• रौतहट, १ जेठ । कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरू पानी खोज्दै भौंतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरू कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति नन्दबहादुर पुनको स्वागतका लागि अनिवार्य उपस्थित हुन पत्र काटिएपछि विद्यालयहरूले उनीहरूलाई ल्याएका थिए । कार्यक्रममा एक घण्टासम्म पैदल हिँडेर आएका विद्यार्थी पनि थिए । कतिपय विद्यार्थीले खाली खुट्टै हिँडेका थिए ।

     

    कटहरिया-१ स्थित भषेडवा माविका प्रधानाध्यापक राममंगल राय यादवले नगरपालिकाले विद्यालयका सबै कर्मचारी र छात्रछात्रालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएकाले विद्यार्थीलाई ल्याउनुपरेको बताए । 'बालबालिकालाई बोलाएर न बस्ने ठाउँ दिइयो न खाजा,' उनले भने, 'चर्को घाममा बच्चाहरू भोकभोकै फर्किनुपरेको छ । यस्तो कार्यक्रममा बच्चाहरूलाई बोलाउनु हुँदैनथ्यो ।' भषेडवा माविबाट कार्यक्रमस्थल झन्डै ३ किलोमिटर दूरीमा पर्छ । उपराष्ट्रपति पुन आउनुभन्दा एक घण्टाअघि विद्यार्थी कार्यक्रमस्थल पुगिसकेका थिए ।

    कटहरिया नगरपालिकाभित्र २३ वटा विद्यालय छन् । नगरपालिकाको शिक्षा शाखाले जानकी जयन्ती समारोहमा सबै संस्थागत तथा सामुदायिक विद्यालयका कर्मचारी र विद्यार्थीलाई आआफ्नो ब्यानरसहित उपस्थित हुन वैशाख २४ गते नै पत्र पठाएको थियो । समारोह नगरपालिकाले आयोजना गरेको हो । नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि सरेन्द्र ठाकुरले ठूला कक्षाका विद्यार्थीलाई मात्र बोलाइएको दाबी गरे । 'कार्यक्रममा धेरैजसो ठूला विद्यार्थी नै थिए,' उनले भने । उपराष्ट्रपति उपस्थित हुने कार्यक्रम भएकाले विद्यालयलाई आउन भनेको उनले बताए ।

    सोमबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो । विद्यालय बन्द भए पनि विद्यार्थीलाई पोसाकमै कार्यक्रम ल्याइएको थियो । कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाह हुन् । व्यक्ति हत्याको आरोपमा जेल परेका उनी केही महिनाअघि सर्वोच्च अदालतले सफाइ दिएर छुटेपछि हेलिकप्टरबाट गृहजिल्ला आएका थिए । आजको कान्तिपुर दैनिकमा शिव पुरीले लेखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…