जेठ १७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सम्बन्धी राखेको धारणा सञ्चार माध्यमहरुमा सार्वजनिक भएसँगै विभिन्न राजनीतिक दलका नेताहरुले यसमाथि टिप्पणी गरेका छन् ।
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले प्रचण्डको सत्ता धारणा (प्रधानमन्त्री पद) माथि टिप्पणी गरेका हुन् ।
अध्यक्ष दाहालले सत्ता (प्रधानमन्त्री पद) आलोपालो गर्ने सहमति भएको भन्दै अब प्रधानमन्त्री बन्ने पालो आफ्नोे भएको दाबी गरेका थिए । सोही धारणामाथि टिप्पणी गर्दै महासचिव वैद्यले प्रधानमन्त्री पद आलोपालो गर्नु गलत भएको बताएका हुन् ।
याे पनिः ‘जनअपेक्षा अनुसार काम भए केपीजी बस्नुहुन्छ, नभए सरकार फेरिन्छ’ (भिडियाेसहित)
क्रान्तिकारी पत्रकार महासंघले आज (शुक्रबार) बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीमा प्रचण्डले भाग खोज्नु मर्यादित नभएको धारणा राखे ।
उनले भने, ‘कम्युनिष्टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको छ । पार्टी एककिरण नटुंगिएको अवस्थामा पार्टीभित्र आलोपालो माग्नु गलत हो । दुई पार्टी एक भइसकेपछि र दुई तिहाइको सरकार हुँदाहुँदै प्रधानमन्त्रीमा आलोपालोको कुरा गर्नु लज्जास्पद हो ।’
महासचिव वैद्यले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको पनि आरोप लगाए ।
यस्तै उनले वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै आर्थिक वर्ष २०७६/७७ को बजेटको पनि आलोचना गरे । समृद्धि नेपाल सुखी नेपालको नारा सरकारले लगाएपनि अहिलेको सरकारबाट सम्भव नभएको वैद्यको दाबी छ ।
१५ खर्ब बजेटमा ४ खर्ब विकास बजेटमा ४ खर्ब नै ऋण छ, अनि कसरी विकास हुन्छ ? भन्दै उनले प्रश्न तेर्साए ।