• काठमाडौं। नेपाली कांग्रेसले बुधबारबाट सुरु गरेको देशव्यापी जनजागरण अभियानको ढाँचा नयाँ तर नीति पुरानै देखिएको छ । विगतका तीन तहका निर्वाचनमा भोगेको पराजयलाई लिएर जनताका बीचमा जान अवसर खोजेको भए पनि कांग्रेसले ढाँचा मात्रै नयाँ तर नीति पुरानै लिएर जागरणमा गएको गुनासो आएको हो ।

    काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार भएको जागरण कार्यक्रमको उद्घाटन कार्यक्रममा सहभागी हुन क्षेत्र नम्बर ५ बाट आएका कांग्रेस कार्यकर्ता राममणि लामिछानेले कांग्रेसले ढाँचा नयाँ तर नीति पुरानै लिएर जागरणमा होमिएको बताए ।
    उनले कार्यक्रममा सहभागी हुन समेत गुटगत आधारमा नै नेता कार्यकर्ताहरु बाँडिएर आएको भन्दै पार्टीका शीर्ष नेताहरु एउटै मञ्चमा उभिएर नयाँ नीतिसहित गुट अन्त्य भएको घोषणा गर्नु कांग्रेसका लागि आवश्यक रहेको औंल्याए ।
    ‘पार्टीलाई ढाँचा पनि नयाँ चाहिएको छ, नीति पनि नयाँ चाहिएको छ, तर नेताहरु कोही कता कोही कता बाडिएर आउँदा कार्यकर्तामा उत्साह देखिएन, गुटगत आधारमा नै कार्यकर्ता समेत बाढिएर आए,’ लामिछानेले भने । उनले देशव्यापी रुपमा सरकारको क्रियाकलापबाट जनता अतालिएको भन्दै कांग्रेसले अवसरको सदुपयोग गर्न समेत नसकेकोमा चिन्ता व्यक्त गरे ।

    यस्तै काठमाडौं ७ बाट कार्यक्रममा सहभागी हुन आएका शिवहरी दाहालले कांग्रेसले प्रतिपक्षमा रहँदा जनताको घर घर पुग्ने गरी कार्यक्रम ल्याउँनु पर्नेमा पहुँच र सम्पर्कमा भएका नेताहरुलाई मात्रै हुने गरी जागरण कार्यक्रम ल्याएको जनाए ।
    ‘आज कांग्रेस जनताका घर घर जानु आवश्यक छ, तर कांग्रेस पहुँचवाला नेतामा नै अलमलिरहेको छ, कांग्रेस जनताका बीच जानु पर्छ,’ दाहालले भने । कांग्रेसको जनजागरण अभियानबाट पार्टीका कार्यक्रमहरु समेत नयाँ ढाँचाबाट अघि बढ्ने बताउँदै आएको छ । जसअनुसार कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा अतिथिहरुलाई ब्याच तथा माला नलगाउँने, आशन ग्रहण छोटो बनाउँने र भाषण समेत छोटो गर्ने ढाँचा अघि सारेको छ ।

    जागरण अभियान ७७ जिल्ला मध्ये मोरङ र इलाममा भने बिहीबारबाट अभियान सुरु भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय व्यावहारिकताका कारण अभियान एकदिन ढिलो गरी प्रारम्भ भएको बताए । उनले कार्यक्रमको प्रारुप समेत नयाँ भएकाले कार्यान्वयनका क्रममा कतिपय जिल्लाले सुरुवाती अप्ठ्यारो अनुभूत भएको उनले जनाए ।

    पार्टीले स्वागत र समापनमा दुई वक्तासहित प्रमुख वक्ता गरी तीन जना मात्रै वक्ता हुनेगरी कार्यक्रम प्रारुप तयार गर्न सबै निकायलाई निर्देशन गरेको थियो । यस्तै एक जना महिला वक्ता समेत अनिवार्य गर्न भनेको थियो । प्रवक्ता शर्माले उद्धघाटन सत्रको कार्यक्रमसँगै जागरण अभियानले पार्टीलाई नवीन सन्दर्भमा नवीन ढंगले सुदृढ गर्दै तथा वर्तमान सरकार बने यताका समग्र बेथिति उपर खरो प्रहार गरेर अघि बढ्न सहयोग पुर्याएको दाबी गरे ।

    संगठन सुदृढीकरण, सरकार विरुद्धको गतिविधिलगायतका १५ वटा मुख्य मुद्दालाई लिएर कांग्रेसले जनजागरण अभियान सुरु गरेको हो । पहिलो चरणको जागरण अभियान २५ वैशाखबाट २५ जेठसम्म गरी एक महिना ७७ वटै जिल्लामा चल्नेछ ।
    यस्तै, दोस्रो चरणअन्तर्गत २४ भदौबाट १० असोजसम्म चल्नेछ । दोस्रो चरणअन्तर्गत मुलुकका सबै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा कार्यक्रम गरिनेछ । सो कार्यक्रममा समेत केन्द्रीय तहका नेता सहभागी हुनेछन् । यसैगरी, तेस्रो चरणको अभियान ७ पुसबाट १६ गतेसम्म गरी १० दिन आयोजना हुनेछ । यस चरणमा सबै स्थानीय तहमा जनजागरण अभियान हुने कांग्रेसले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…