धरानः हामीमाझ धेरै नेता कार्यकर्ता छन् । धेरै नेता कार्यकर्तामा कसैबाट हारेमा केही गर्नु हुँदैन, त्यो काम जितेकाले नै गर्ने हो भन्दै छाडिदिने प्रचलन नयाँ होइन । अध्यापक डिवी श्रेष्ठ भन्छन्, ‘धरानमा विकास नहुनुमा व्यक्ति कामप्रेमी भएन, परिणामप्रेमी भयो वा पदप्रेमी भयो ।’ पोष्ट मात्रै खोज्नेले जितेर गएपनि काम गर्दैन, मान खोज्न थाल्छ, जस्तो मानसिकता त्यस्तै हुन्छ ।
तर धरानका एक नेता जो कामप्रेमी, विकासप्रेमी बनेका छन् । उनी केही वर्षअघि स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा चुनाव लडेका थिए । तर उनले केही मतले हारे । तर पनि अहिले धरानमा विकास निर्माण हुनुपर्छ भन्ने पक्षमा उनी लाग्दै आएका छन् । विकासका लागि पहल गर्नेसम्म भएपनि उनको कामले देखाएको छ । उनको पदप्रेमी होइन कामप्रेमी व्यवहार देखेर सबैले तारिख गर्दै आएका छन् । दृढ इच्छाशक्ति भएका केही गर्न सकिन्छ भन्ने कुरा उनको उदाहरणबाट प्रष्टिन्छ । हेरौं उनका पहलबाट धरानका भएका केही सकारात्मक कामः
चिल्डेडाँडामा भ्यू टार बन्दै
धरान–२० चिन्डेडाँडामा भ्यू टावर बन्ने भएको छ । चिल्डेडाँडादेखि एक किलोमिटर माथि डाँडामा यस्तो भ्यू टावर बन्न लागेको हो ।
चिल्डेडाँडा पर्यटन तथा पूर्वाधार विकास केन्द्र नेपालका अध्यक्ष तथा चिन्डेडाँडा पर्यटन निर्माण समितिका अध्यक्ष सम्फर तामाङका अनुसार यो तीनतले भवनको बनाइने योजना छ । नेकपाका नेता अइन्दविक्रम बेघाको पहलमा प्रदेश नं. १ को सङ्घीय तथा आर्थिक मामिला मन्त्रालयबाट अर्थमन्त्री इन्द्र आङ्बोले ३० लाख रूपैयाँ बजेट छुट्याइदिएपछि यो भ्यू टावर बन्ने पक्का भएको हो । अहिले निर्माण कार्य धमाधम भइरहेको छ ।
तामाङका अनुसार यसले धरानको पर्यटन क्षेत्रको विकास गर्न सहयोग पुग्ने बताए । ‘ निर्माण कार्य धमाधम भइरहेको नै छ, अबको केही दिनमै यसको स्वरूप देखिने नै छ ।’ उनले भने, ‘चिन्डेडाँडाले जुन हिसाबले गति लिइरहेको छ, त्यो भन्दा अझै बढी यसको निर्माण भइसकेपछि गति लिनेछ र स्थानीयबासी, आन्तरिक र बाह्य पर्यटकको लागि पनि फाइदाजनक हुनेछ भन्ने विश्वास छ ।’
धरानलगायत सप्तकोशी साथै अन्य दृश्यावलोकनका लागि पनि चिन्डेडाँडा उपयुक्त गन्तव्यस्थल हो । जीविकोपार्जनको माध्यम साथै स्थानीय आयस्रोतमा पनि वृद्धि हुने पनि उनले बताए । उनले चिन्डेडाँडालाई गुरुयोजना बनाएर अघि बढ्ने बताए । ‘यो टावरले पहिचान थप्नेछ, यसका लागि हामी गुरुयोजना नै बनाएर अघि बढ्नेछौं ।’
धरानको कृषि बजारमा भवन
धरानको कृषि बजारमा अब भवन बन्ने भएको छ । २० लाख रूपैयाँ बजेटमा हाल भवन निर्माण सम्पन्न हुन लागेको छ । भवन निर्माण भएपछि पूर्वाञ्चलका किसान, व्यवसायीलाई फाइदा पुग्ने कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कट्वालले जानकारी दिए ।
सङ्घीय तथा कृषि राज्यमन्त्री रामकुमारी चौधरीको विशेष निर्देशन तथा धरानका नेकपाका नेता एवम् कृषि उपज बजार व्यवस्थापन समितिका सल्लाहकार बेघाको पहलमा यस्तो भवन बन्न लागेको उनले जानकारी दिए ।
