• काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारका कुकार्यको भण्डाफोर गर्ने गरी बुधबारदेखि मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को थालनी गरेको छ । सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ सालभर तीन चरणमा हुने गरी कांग्रेसले आफ्नो योजना सार्वजनिक गरेको छ । बैशाख २५ गतेदेखि शुरु भएको अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगी अभियान अघि बढेको छ ।

    अभियानको काठमाडौँमा कांग्रेसका सभापति शेरबहादुर देउवाले तथा अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उदघाटन गरी अभियानलाई औपचारिकता प्रदान गरेका थिए । तीन चरणमा हुने अभियानको प्रथम चरण वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुने कार्यक्रम सार्वजनिक गरिएको छ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बी.पी. जयन्ती) को दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने गरी कार्यक्रम तय भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

    प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण सात सय ५३ स्थानीय तहमा अभियानलाई पु¥याउने गरी कार्यक्रम गरिजे भएको छ । अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको भनी शर्माले जानकारी गराएका छन् । जागरण अभियानअन्तर्गत अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख संकलन कार्यक्रमलाई तीव्रता दिने र सङ्घर्षकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गरिने जनाइएको छ । यसक्रममा पार्टीका पुराना अग्रजलाई सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसीस्थिति बुझ्नका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घरपरिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझावसमेत लिइने गरी कार्यक्रम बनाइएको छ ।

    यसैगरी कांग्रेसबाट उम्मेदवार भई स्थानीय तहमा विजयी भएकाहरुसँग पार्टीको चुनावी घोषणापत्र र नागरिकको अपेक्षा अनुरूपका काम के–कस्तो रुपमा भएका छन् भन्ने सम्बन्धमा समेत समीक्षा गरिने बताइएको छ । परिमार्जित विधानमा उल्लेख भएबमोजिम पार्टीका तर्फबाट विभिन्न तहमा विजयी या उम्मेदवार र पार्टीको सम्बन्धित तहको कार्यसमितिबीच मासिक नियमित बैठकको प्रारम्भका लागि प्रथम बैठक आयोजना गरिने पनि बताइएको छ ।

    अभियान मुलुकभरमामात्र नभई विदेशस्थित पार्टीका जनसम्पर्क समितिमा समेत सञ्चालन हुने पार्टी कार्यालयले जनाइएको छ । यसैगरी सातै प्रदेशमा हुने कार्यक्रमहरुमा पार्टी पदाधिकारी र शीर्ष नेतृत्वले सम्बोधन गर्ने जानकारी समेत दिइएको छ । यसक्रममा सुदूरपश्चिमको धनगढीमा उपसभापति विमलेन्द्र निधि, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव, प्रदेश नं ५ को रुपन्देहीमा महामन्त्री डा. शशाङ्क कोइराला, गण्डकी प्रदेशको पोखरामा अर्का महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नं २ को धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदेश नं १ को सुनसरीमा अर्का उपसभापति विजयकुमार गच्छदारले सम्बोधन गर्ने तय भएको जानकारी गराइएको छ ।

    यसैगरी अभियानलाई स्थानीयबासीको प्रतिनिधिमुलक हुने गरी अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरिएको छ । पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अभियानलाई प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम गर्ने तथा केन्द्रीय अनुशासन समितिले अभियानलाई अनुशासित र व्यवस्थित बनाउन ‘डेमोक्याट्रिक लयर्स एशोसियसन’ को राष्ट्रव्यापी संरचनालाई पर्यवेक्षणको जिम्मा दिइएको पनि कांग्रेसले जनाएको छ ।

    कांग्रेसको यो अभियानलाई लिएर विभिन्न किसिमका टिप्पणीहरुसमेत भैरहेका छन् । खासगरी कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका सही ढंगबाट निर्वाह गर्न नसकेको अवस्था रहेको भन्ने आरोप लागिरहेको अवस्थामा जागरण अभियानले त्यस्तो आरोपलाई खण्डित तुल्याउने आशा कांग्रेसजनले गरेका छन् ।

    यसैगरी कतिपयले यो अभियानलाई बेमौसमको बाजाका रुपमा पनि व्याख्या गरेका छन् तर त्यसलाई भने सत्य नठान्ने अवस्थामा कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा रहँदै भन्छन्, ‘ कांग्रेस भनेको मासबेस पार्टी हो त्यसैले मौसम, बेमौसमको कुरा नै हुँदैन । जनताकामाझ राजनीतिक दलहरु पुग्नु भनेको नियमित कार्य हो, यसलाई हतोत्साही गर्ने कार्य गर्ने होइन कि प्रोत्साहन पो दिनुपर्छ त जनस्तरबाट ।’ उनले थपे,‘ कांग्रेस अभियानका साथ गाउँ गाउँ पुगेपछि अरु दललाई पनि गाउँ जानैपर्ने अवस्था आउँछ, त्यसले गाउँ गाउँमा चुनावका बेलामा मात्र होइन कि अरु बेला पनि दलहरुको उपस्थिति हुने गरेको छ भनी जनतासँग दलहरु पुग्ने वातावरण बन्ने छ ।’

    वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएको भन्दै कांग्रेसले आफूलाई काठमाडौं त्यसमाथि संसदमा मात्र केन्द्रित नगरी गाउँ गाउँसम्म पु¥याई सरकारको गलत कार्यहरुको भण्डाफोर गर्ने नीति पनि लिएको छ । कांग्रेसले अभियानका दौरान सरकारले गरिरहेका गलत तथा जनतालाई झुक्याउने कार्यको विरोध गर्ने तथा जनतालाई सरकारले झुक्यानमा पार्ने गरेका कुराहरु स्मरण गराउने उद्देश्य पनि यो अभियानमार्फत लिएको छ ।

    कतिपयले सरकारमा जान नपाएको कुण्ठाका रुपमा यो अभियानलाई लिए पनि कांग्रेसजन भने त्यसमा सत्यता नभएको भन्दै आएका छन् । वर्तमान सरकारले दुई तिहाईको तुजुक देखाउँदै अरुलाई कुनै मतबल नगरेको अवस्थामा कांग्रेसको जनजागरण अभियानले जनता जाग्रित हुने अवस्था आउनेमा कांगे्रसका शीर्ष नेताहरु विश्वस्त छन् । कांग्रेसको यो अभियानले उस्तै पर्दा वर्तमान सरकारलाई जनस्तरबाट धक्का दिने तथा नराम्रा कार्यहरु गर्नका लागि सोचनीय बनाइदिने अपेक्षा नेताहरुले गरेका छन् ।

    कांग्रेसको यो अभियानले गाउँ गाउँसम्म कांग्रेसलाई पु¥याउन साथ दिने देखिएको छ । यसैगरी खर्चको हकमा पनि कांग्रेसको केन्द्रले भन्दा पनि प्रदेश तथा स्थानीय स्तरले नै व्यवस्था मिलाउने भएकाले केन्द्रलाई खासै भार नपर्ने तथा स्थानीय स्तरमा जनताले चुनाव भन्दा अन्य समयमा आएको कांग्रेसलाई आर्थिक सहयोग गरी साथ दिने अपेक्षा गरिएको छ । नयाँ विर्मशका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…