जेष्ठ ३, काठमाडौं । काठमाडौं झोछेंमा गत वर्ष ट्युसन पढ्न गएका किशोरी सीमा बस्नेत र संगीता मगरमाथि एसिड प्रहार भयो। एसिड प्रहार गरेका जीवन विकले ‘फिल्मी शैली’ अपनाएको बयान प्रहरीलाई दिएका थिए। उनले न्युरोडस्थित एक ब्याट्री पसलबाट एसिड किनेर किशोरीमाथि प्रहार गरेका थिए।
एसिडको खुलेआम बिक्रीमा निगरानी नगरिँदा आपराधिक मानसिकता भएका व्यक्तिले यसलाई हतियार बनाउँदै आएका छन्। घातक रसायन एसिडको खुलेआम बिक्री भइरहेको बुधबार साँझ भएको अर्को घटनाले पुष्टि गर्छ। कालोपुलमा जेनी खड्कालाई एसिड प्रहार गरेका विष्णु भुजेलले बनेपास्थित एक सुनपसलबाट खरिद गरेको बयान दिएका छन्।
बस्नेत र मगरमाथि एसिड प्रहार गर्ने विक पक्राउ गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले जथाभाबी एसिड बिक्री गर्नेमाथि कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए। प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार विगत ६ वर्षयता देशभरमा १५ वटा एसिड प्रहारका घटना भएका छन्।
२०७१ देखि २०७६ जेठसम्म आइपुग्दा एसिड प्रहारबाट १२ महिला र तीन पुरुष पीडित भएका छन्। तीमध्ये दुईको मृत्यु भएको छ। अन्य घाइते भएका छन्। प्रहरीले एसिड प्रहारमा संलग्न दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको छ भने १२ जनाविरुद्ध ज्यान मार्ने उद्योग र एकजनाविरुद्ध केही सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ।
ब्याट्री पसल, सुनचाँदी पसल, सवारीसाधनका वर्कसपलगायत स्थानमा एसिड खरिदबिक्री हुन्छ। एसिड प्रहारका घटना हुन नदिन यसको जथाभाबी बिक्रीवितरण रोकिनुपर्ने बताउँछन् विज्ञ। नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘रिसइबी साँध्ने सजिलो बस्तु बन्यो एसिड। जथाभाबी बिक्री गर्ने बाटो रोक्नुपर्ने देखियो। व्यवसायी हो भन्ने पुष्टि भएमा मात्रै बिक्री गर्ने गरी निर्देशिका जारी गर्न सकिन्छ।’
प्रहरी प्रवक्ता डिआईजी पोखरेलले एसिड धेरै काममा आवश्यक पर्ने भएकाले यसको बिक्रीवितरणमा कडाइ गर्न सहज नहुने बताए। उनले भने, ‘एसिड धेरै उपयोगी र दुरुपयोग गर्नेका लागि खतरनाक हो। यसको बिक्रीवितरणमा रोक लगाउनुभन्दा पनि पीडक आफैं बढी सचेत हुनुपर्छ।’
आफ्नै भन्नेले एसिड छ्यापेपछि...
कीर्तिपुरस्थित फेक्ट अस्पतालका आईसीयू। विभिन्न कारणले जलेर घाइते भएकाहरू उपचाररत छन्। कोहीको करेन्ट लागेर हात जलेको छ त कोहीको आगोले पोलेर अनुहार सखाप भएको छ। कोही ग्यासले डढेका छन्। बुधबार राति १० बजेतिर हतारहतार एउटी युवतीलाई अस्पतालमा ल्याइयो। उनी थिइन् दोलखाकी जेनी खड्का। २० वर्षीया खड्कामाथि केही घन्टाअघि एसिड छ्यापिएको थियो।
ढोकाछेउको बेडमा उनी मुढोजसरी पल्टिरहेकी छन्। चिउँडोदेखि घाँटीसम्म डढेको छ। टाउकोको पछाडि पनि जलेको छ। हातको केही भागमा घाउ छ। छाती र हातमा पट्टी बाँधिएको छ। उनलाई यस्तो अवस्थामा पुर्याउने अन्य कोही नभएर जीवनभर दुःखसुखमा साथ दिने बाचा गरेका पति विष्णु भुजेल हुन्।
