लेटाङ ६ जेष्ठ । सरकारका सवै संयन्त्रलाई नेपाल कम्युनिष्ट पार्टिको भातृ संस्थाको रुपमा प्रयोग गर्न खोजेको भन्दै सरकारको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आलोचना गर्नुभएको छ । सरकारले नियोजित रुपमा कांग्रेसले जितेका ठाँउहरुमा असहयोगको भावनाले काम गरिरहेको समेत आरोप लगाउनुभएको छ । दुई तिहाईको दम्भले सरकारले प्रतिपक्ष दल संग सम्बद्ध सवैलाई सिध्याउने खेलमा लागेको आरोप लगाउनु भएको छ ।
सोमवार लेटाङ नगरपालिकामा सम्पन्न नेपाली कांग्रेस जागरण अभियानमा नेता सिटौलाले सरकारले न्यायपालिका , प्रहरी प्रसासन , प्रेस , अक्तियार जस्ता अंगहरुलाई आफु अनुकुल प्रयोग गरिरहेको र संविधानको मर्मलाई कुल्चेको वताउनुभयो । नेपाली कांग्रेसले सरकारका गलत पक्षहरुको सडक देखि सदन सम्म भण्डाफोर गर्न आवश्यक रहेको वताउनुभयो । उहाँले कांग्रेस भित्रका अन्तरद्धन्दलाई समेत अव सदाका लागि अन्त्य गर्न जरुरी रहेको समेत वताउनुभयो । नेता र कार्यकर्ता विचको सम्बन्ध परस्पर सुमुधुर र सहयोगी वनाउन आवश्यक रहेको वताउनुभयो । कांग्रेसको गरिमालाई स्थानिय देखि केन्द्रीय नेतृत्वले बुझेर अघि वढ्न आवश्यक रहेकाले पार्टीलाई बलियो वनाएर लैजान सवैजना एक ढिक्का हुन आश्यक रहेको वताउनुभयो ।
कार्यक्रममा जिल्ला सचिव मोदराज घिमिरे , कोषाध्यक्ष गोपाल थापा , महासमिति सदस्य शंकर राई , क्षेत्रिय सभापति खड्ग फागो लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा स्थानिय नेता कार्यकर्ताले नेपाली कांग्रेसका गतिविधि र यस पार्टीको विषयमा चासो र चिन्ता राखेका थिए । कार्यक्रम नेपाली कांग्रेस लेटाङका सचिव कुवेर पौडेलले सञ्चालन गर्नुभएको थियो भने सभापति राजकुमार लामाले समापन गर्नुभएको थियो ।