पाँचथर : मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतककै आफन्त मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानले खुलाएकाे छ।
सोही गाउँपालिका ७ स्थित रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुन सक्ने प्रहरीको आशंका छ। एक स्थानीयका अनुसार रुखमा झुण्डिएर आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन्।
मानबहादुर र ३६ वर्षीया श्रीमती जस्मिता फियाकबीच केही महिनादेखि पारिवारिक विवाद हुँदै आएको प्रहरीले बताएकाे छ। पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन्।
सामान्य परिवारका मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्धविच्छेदको अन्तिम तयारीसमेत चलिरहेको थियो।
उक्त घटना र मानबहादुरको आत्महत्याबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।
घटनामा ४१ वर्षीया धनराज शेर्माको परिवारका पाँच जना र बमबहादुर फियाकको परिवारका चार जना मारिएका छन्। ३६ वर्षीया जस्मिता फियाक, ३५ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ६ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो। १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्।