कालोपुलमा आमा र बहिनीसँग बसेर एक सहकारीमा काम गर्दे आएकी थिइन् जेनी। आमाले घरेलु श्रम गरेर परिवार चलाउँदै आएकी छन्। दुई वर्षअघि उनको बुवाको मृत्यु भएको थियो।
६ वर्षअघि काभ्रेका विष्णु भुजेलसँग भागेर विवाह गरेकी जेनीले बिहेपछि भने सोचेजस्तो खुसी पाइनन्। विष्णुले जेनीलाई झुक्याएर विवाह गरेका थिए। छोरा जन्मिएपछि उनी विष्णुको घरमा गइन्। त्यहाँ उनले विष्णुको अर्की पत्नी भएको थाहा पाइन्। त्यसपछि उनीहरूबीच असमझदारी बढ्न थालेको हो।
अर्की पत्नी भएका कारण जेनीले विष्णुसँग नबस्ने निर्णय गरिन्। तर विष्णुले पछ्याइरहे। उनले जेनीलाई सँगै नबसे कहिले परिवारै सखाप पारिदिने धम्की दिन्थे त कहिले जेनीलाई मारिदिन्छु भन्दै फोन गर्थे। घटना भएको दिन पनि उनले जेनीलाई पटकपटक फोन गरेको प्रमाण भेटिएको छ।
भुजेलले साँझ सात बजेतिर जेनी बस्ने कोठामा पुगेर एसिड छ्यापेर भागेका थिए। कोठामा बहिनीसँगै रहेकी जेनी अनुहारमा एसिड पर्नासाथ भुइँमा ढलिन्। तत्कालै छरछिमेकले उनलाई चाबहिलस्थित ओम अस्पताल पुर्याएका थिए। ओम अस्पतालमा उपचार सम्भव नभएपछि राति नै कीर्तिपुरस्थित फेक्ट अस्पतालमा भर्ना गरिएको थियो।
के भन्छन् डाक्टर ?
बर्न तथा प्लास्टिक सर्जरी विभागका सिनियर रजिस्ट्रार कृष्णकुमार नगरकोटीले जेनीलाई ‘मेजर बर्न’ भएको बताए। उनका अनुसार जेनीको शरीरको १० देखि १२ प्रतिशत भाग जलेको छ। जलेर यति नै असर गरेको छ भनेर थाहा पाउन केही दिन घाउको अवस्था हेर्नुपर्ने उनले बताए।
केमिकलले सुरुमा छालालाई मात्रै असर गर्छ। बिस्तारै भित्रपट्टिको भाग कुहिएर इन्फेक्सन हुने भएकाले यसको उपचार पनि जटिल हुन्छ। कुहिएको सबै भाग निकाल्नुपर्छ।
सिनियर रेजिडेन्ट अपार लामिछानेका अनुसार एसिड प्रहारबाट घाइतेको उपचार दुई चरणमा गरिन्छ– एक्युड फेज र क्रोनिक फेज। ‘एक्युड फेज’ सुरुको अवस्था हो। यसमा घाउ सफा गर्ने र चिस्याउने गरिन्छ। यो दिनदेखि एक साता अवधिको हुन्छ। क्रोनिक फेजमा जलेका छाला शरीरबाट हटाउने र अन्यत्रको छाला ट्रान्सप्लान्ट गरिन्छ।
अन्य बर्नको तुलनामा एसिड बर्न अलि जटिल हुन्छ। बाहिर हेर्दा सग्लै देखिए पनि भित्रका टिस्सुजसम्म एसिड पस्ने हुँदा बिस्तारै असर देखिन थाल्छ। एसिडले रगतमा पनि असर गर्न सक्छ। एसिड पर्नासाथ जतिसक्दो छिटो पानीमा भिजाउनुपर्छ। यसले गर्दा पीडा कम हुन सक्छ। जेनीको छाती, अनुहार र टाउको पछाडि गहिरो गरी एसिड परेको हुनाले जोखिम रहेको जानकारी उनले दिए।
को हुन् भुजेल ?
काभ्रेका विष्णु भुजेल बनेपाको मिथुन शाक्य मोटर ग्यारेजमा काम गर्थे। २७ वर्षीय भुजेल महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उनलाई काँडाघारी सनसिटी अपार्टमेन्टको छेउबाट पक्राउ गरिएको हो। बुधबार ७ बजेतिर मोटरसाइकलमा कालोपुल आएका भुजेलले ज्याकेटको खल्तीमा एसिड बोकेर ल्याएका थिए। उनले पत्नीलाई एसिड छ्याप्ने योजनाअनुसार एसिड बनेपाकै सुनपसलबाट रक्सीको बोतलमा हालेर ल्याएका हुन्। जेनीलाई एसिड छ्यापेर उनी मोटरसाइकलमै भागेर काँडाघारी पुगेका थिए। अन्नपूर्णबाट ।