै आफ्नो र परिवारका नाममा भएको ३ रोपनी १ आनाको ५ कित्ता जग्गा गैरआवासीय नेपाली संघलाई बेचेका थिए । नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीनको नाममा दुई कित्ता छ । एउटाको क्षेत्रफल २ सय ४४.४ र अर्कोको ९.३४ वर्गमिटर छ । दुवै जोड्दा करिब आठ आना हुन आउँछ ।

    यो जग्गा मिलेमतोबाट शोभाकान्तले पौडेललाई दिएको भनी आलोचना भएको थियो । पौडेलले शाही शासनकालमा रूपन्देहीको जग्गासँग बालुवाटारको जग्गा साटेको स्पष्टीकरण दिएका थिए ।बालुवाटारको जग्गा दुई चरणमा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको कागजातबाट देखिन्छ । पहिलो चरणमा प्रजातन्त्र स्थापनालगत्तै सुवर्णशमशेरको हरण भएको जग्गा फर्काउने नाममा अधिग्रहण भएको जग्गासमेत व्यक्तिका नाममा फिर्ता भएको थियो ।

    दोस्रो पटक प्रधानमन्क्री निवास विस्तारका त्रममा मोही व्यवस्थापन गर्ने नाममा सार्वजनिक जग्गा व्यक्तिलाई दिइएको थियो । दुवै पटकको खेलमा ढकालका साथै मालपोतका लेखन्दासका रूपमा काम गर्ने कानुन व्यवसायी सुवेदीसमेत प्रयोग भएको स्रोतले बतायो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले भन्यो, ‘यी दुईको साथमा व्यवसायी मीनबहादुर पनि सामेल भए, जसमाथि पुरै राजनीतिक साथ र भरथेग थियो ।’ ढकालले एमाले नेता पौडेलसँग राम्रो सम्बन्ध बनाएका थिए । गुरुङको नेकपाका अध्यक्षमध्येका एक पुष्पकमल दाहालसँग नजिकको सम्बन्ध छ ।

    मालपोत कार्यालयको अभिलेख हेर्दा ढकाल, सुवेदी र गुरुङले आफू, दम्पती र परिवारका सदस्यका नाममा समेत जग्गा किनेका छन् । कतिपयमा एकल स्वामित्व छ भने कतिपयमा साझेदारी छ । केही जग्गामा परिवारकै सदस्यबीचको सामूहिक स्वामित्व छ । शोभाकान्त र उमाका नाममा ५ कित्ता जग्गा छ, जुन करिब २२ आना हुन आउँछ । ढकालका छोरा विवेकका नाममा ३ कित्ताको झन्डै २ रोपनी जग्गा छ । शोभाकान्तले आफ्नै नाममा राखेको अर्को ३ कित्ता सात आनाको छ ।

    मीनबहादुरले भाटभटेनी डेभलपमेन्ट प्रालिका नाममा ३ रोपनी ९ आनाको १० कित्ता जग्गा राखेका छन् । सरलाको नाममा ४ रोपनी १४ आना छ । ‘मीनबहादुरले प्रायः राणाका नामबाट जग्गाको स्वामित्व हस्तान्तरण गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘उनी त्यतिबेला राजनीतिक पहुँच र शक्तिका आडमा सबै मिलाउन सक्रिय थिए । आज पनि बालुवाटारका यी जग्गामा उनको निर्णायक भूमिका छ । उनकै इसारामै सबै किनबेच हुने हो ।’

    पशुपन्छी टिकिन्छा गुठीको नामको १० कित्ता जग्गा ढकाल र सुवेदीले आफ्नो र परिवारका नाममा राखेका छन् । ४ रोपनी १५ आनाको जग्गा गुठीको नाममा भए पनि मोहीको स्वामित्वमा छन् । उनीहरूले मोहीबाट जग्गा खरिद गरेको अभिलेखबाट देखिन्छ । आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…