• काठमाडौं । नेपाली कांग्रेसले अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि सार्वजनिक गरेको बजेटलाई अन्यौलको ‘कपी पेष्ट’ को संज्ञा दिएको छ ।

    उसले वर्तमान सरकार कम्युनिष्ट दर्शनको शास्त्रीय मनोविज्ञान र लोकतान्त्रिक संविधानको वस्तुगत यथार्थको अन्योलमा बजेट पुरानै ढाँचामा कपी पेष्ट गरेर ल्याइएको टिप्पणी गरेको हो ।

    प्रवक्ता विश्वप्रकाश शर्माले यो बजेट सैद्धान्तिक अन्तरविरोधको प्रभावमा परेको स्थितिमा बनाइएको आरोप लगाएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले कांग्रेसले विगतमा लिएको अर्थनीतिलाई गलत भनेर सत्तामा पुगेपछि केही पपुलिष्ट विषयहरु गाँसेर त्यही नीतिको मूल बाटोमा हिड्नुपरेको अवस्थामा आजको कम्युनिष्ट सरकार रहेको जिकिर गरे । उनले कांग्रेसकै पालामा सुरु गरिएका राष्ट्रिय गौरबका आयोजनाहरु र अन्य कार्यक्रममा बजेट छुट्टयाएर बाचन गर्नुपर्ने भन्दा अन्य कुनै मौलिक प्रस्ताव दोस्रो बजेटमा नआएको बताए ।

    शर्माले लोक रिझ्याईका केही पुरानै कार्यक्रमका बलमा मुलुकको समृद्धि यात्रालाई नविनता दिन र ठोस परिणाम दिन नसकिने ठोकुवा गरेका छन् ।

    उनले बजेट निर्माणमा शान्ति स्थापना, संविधान निर्माण र तीन तहको स्थिर सरकार निर्माण भएको वर्तमान देशले यस्तै काम चलाउ बजेटको अपेक्षा नगरेको उल्लेख गरे । उनले बजेटमा नविन कार्यक्रम, दूरगामी लक्ष्य र जोखिम मोल्न सक्ने क्षमताको खोजी गरिएको भए पनि सरकारले बजेटमार्फत् त्यस्तो आँट गर्न नसकेको आरोप लगाएका छन् ।

    कांग्रेसले वर्तमान सरकारको प्रथम बजेटले छाडेको अलमल, अलपत्र योजना र करिब सबै पुरानै अधुरा सपनाहरुको भारी दोस्रो वर्षको बजेटलाई बोकाइएको आरोप लगाएको छ ।

    लोकप्रियता कि लोकहित रोज्ने ?

    कांग्रेसले आफ्नो धारणामा सरकारलाई लोकप्रियता खोज्ने कि लोकहित खोज्ने भन्दै प्रश्न गरेको छ ।

    बजेटको आधार वृद्धि गर्दा खर्च गर्न सक्ने क्षमता अभिवृद्धिको हाम्रो परम्परागत चुनौतिको निदान बदलिएको परिस्थितिमा खोजिन जरुरी भएको र अनुकुल परिस्थितिको वितेको वर्षमा त्यसमा कुनै प्रगति हुन नसकेको टिप्पणी कांग्रेसको छ । आय स्रोत र क्षमताको वृद्धि नगरी बजेटको आकार दोस्रो वर्षमा अनपेक्षित रुपले वृद्धि गर्दा यसको परिणाम भिन्न हुने आधार नभेटिएको कांग्रेसको तर्क छ ।

    साथै कांग्रेसले प्रशासनिक खर्चको आकार घटाउँदै जाने, पुँजीगत बजेट बढाउँदै लैजाने र खर्च क्षमता वृद्धि गर्ने समृद्धिका लागि आवश्यक सन्तुलनलाई गति दिने गरी विषय प्रवेश गर्न वर्तमान सरकार नसकेको कांग्रेसको टिप्पणी रहेको छ ।

    अघिल्लो वर्षको बजेटमा लाखौं रोजगारी सिर्जन ा गर्ने उद्घोष गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेर ३ अर्ब १० करोड बजेट छुट्टयाए पनि जम्मा एक सय युवाले रोजगारी पाएको तथ्य पनि सरकारले पेश गर्न नसकेको प्रवक्ता शर्माले आरोप लगाए ।

    उच्च शिक्षा हासिल गरेका युवालाई शैक्षिक प्रमाण पत्र धितो राखी पाँच प्रतिशत ब्याज अनुदानमा ७ लाख सम्म ऋण उपलब्ध गराईने र व्यवसायी बनाउने गत वर्षको बजेटबाट कत्ति पनि युवाले त्यस्तो ऋण पाएको तथ्य सरकारले पेश गर्न नसकेको शर्माको आरोप छ ।

    संघीयता यसरी बलियो कसरी ?

    कांग्रेसले सरकारले ल्याएको बजेटबाट संघीयता बलियो हुने आधार खोजेको छ । तीन तहको सरकारको संवैधानिक व्यवस्था रहेको र निर्वाचन मार्फत स्थापित भएको बेला विगतको वाध्यात्मक स्थितिलाई संघीयता अनुकुल ढालेर सांसदलाई नीति, विधि, थिती र सिंगो बजेटको निर्माताका रुपमा उच्च छबी र वैचारिक गरिमाको नायकत्व निर्माणमा मार्ग प्रसस्त गर्ने क्षमता बजेट मार्फत् सरकारले निर्माण गर्न नसकेको आरोप कांग्रेसले लगाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…