काठमाडौं, २ जेठ । कुनै समय थियो, पत्रकारले ठूला मिडियामा जान मरिहत्ते गर्थे । तर, अहिले यस्तो समय आएको छ कि ठूला मिडियालाई पत्रकार टिकाउन गाह्रो परिरहेको छ ।
ठूला मिडियामा औषत हेर्ने हो भने एउटा पत्रकार एक बर्षभन्दा बढी टिकेको देखिन्न । मंगलबार मात्रै नेपाल रिपब्लिक मिडिया प्रालिअन्तर्गत अनलाइन संस्करण नागरिक न्यूज डटकमका सम्पादकसहित ८ जना पत्रकारले सामूहिक राजिनामा दिएका छन् ।
उनीहरुको राजीनामा दिने वित्तिकै स्वीकृत भएको छ । गौतम त्यहाँ आएको चार महिना मात्रै पुगेको थियो । सम्पादक गौतमसहित लक्ष्मण श्रेष्ठ, धीरज कुमार, किरण दाहाल, पुरुषोत्तम पौडेल, चिरञ्जीवी घिमिरे, सन्तोष धिताल र जीवन कुँवरले संयुक्त राजीनामा दिएका बताइन्छ ।
तीन महिनादेखि तलब नपाएको भन्दै पत्रकारहरुले धमाधम छोड्न थालेपछि संकटमा परेको नागरिक यो घटनाबाट थप प्रभावित भएको छ ।
नागकिरबाट केहि दिन अगाडि जिल्ला व्यूरो प्रमुख छत्र कार्की, प्रकाश तिमल्सीना, विष्णु वेल्वासे, विष्णु तामाङलगायतले छोडेका छन् ।
आफुलाई पहिलो मिडिया हाउस दावी गर्ने कान्तिपुर पव्लिकेशनमा पनि पत्रकारले छोडेको छोड्यै छन् । एक सात अगाडि मात्रै कान्तिपुर दैनिकको डेक्सबाट अमृत दाहाल बाहिरिएका छन् ।
त्यस्तै दैनिकबाटै मकर श्रेष्ठ, कान्तिपुरको साप्ताहिकबाट नरेन्द्र रौले र भिषा काफ्लेले पनि राजीनामा दिएर हिडेका छन् ।
यता, अर्को मिडिया हाउस अन्नपूर्णले पनि पत्रकार राख्न सकिरहेको छैन । अन्नपूर्णबाट ज्ञानेन्द्र खड्का, छेटु शेर्पालगायत पत्रकार बाहिरिएका छन् ।
पुराना पत्रकारका कारण काम देखाउन नसकिएको भन्ने प्रधानसम्पादक हरिबहादुर थापाको निर्णय क्षमता नभएको भन्दै मालिक रिसिएको स्रोत बताउँछ । यता बुधबारबाट मात्रै नयाँ पत्रिका दैनिकमा अर्थ व्यूरोमा कार्यरत अचुत पुरीले राजिनामा बुझाएर हिडेका छन् ।