बाहुण्डाँगी । नेपाल सरकारले २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने लक्ष्यलाई थप सार्थक बनाउन धुलावारी जेसीजले पनि अभियान सुरु गरेको छ । धुलावारी जेसीजको २०१९ को टिमले शनिवार यसै सन्दर्भलाई लिएर इलामको कुटीडाँडामा रहेको धार्मिक स्थल पाथीभरा मन्दिरको सरसफाइ गरेको छ ।
शुक्रवार साँझ नै इलाम पुगेको जेसीजको टोलीले ५ औँ बोर्ड बैठकपछि शनिवार मन्दिर सरसफाइ गरेको हो । साथै शाखाले पर्यटन वर्ष २०२० लाई सफल पारौँ, सार्वजनिक स्थलहरु सफा र सुन्दर राखौँलगायतका व्यानरहरु मन्दिर परिसरमा राखेको छ । शाखाले आगमी दिनमा समेत यस्तै अभियानहरु सञ्चालन गरेर पर्यटन वर्षलाई सफल बनाउने शाखाका अध्यक्ष केशव पोखरेलले बताउनु भयो ।
शाखका अध्यक्ष केशव पोखरेलको नेतृत्वमा पूर्व अध्यक्ष सिनेटर लिलाप्रसाद भण्डारी, नेपाल जेसीज वर्ष २०१८ का थिम डाइरेक्टर एवम् धुलावारी जेसीजका पूर्व अध्यक्ष सुभाष रिजाल, निवर्तमान अध्यक्ष नारायण खनाललागयत बोर्डका पदाधिकारीहरुको सहभागिता रहेको थियो । साथै सोही बोर्ड बैठकमा नयाँ सदस्यहरुलाई शाखाको नयाँ सदस्यता पिन समेत प्रदान गरिएको थियो ।