आगामी आर्थिक वर्ष २०७५–७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द पटक–पटक प्रयोग गरिन् । यही शब्दका कारण नीति तथा कार्यक्रममाथिको प्रतिक्रिया पनि विषयान्तर भएको छ । संसदमा नेपाली कांग्रेसद्धारा नाराबाजी भयो । टिप्पणी हेर्दा आलोचना भयो । राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने अभिव्यक्ति दिएर आलोचित बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नै यसको स्पष्टीकरण दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेको भुलचुकमा नभई जानीबुझिकन भएको स्पष्ट पारे । अहिले प्रधानमन्त्री ओली ६ दिने भियतनाम र कम्बोडियाको भ्रमणमा हुनुहुन्छ । यी विषयमा प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालसँग गरिएको कुराकानी :
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारदेखि २ मुलुक भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा हुनुहुन्छ ? यस्को उद्देश्य के हो ?
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारदेखि दक्षिण पूर्वी एसियाली दुई मुलुक भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण हुनुहुन्छ ।
परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत सम्बन्ध विस्तार गर्ने उदेश्यले प्रधानमन्त्रीको यो भ्रमण आरम्भ भएको हो ।
प्रधानमन्त्री ओलीले ‘सार्वभौमिक समानता’ का आधारमा छिमेकी राष्ट्र, अमेरिकालगायतका शक्ति र अन्य राष्ट्रसँग सम्बन्ध कायम गर्ने नीति छ ।
त्यस अनुसार नै छिमेकी राष्ट्र भारत र चीनको राजकीय भ्रमण गरिसक्नु भएको छ भने संयुक्त राष्ट्रसङ्घीय महासभामा प्रभावकारी उपस्थिति देखाउनुभएको छ ।
भियतनामसँग के समझदारी हुन्छ ?
भियतनामसँग तीन समझदारी हुनेछन् । भ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी सरकारको छ । समझदारी प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्विपक्षीय परामर्श संयन्त्र सम्वन्धी छन् ।
कूटनीतिक सम्वन्ध रहे पनि घनिष्ट हुन नसकेको भियतनामसँग सम्वन्ध विस्तार गर्ने उदेश्यले भ्रमण तय भएको हो । ‘दक्षिण पूर्वी एसियाको उदाउँदो राष्ट्र भियतनामसँग द्धिपक्षीय लगानीको प्रशस्त सम्भावना छ । त्यही सम्भावनालाई ध्यानमा राखेर यो भ्रमण हुँदैछ ।
प्रसंग मुलुक भित्रकै, सरकारले ल्याएको नीति तथा कार्यक्रमको राम्रो पक्ष के–के छन् ?
नीति तथा कार्यक्रमको राम्रो पक्ष भनेको के हो भने अघिल्लो वर्षका कार्यक्रम कार्यान्वयनका लागि जोड दिइएको छ ।
त्यसैगरी पहिलाको नीति तथा कार्यक्रमको समीक्षा पनि गरिएको छ । हामीले थिती बसाल्न खोजेका छौँ । केही गेम चेन्जर कार्यक्रम पनि समावेश गरिएको छ । हामीले पहिलो वर्षलाई आधार वर्ष भनेका थियौँ, त्यसमा यसपटक जग हाल्ने काम भएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायतले अन्य दलले पनि सस्तो लोकप्रियताको पुलिन्दा भनेर टिप्पणी गर्यो नी के छ तपाईको धारणा ?
नेपाली कांग्रेसबाट त हामीले यो भन्दा बढी अपेक्षा गरेकै थिएनौँ । उहाँहरुलाई त के भनेर आलोचना गरौँ भन्नेबाहेक अरु चिन्ता छैन । प्रतिपक्षको आलोचनालाई समान्य रुपमा लिएका छौं, लिन्छौं ।
नीति तथा कार्यक्रमका विषयमा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरे नी ?
