• काठमाडौं, । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकारबाट मुक्ति पाउन जनताले आन्दोलन गर्नुपर्ने बेला आउन सक्ने बताएका छन्।

    शनिबार कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनताको प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्दै गएको बताए।

    ‘सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोज्यो। प्रेस काउन्सिलमाथि धावा बोलेको छ। मानब अधिकार आयोगमाथि पूर्ण हस्तक्षेप गर्न खोजेको छ,’ देउवाले भने, ‘प्रेसमाथि हस्तक्षेप भनेको प्रजातन्त्रमाथिको हस्तक्षेप हो। कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताका लागि २००७ सालदेखि लड्दै आएको हो।’

    प्रधानमन्त्रीले आलोचना सहन नसकेको देउवाको भनाइ छ। ‘ओलीको खिलापमा बोल्नै नपाउने, लेख्नै नपाउने हो?,’ देउवाले भने, ‘यदी त्यसो हो भने यो प्रजातन्त्रमाथिको हमला हो।’ वाक् स्वतन्त्रतामाथि हस्तक्षेप गर्दा विगतमा कांग्रेसले राणा, राजा र पञ्चायत हटाएको उनले बताए।

    प्रधानमन्त्री ओलीलाई जनताका अधिकार, न्यायालय, प्रेस, मानब अधिकार आयोगमाथि हस्तक्षेप नगर्न देउवाले आग्रह गरे। ‘सरकारले प्रेस काउन्सिलमाथि धावा बोल्दै विधेयक ल्याएको छ। हामी कुनै हालतमा त्यो विधेयक संसदमा छलफल हुन दिँदैनौं,’ देउवाले भने।

    प्रधानमन्त्री ओलीले जनताका अधिकार खोस्दै गए भने आन्दोलन गर्ने देउवाले बताए। उनले थपे, ‘कम्युनिष्ट सरकारबाट मुक्ति पाउन आन्दोलन गर्नुपर्ने बेला आउन सक्छ। तयार रहनुपर्छ। त्यसका लागि पार्टी एक हुनु जरुरी हुन्छ।’

    सरकारले बुधबार ल्याएको बजेटबारे देउवाले कार्यकर्ता पोस्ने वितरणमुखी बजेट भन्दै टिप्पणी गरेका छन्। ‘विदेशी सहायता र जनताको करले कार्यकर्ता पोस्न पाइन्छ?’ उनले भने, ‘कार्यकर्ता पोस्ने बजेट आएको छ।’

    अन्तरघात गर्नेलाई कारबाही

    सभापति देउवाले कांग्रेसलाई हराउने अरु कोही नभएर कांग्रेस नै भएको भन्दै चुनावका बेला अन्तरघात गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टीमा एकता छैन भन्ने कुरा नेताहरुले उठाएको बताएका उनले भने, ‘यो बुद्ध भुमीबाटै एकताको सुरुवात होस् भन्ने चाहन्छु।’

    उनले पार्टीका केही मान्छेलाई कारबाही गरेर भए पनि पार्टीलाई बलियो बनाउने दाबी गरे। ‘केही मान्छेलाई कारबाही गरेर भए पनि अन्तरघातमुक्त पार्टी बनाउनुछ। पार्टी खिलापमा जाने कसैले पनि हिम्मत गर्ने छैन,’ उनले भने।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…