काठमाडौं । स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै काठमाडौंको नयाँ बानेश्वरमा पत्रकारहरुले विभिन्न संचार साधन सहित विरोध प्रदर्शन गरेका छन ।
नेपाल पत्रकार महासंघ आह्वानमा शुक्रबार विहान विभिन्न संचारमाध्यम तथा प्रेस संगठनहरुमा आबद्ध संचारकर्मीहरुले नयाँ वानेश्वरमा पुगी प्रेस स्वतन्त्रता विरोधी प्राधानको खारेजीको माग गरेका हुन् ।
नेपाल प्रेस युनियनको अगुवाइमा विजुलीबजार बाट निस्केको जुलुस नारीबाजी गर्दै नयाँ बानेश्वरमा पुगेको हो ।
सभामा बोल्दै मानव अधिकारकर्मी सुन्दरमणि दीक्षितले सरकारको रवैयाविरुद्ध पत्रकार र अधिकारकर्मीहरु सडकमा उत्रिँदा २०६२/ ६३ को झल्को आएको बताए । सरकार निरंकुशता तिर लम्केको बताए ।
संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहित अन्य केही कानुनमा रहेका प्रावधान र सरकारको कार्यशैली विरुद्ध पत्रकार र अधिकारकर्मी सडकमा उत्रिनुपर्ने अवस्था रहेको बताए ।
दीक्षितले प्रेस र मानव अधिकारमाथि अंकुश लगाउन खोज्ने सरकारको प्रवृत्ति अधिनायकवादी रहेको भन्दै यसले सरकारको भविष्यमाथि नै प्रश्न उठेको बताए ।
नेपाल पत्रकार महासंघको अगुवाइमा भएको विरोध कार्यक्रममा ऐक्यवद्धता दिन आएका नागरिक अगुवा तथा मानव अधिकारकर्मीहरुले प्रेस स्वतन्त्रता र मानव अधिकारलाई संकुचित गरेर सरकारले राम्रो नगरेको आरोप समेत लगाए ।
सरकारले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ सहित सबै पत्रकारहरु सम्मिलित संस्थाहरु आन्दोलनमा छन् ।
अर्का मानव अधिकारवादी कपिल श्रेष्ठले आफू राजनीति शास्त्रको विद्यार्थी रहेको भन्दै सरकारको यो गतिविधिले अधिनायकवादको संकेत गरेको बताएका छन् । उनले पत्रकार र अधिकारकर्मी मिलेर गरिएको आन्दोलन अहिलेसम्म असफल नभएको भन्दै यो आन्दोलनले समेत आफ्नो लक्ष्य पूरा गरिछाड्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले संघीय संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धी प्रावधानलाई अंकुश लगाएकोले बाध्य भएर यो आन्दोलन गर्नुपरेको बताए ।
उनले मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभएसम्म महासंघको आन्दोलन नरोकिने र अझ सशक्त रुपमा अगाडि बढ्ने प्रष्ट पारे ।
प्रदर्शनमा मानव अधिकारकर्मीहरु चरण प्रसाईं लगायत र पत्रकार महासंघका पदाधिकारीहरु विपुल पोखरेल, रामप्रसाद दाहाल लगायतले प्रेसलाई कुण्ठित गर्ने कानून स्वीकार्य नहुने बताए ।
प्रदर्शनमा सहभागी पत्रकारहरुले संचारसाधन सहित मुखमा कालोपट्टी बाँधी प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारसम्बन्धी विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित उपस्थित थिए।