मैले फेरि पनि भने, त्यसलाई हामीले सामान्य ढंगले लिएका छौं । तर, लोकतन्त्रमा बिरोध गर्ने तरिकामा प्रयोग भएका शब्द राम्रा भएनन् ।
डा. बाबुराम भट्टराईले पनि आलोचना गर्नुभयो नि ? सपनाको पुलिन्दा भन्नुभयो ।
उहाँ पनि कुरामा रमाउनु हुन्छ । अरुलाई गाली गरेरै आनन्द लिनुहुन्छ । उहाँले हाम्रो स्पिड समात्न सक्ने भएको भए त हाम्रै पार्टीमा आउनुहुन्थ्यो नि ।
किन अन्त जानु हुन्थ्यो त । त्यो नसकेर अर्को पार्टीमा जानुभएको डाक्टर साहेबका कुराको के टिप्पणी गर्नु । फेरि नसकेर अझै अर्कोमा जानुभएको छ । त्यहाँ पनि कुरा नमिलेर सकसमा हुनुहुन्छ ।
कार्यक्रम कार्यान्वयका लागि आर्थिक पाटो कमजोर छ । कुनै आधार नै प्रस्तुत गरिएको छैन । कसरी कार्यान्वयन हुन्छ त ?
कार्यान्वयनमा शंका त जहिले पनि हुन्छ । पैसा मात्रै भएर मात्रै पनि हुँदैन । हामी अर्कमण्य भइदियौँ भने, व्यूरोक्रेकेसीले काम गरेन भने, अरु अन्यथा घटनाहरु घटे भने त लागु नहुन सक्छ नि ।
चार वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर कसरी हासिल हुन्छ ?
अहिले नै हामी झण्डै ८ प्रतिशतको नजिक छौँ । उदाहरणको लागि धौवादीको फलाम खानी उत्खनन गर्छौँ भनेका छौँ । उत्खननपछि बिक्रीको तहमा आयो भने धेरै तलमाथि हुन सक्छ । यो अवधि भनेको निर्माणको अवधि हो । निर्माणमा जति खर्च गर्छौँ, त्यहीअनुसार जनशक्ति परिचालन हुन्छ । यसले पनि आर्थिक वृद्धिदर बढ्छ ।
पूर्व पश्चिन रेल निर्माणको सुरु गर्ने भनिएको छ । यो कसरी सम्भवन छ ? चिनबाट ल्याउने कि भारतबाट ?
पूर्व पश्चिम राजमार्गमा रेल दौडाउने भनेर धेरै अगाडिदेखि अध्ययन गरेका थियौँ । डिपीआर तयार भइसकेको छ ।
एक वर्षमा पाँच लाख रोजगारी सृजना गर्ने कार्यक्रम कसरी सम्भव छ ?
रोजगारीका धेरै सम्भावना छन् । हामी बेरोजगारलाई भत्ता र काममध्ये एउटा जसरी पनि दिन्छाँै । सरकारी कार्यालयलाई डिजिटल बनाउने काममा मात्रै एक लाख युवालाई रोजगारी दिन सक्छौँ । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि लागु भएको छ । रोजगारीका लागि सरकारले गृहकार्य गरिरहेको छ ।
कांग्रेस सांसद गगन थापाले त राष्ट्रपति भण्डारी महारानी बन्न खोजेको आरोप लगाउनुभयो नि ?
उहाँले गैरजिम्मेवार तर्क गर्नुभयो । सांसदले यस्तो गैरजिम्मेवार तर्क गर्नु राम्रो हुँदैन । लोकतान्त्रिक पार्टीका नेताहरुले यस्तो अभिब्यक्ती दिन सुहाउदैँन ।
नीति तथा कार्यक्रम पढ्दा राष्ट्रपति विद्यादेवी भण्डारीलाई किन ‘मेरो सरकार’ भन्न लगाइयो ?
हरेक देशका राष्ट्र प्रमुखले देशको सरकारलाई मेरो सरकार भन्छ । यसमा के आश्चर्य भयो र ? राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न पाईन्छ यो अन्तर्राष्ट्रिय संस्कार हो राजा हुँदा राजाले मेरो सरकार भन्थे, राष्ट्रपति हुँदा पनि मेरो सरकार भन्नुभयो, सक्किगो नि ।
राष्ट्रपतिले ४२ पटक मेरो सरकार भन्नुभएको छ । त्यो भन्नलाई उपयुक्त नै थियो । तर, कतिपय साथीहरुले राजा बिर्सिनु भएको छैन । राष्ट्रपतिले गाडी चढेर आउँदा पनि राजा बन्न खोज्यो भन्नुहुन्छ । कसरी आउने त ? हिँडेर आउने ? कुरा नबुझेर आलोचना गरिएको हो । जनताबाट निर्वाचित राष्ट्रपतिले ‘मेरो सरकार’ भनेर गल्ती गर्नुभएको छैन । राजतिलकका साथमा ।