काठमाडौैं। नेपाली कांग्रेसका वरिष्ठ नेता कुलबहादुर गुरूङले मुलुकको सिंगो राजनीति र प्रजातान्त्रिक आन्दोलनको मूल प्रवाह नेपाली काँग्रेसले नेपालको सन्दर्भमा वीपीको राजनीतिक प्रस्तावलाई अस्वीकार गरेकै कारण राष्ट्रीयता कमजोर भएको बताएका छन्।
वीपी विचार राष्ट्रीय समाजको ७ औं महाधिवेशन उद्घाटन पछि समाजका संस्थापक सभापति समेत रहेका गुरुङले भने, ' कांग्रेस सहि बाटोमा नभएका कारण प्रजातन्त्र संकटमा पर्दैछ, अधिनायकवादी कम्युनिस्ट वलिया भएका छन्।'
समाजको महाधिवेशनलाई शुभकामना दिदै पूर्व सभामुख एवम् नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले देशको राजनीति माथि विदेशी हस्तक्षेप नांगो रूपमा भैरहेकोले देशको राष्ट्रीयता कमजोर भएको प्रति गंभीर हुन आग्रह गर्दै समाजले वीपीको यथार्थ विचारलाई स्थानीय तहसम्म पुर्याउन विशेष भूमिका निर्वाह गर्न आग्रह गरे।
समाजका सहअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेतृत्वले विचार चिन्तनलाई छोडेर केवल सत्ताको राजनीति गरेको कारण आज देशमा प्रजातन्त्र कमजोर भएको तथा काँग्रेस पनि कमजोर भएको बताए ।
नेपाली काँग्रेसका पूर्व प्रमुख सचेतक एवम् नेता लक्ष्मणप्रसाद घिमिरेले पार्टी तीन तहको निर्वाचनमा पराजय हुँदा नैतिक जिम्मेवारी लिने नेतृत्व समेत काँग्रेसमा नभएको अवस्थामा काँग्रेस कसरी अगाडी बढ्छ भन्ने प्रश्न गर्दै काँग्रेसमा अहिले नीति, नारा र नेतृत्व तिनै तत्व खराव भएकोले काँग्रेस कमजोर भएको बताए।
समाजका महासचिव विनयध्वज चन्दले साधारण सभामा महासचिवको प्रतिवेदन प्रस्तुत गर्दै भने, 'नेपाली काँग्रेसमा अहिले विचारको राजनीति मरेको छ, पार्टी व्यक्तिगत स्वार्थको गुट गिरोहमा परिणत भएको छ, नेतृत्व केवल सत्ता स्वार्थमा रमाइरहेको छ जसले गर्दा काँग्रेस इतिहास मै सबै भन्दा कमजोर भएको छ।'
समाजका सँस्थापक एवम् नेपाली काँग्रेसका नेता लोकेश ढकालले वीपी विचार राष्ट्रीय समाजको उपस्थिति नेपाली काँग्रेसको चुनौति होइन, यो समानान्तर संगठन पनि होइन, यसको प्रयासले काँग्रेसलाई सांगठनिक एवम् वैचारिक रूपमा सहयोग पुर्याउने भएकोले यसको सक्रियताबाट काँग्रेस नेतृत्वलाई नतर्सन आग्रह गरे।
साधारण सभामा राजनीतिक विश्लेषक अरूणकुमार सुवेदीले आलोचनात्मक ढंगले वर्तमान काँग्रेसको दिशा र दशा एवम् वीपी विचार चिन्तन माथि चोटिलो समीक्षा गरे।
त्यसै गरी प्रा डा वासुदेव खनालले वीपी विचार चिन्तन माथि समाजको अवधारणा पत्र प्रस्तुत गरेका थिए। समाजको साधारण सभा भोली १९ जेष्ठमा समापन हुनेछ ।