दमक,९ जेठ । बिद्युत चुहिएर गएराती झापाको दमक चौकमा रहेको एउटा किराना पसलमा आगोलागी हुदाँ लाखौंको क्षति भएको छ ।
दमक ५ स्थित मनोज साहको किराना पसलमा राती करिव ११ : ३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुदै आएको साहको किरानाबाट अचानक निस्किएको आगोले संगै रहेको राज अग्रवालको मोवाईल पसलमा समेत क्षति पुगेको थियो ।
आगो समयमै नियन्त्रण आएका कारण सोहि घरमा रहेको बालकुमार राईको सगुन होटलमा भने क्षति हुन पाएन् । साहको दैनिक उपभोग्य खाद्य सामाग्री नष्ट हुदाँ रु ३० लाख बढी मूल्यको समान नष्ट भएको थियो भने अग्रवालको मोवाईल पसलमा समेत रु १० लाख बढीको क्षति भएको प्रांरिम्भक अनुमान छ । प्रहरीले अहिले घटनास्थलको सर्जिमीन संकलन गरिरहेको जनाएको छ ।
आगो करिव २ घण्टा लगाएर दमक नगरपालिकाको दुई वटा बारुणयन्त्रको सहयोगले स्थानीय , प्रहरीको प्रयासबाट नियन्त्रणमा आएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।
यता बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाइ बस्दै आएका अन्दाजी ४५ बर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
,खाना खाई टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा लुहार परिवारको मृत्यु भएको हो । बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलीसकेका थिए । उनीहरुको स्थानीय र प्रहरी मिलेर शव मात्रै बाहिर निकाल्न सकेका थिए । मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताए ।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटिएको बताइएको छ ।