जेष्ठ १९, काठमाडौं । प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको तारबार स्थानीयले उठाएका छन्। भरतपुर महानगरपालिका १५ स्थित रंगशाला निमार्णस्थलमा भत्काएको तारबार स्थानीयले शनिबार आफै उठाएका हुन्।
तारबार उठाउन शनिबार बिहान स्थानीयसहित जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो। तारबार उठाएपछि लिखित रुपमै स्थानीयले रंगशाला निमार्णका लागि काम अघि बढाउन आग्रह गरेका छन्। स्थानीयले भत्काएको तारबार उठाउन राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिसँगै सरोकारवाला सहभागी थिए।
स्थानीय टोलबासीले रंगशाला निमार्णको लागि सहज वातावरण बनाउनका लागि सद्भाव र्यालीसमेत गरेका छन्। बुधबार बार भत्काएपछि घटनाको चौतर्फी विरोध भएको थियो। बार भत्काएको आरोपमा स्थानीय प्रकाश कँडेलसहित १८ जना प्रहरी नियन्त्रणमा छन्। उनीहरुले बाटो खुलाउनका लागि फाउण्डेशनसँग जग्गा माग गर्दै बार भत्काएका थिए।
पक्राउ परेका सबैविरुद्ध मुद्दा दर्तासँगै म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। घटना पश्चात धुर्मुस सुन्तली फाउण्डेशनले सुरक्षाको माग गर्दै काम नै रोकेको थियो। स्थानीय सरकारले काम तत्काल अघि बढाउन आग्रह गरेको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सुरक्षित वातावरण भए तत्काल काम सुरु हुने जानकारी दिए। अन्नपूर्णबाट ।