काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संगठन सुदृढिकरण र सरकारका गलत कामको खबरदारी गर्ने भन्दै सुरु गरेको राष्ट्रिय जागरण अभियानमा छ। अभियान कांग्रेस नेताहरुले सरकारको खबरदारी गर्ने भन्दा आफ्नै नेताको आलोचनामा बढी समय खर्च गर्ने गरेका छन्। संस्थापन पक्षले संस्थापन इतर पक्षको र संस्थापन इतर पक्षले संस्थापन पक्षको आलोचनामा समय खर्चिएका छन्।
सार्वजनिक कार्यक्रममा नेताहरुले एकअर्कामाथि आरोप प्रत्यारोप गर्न थालेपछि कार्यकर्ताले गुटको नेता भन्दा पनि कांग्रेस नेता भएर कार्यकर्तामाझ आउन सुझाव दिन थालेका छन्।
कांग्रेसले आफ्ना केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा खटाएर संगठन सुदृढिकरण र सरकारका गलत कामको खबरदारी गर्न निर्देशन दिएको छ। तर केन्द्रीय प्रतिनिधिले सरकारको खबरदारी भन्दा पनि आफ्नै नेताको अर्को आलोचना गर्न थालेपछि केन्द्रमा देखिएको गुटगत प्रवृत्ति अब जिल्ला हुँदै गाउँ–गाउँसम्म पुगेको छ।
अहिले कांग्रेसले ७७ वटै जिल्लामा जागरण अभियान संचालन गरेपनि त्यो संगठन सुदृढिकरणकालागि भन्दा आगामी महाधिवेशनको प्रचारकालागि नेताहरुले मञ्चलाई प्रयोग गरेका छन्
नेताहरु एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएपछि केन्द्रीय अनुशासन समितिले ७७ वटै जिल्लामा डेमेक्र्याटिक लयर्स एसोसिएशनलाई स्थलगत निरीक्षण गर्न आग्रह गरेको थियो। एसोसिएशनले हालसम्म गरेको अनुगमनका क्रममा केन्द्रीय प्रतिनिधिले पार्टीको प्रचार भन्दा पनि विरोध बढी गरेको, एक पक्षले अर्को पक्षलाई खुइल्याउने गरेको र केन्द्रमा देखिएको गुटगत प्रवृत्ति अब गाउँ–गाउँसम्म पुगेको देखिएको छ।
सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष गरी तीनवटा गुटमा कांग्रेस रुमलिएको देखिन्छ। अभियानका क्रममा आयोजना गरिएका कार्यक्रममा एक पक्षले अर्को पक्षको चर्को विरोध गरेपछि कार्यकर्तामा उत्साह भन्दा पनि निराशा देखिएको डेमेक्र्याटिक लयर्स एसोसिएशनका एक प्रतिनिधिले जानकारी दिए।
‘लामो समयपछि पार्टीले कार्यकर्तासँग जोडिने गरी कार्यक्रम संचालन गर्दा कार्यकर्तामा जुन उत्साह थियो, अहिले त्यो उत्साह निराशामा परिणत भएको देखियो,’ नाम उल्लेख नगर्ने शर्तमा ती प्रतिनिधिले भने, ‘पार्टीको मञ्चबाट पार्टीकै नेताको विरोध हुने अवस्था आएपछि कार्यकर्तामा नेतृत्वप्रति वितिष्णा जागेको छ।’
उनका अनुसार कतिपय जिल्लामा त नेताहरुको वरिपरि घुमेर टिकट लिनेहरू चुनाव हारेपछि अहिलेसम्म जिल्लामा फर्केर नआएको भन्दै कार्यकर्ताले नेतृत्वप्रति आक्रोश पोखेका छन्। गत निर्वाचनमा पराजित भएपछि कांग्रेस आन्तरिक कलहमा रुमल्लिएको छ। कमजोर संगठन र नेतृत्वप्रति कार्यकर्ताले भरोसा गर्न नसक्दा कांग्रेस कार्यकर्तामा निरासा छाएको छ।
अहिले कांग्रेसले ७७ वटै जिल्लामा जागरण अभियान संचालन गरेपनि त्यो संगठन सुदृढिकरणकालागि भन्दा आगामी महाधिवेशनको प्रचारकालागि नेताहरुले मञ्चलाई प्रयोग गरेका छन्। कांग्रेस विधानमा चार वर्षमा महाधिवेशन गर्नुपर्ने उल्लेख छ। यद्यपी सभापतिलाई एक वर्ष कार्यकाल थप गर्ने अधिकार पनि विधानले दिएको छ।
चार वर्षमा महाधिवेशन हुने भए आगामी फागुनमा कांग्रेसले १४ औं महाविधवेशन गर्नुपर्ने हुन्छ। उक्त महाधिवेशनबाट नेतृत्वमा आउन कांग्रेसभित्र तीव्र प्रतिश्पर्धा चलिरहेको छ। बर्तमान सभापति देउवा पुन सभापति बन्न चाहन्छन् भने रामचन्द्र पौडेल आफू एक पटक जसरी पनि सभापति बन्नुपर्ने भन्दै जिल्ला दौडाहामा नै छन्। उता महामन्त्री शशांक कोइराला, डा. शेखर कोइरा र सुजाता कोइराला कोइराला परिवारले नै कांग्रेसको नेतृत्व गर्नुपर्ने बेला आएको भन्दै १४ औं महाधिवेशनबाट आफूहरुमध्ये एक जनाले सभापतिमा उम्मेद्वारी दिने सार्वजनिक गरिसकेका छन्।