काठमाडौं– व्यवसायी अजेयराज सुमार्गीले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ राजस्व छलेको पाइएको छ।
एनसेलको सेयर खरिद-बिक्रीमा सुमार्गीले आफ्नो कम्पनी ‘हेल्लो नेपाल’ ब्राण्डको जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’को लाभकर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले पत्र लेखेको छ।
पटकपटक कर तिर्न ताकेता गर्दा अस्वीकार गरेपछि सुमार्गीको नाममा राजस्व कार्यालयले सूचना जारी गरेको हो।
सुमार्गीले ७ वर्षअघि ‘नेपाल स्याटेलाइट टेलिकम’को सेयर टेलिया सोनेरालाई बिक्री गर्दा प्राप्त पुँजीगत लाभ बापतको कर नतिरेको कार्यालयको सूचनामा उल्लेख छ।
‘हेल्लो नेपाल’ ब्राण्डको जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’ को ७५ प्रतिशत स्वामित्व टेलिया सोनेराले ५ अर्ब ६३ करोड ५० लाखमा खरिद गरेको थियो। तर उक्त खरिद-बिक्रीको लाभकर नपाएपछि १५ दिनको समयम दिँदै राजस्व कार्यालयले सूचना जारी गरेको हो।
आयकर ऐनले २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेअनुसार गएको ११ बैसाखमा आन्तरिक राजस्व कार्यालयले उक्त कम्पनीलाई १ अर्ब ४० करोड ८७ लाख कर निर्धारण गरेको थियो। उक्त रकमका ब्याजसमेत जोड्दा असुल गर्नुपर्ने बक्यौता ४ अर्ब ३१ करोड पुगेको कार्यालयले जनाएको छ।
विदेशबाट भित्र्याएको लगानी विवादमा रहेको समयमा सुमार्गी पुन: नयाँ कर छलीमा संलग्न भएको पाइएको छ।
सोही रकम ‘असुल गर्नु नपर्ने ठोस प्रमाण भए पेस गर्न’ सूचनामा भनिएको छ। त्यसमा कम्पनीले जवाफ दिएपछि ३१ बैसाखमा अन्तिम कर निर्धारण गरिएको सूचनामा उल्लेख छ।
अन्तिम कर निर्धारण भएपछि रकम भुक्तानी गर्न आग्रह गर्दै पत्राचार गर्दा कम्पनीले पत्र बुझ्न अस्वीकार गरेपछि राजस्व कार्यालयले इमेल र हुलाकमार्फत पत्र पठाएको थियो। त्यसको पनि जवाफ नआएपछि कार्यालयले नयाँ सूचना जारी गरेको हो।