• विराटनगर — झापाको कन्काई नदीको पुलमा आइतबार बिहान भेटिएको शंकास्पद वस्तुका विषयमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको भन्दै ईलाका प्रहरी कार्यालय उर्लाबारीले पत्रकार किशोर श्रेष्ठलाई आइतबार दिनभर प्रहरी कार्यालयमा राखेर अपरान्ह ४ बजे छाडेको छ ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुलमा कागजले बेरिएको अवस्थामा प्रेसर कुकर फेला परेको विषयमा उर्लाबारीका पत्रकार किशोर श्रेष्ठले शुक्रबार राति करिब ११ बजे एउटा स्टाटस लेखेका थिए।उनको फेसबुक स्टाटसमा, 'गोर्खा नेपाल जनमुक्ति मोर्चा नामको पार्टीले प्रदेश एकको जुनसुकै ठाउँमा बम राख्नसक्ने जानकारीसहित केही तस्बिर मलाई म्यासेजमा पठाएको रहेछ। उद्देश्य ग्रेटर नेपालको निर्माण भनिएको छ। आएको जानकारीलाई जस्ताको त्यस्तै राखेको छु, प्रशासनले खोजेको खण्डमा म्यासेज आएको डिटेल बुझाउने छु।' प्रहरीले उनलाई आइतबार बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म इलाका प्रहरी कार्यालय उर्लावारीमा सोधपुछ लागि भन्दै राेखेको थियो ।

    आफूले नचिनेको व्यक्तिले फोन गरेको र बम राख्दैछु भन्दै अन्तर्वार्ता लिइदिन भने पनि आफूले नमानेको उनले बताए। फोन गर्ने व्यक्तिले जुनसुकै दिन बम राख्ने कुरा गरेपछि रातको समयमा समाचार लेख्ने या के गर्ने भनेर दोधार भएकाले जानकारीका लागि फेसबुकमा लेखेको उनले बताए।

    'नचिनेको व्यक्तिले मिसकल गरेको रहेछ, मैले नै कल ब्याक गरेको थिएँ, फोनमा उनले बम राख्छौँ हाम्रो अन्तरवार्ता लिइदिनुपर्याे भने तर मैले मानिँन,' पत्रकार श्रेष्ठले भने, 'पछि उसले फेसबुकको म्यासेन्जरमा फोटो सहित बम राख्ने भनेर म्यासेज पठायो मैले यही विषय प्रशासन र अरुलाई पनि जानकारी होस भनेर फेसबुकमा राखेको हो तर साथीहरुको सल्लाहमा चाडै हटाएको थिएँ।'

    शुक्रबार निकै राति भइसकेकाले शनिबार आफू उर्लाबारी प्रहरीमा जाने तयरी गरिरहेकै बेला प्रहरीले बोलाएको उनले बताए। शनिबार नै गएर आफूसमक्ष आएका सबै जानकारीहरु प्रहरीलाई गराउँदासमेत आज पुनः किन बोलाइएको बारे थाहा नभएको उनले बताए।

    श्रेष्ठले शंकास्पद स्टाटस फेसबुकमा लेखेको र आइतबार बिहानै बम फेला परेपछि उनलाई अनुसन्धानका लागि बोलाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले बताए।प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको नभइ सोधपुछका लागि मात्रै बोलाएको र पुनः जुनसुकै बेला पनि बोलाउन सकिने गरि छाडिएको उनले जानकारी दिए ।

    यसैबीच नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईँटेलले पछिल्लो समय प्रहरी प्रशासनले अनावश्यक रुपमा पत्रकारहरुलाई दुःख दिइरहेको बताए। पत्रकार श्रेष्ठलाई शनिबार नै सोधपुछ गरिरहेको अवस्थामा आइतबार फेरि बोलाएर सोधपुछ गर्नु र दिनभरी प्रहरी कार्यालयमा राख्नु अनावश्यक दुःख दिने नियत भएको उनले बताए। पत्रकार र प्रेस स्वतन्त्रताप्रति राज्य निर्मम भइरहेको भन्दै उनले अनावश्यक दुःख दिने श्रृंखला बन्द गर्न आग्रह गरे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…