काठमाडौँ – पहिचानमा आधारित संघीय गठबन्धनमा आवद्ध संगठनहरुले भोलि आइतबारदेखि काठमाडौँको बानेश्वरमा धर्ना दिने भएको छ। पहिचानका आधारमा प्रदेशहरुको नामकरण र भ्रष्टाचारको विरुद्धमा १० बुँदे मागसहित धर्ना कार्यक्रम आयोजना गरिएको संघीय लोकतान्त्रिक मञ्च तथा मञ्चमा आवद्ध संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले जानकारी दिए।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम खारेज गरेर तमुवान, मगरात र थरुहट खसान कायम गर्नुपर्ने, संविधान संशोधन गरी ११ प्रदेश कायम गर्नुपर्ने, रेशम चौधरीलाई रिहा गर्नुपर्ने, भ्रष्टाचार, हिंसा र बलात्कारमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने माग धर्ना बस्न लागेका संगठनले अघि सारेका छन्।
काठमाडौँमा नेवारहरुको जमिन, भाषा तथा सम्पदामाथि भइरहेको दमन र अतिक्रमण बन्द गर्नुपर्ने, नेपाः उपत्यकाभित्र बढिरहेको जनसंख्या चाप नियन्त्रण गर्नुपर्ने, अव्यवस्थित शहर निर्माण रोक्नुपर्ने, खस र आर्यको अलग अलग क्लष्टर कायम गर्नुपर्ने, लगायतका मागसमेत राखिएको धर्ना कार्यक्रमका आयोजकहरुले बताएका छन्।
एक हप्ते शान्तिपूर्ण धर्ना अभियानमा सहभागी हुन सम्पूर्ण पहिचानवादी र भ्रष्टाचार विरोधीलाई आग्रहसमेत गरिएको अध्यक्ष लिङ्देनले बताए। लिङ्देन नेतृत्वको मञ्चले दलित (शिल्पी) समुदायका लागि गैरभाैगोलिक एकसहित १०+१ प्रदेश कायम गरिनु पर्ने र अरूण पूर्वका नाै जिल्लालाई ‘लिम्बुवान’ प्रदेश नामकरण गरिनु पर्ने माग गर्दै आएको छ।