किसानले उत्पादन गरेका विशेषतः अदुवा, बेसार, तेजपत्ता, मजेटो प्याकिङ गरेर भारतसम्म पुरयाउन किसानलाई फाइदा पुग्ने उनले बताए । ‘यसअघि गे्रडिङ, प्याकिङ नगरी भारतसम्म यस्ता सामग्री पुग्दा कि किसानलाई घाटा हुन्थ्यो कि व्यवसायीलाई तर भवन बनिसकेपछि ग्रेडिङ, प्याकिङ नै हुने व्यवस्था गर्न लागेका हौं ।’ उनले भने । यसअघि भवन बनाउन १० लाख रूपैयाँ छुट्टिएर कृषि बजार उपजस्थलमै भवन निर्माण भइसकेको उनले बताए ।
सेउतीमा तटबन्धन
धरान–४ स्थित सेउती खोला (अर्गानिक गाउँ बसन्तटार तलतिर) मा विकास निर्माणका कार्य धमाधम भइरहेको छ । त्यहाँ खोलामा तटबन्धन निर्माण भइरहेको छ । ३० लाख रूपैयाँमा यस्तो काम भएको स्थानीय जीवन राई बताउँछन् । यो बजेट बेघाको पहलमा परेको उनले जानकारी दिए ।
वसन्तटारस्थित सेउती खोलामा ड्रेन निर्माण
यस्तै, वसन्तटार डाँडाटोल ड्रेन निर्माण भइरहेको छ । ३२ लाख रूपैयाँमा ड्रेन निर्माण भएको हो । नेता बेघाकै पहलमा प्रदेश सरकारबाट आएको रकमले ड्रेन निर्माण भएको हो । ‘हारे पनि केही हुँदैन, इच्छाशक्ति भएमा विकास निर्माण तीब्र हुन्छ भन्ने उदाहरण उहाँले पस्किएका छन्’, स्थानीय बसन्त राईले भने ।
३२ लाखमा धरान–४ ज्वाने खोलाबाट ट्रयाक खोलियो
धरान–४ दानाबारी धरान उपमहानगरपालिकाको आफैंमा एउटा विकट ठाउँ हो । जहाँ शिक्षा, स्वास्थ्य, बाटोघाटोको पहुँचबाट स्थानीय अझै टाढा छन् । भनेजस्तो कलेज नहुनु, बाटोघाटो पूर्णरूपमा नपुग्नुले यहाँका जनता स्वास्थ्य सेवा पाउन पनि मुस्किल छ ।
धरानबासी भएर पनि पैदलै हिँड्नुपरेको बताउँदै स्थानीय भीमा राईले बाटोको ट्रयाक खोलिएपछि सहज हुने पक्का भएको बताउँदै खुशी व्यक्त गरिन् । यो खोला हुँदै बाटो जान्छ भन्ने कल्पना पनि नगरेकी उनले अहिले बाटोको ट्रयाक खुल्न थालेपछि खुशी छिन् । ‘अबका स्कुल, कलेज पुस्ताले मेरो जस्तो दुःखकष्ट झेल्नु पर्दैन न कि ।’ उनले भनिन् ।
स्थानीय शंकर राई भन्छन्, ‘दुःखकष्ट कसले देख्थ्यो तर यो बाटोको दुःखकष्ट र यहाँका स्थानीयको दुःखकष्ट देखेर युवा नेता अइन्द्रविक्रम बेघाको पहलमा ३० लाख रूपैयाँ बजेट छुट्टिएर ट्रयाक खोल्न थालिएको छ ।’ अहिलेका पुस्तालाई अब सहज हुने भन्दै उनले खुशी व्यक्त गर्दै भने, ‘कलेज आउने जानेले ट्याम्पोसम्म भएपनि चढ्न पाउने भए, भविष्य राम्रो हुने सङ्केत देखिको छु ।’ यो ट्रयाक खोलिएको बाटो ज्वाने खोला हुँदै दानाबारीसम्म पुग्नेछ ।
धरानमा अन्तर्राष्ट्रिय क्रिकेट निर्माण
धरानमा अन्तरराष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण हुँदैछ । धरान–१५ स्थित खोरिया बस्तीमा निर्माण हुने क्रिकेट खेल मैदानको वडा नं १५ का अध्यक्ष नरेश इवारम र खेलकुद विकास समिति संयोजक सुवास राईले शिलान्यास गरिसकेका छन् ।
क्रिकेट मैदानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरेको थियो । सम्भाव्यता अध्ययन गरी निर्माण कार्य थालिएको निर्माण समितिका अध्यक्ष श्रीप्रसाद जवेगू (लिम्बू) बताउँछन् । तेह्रथुम गृहजिल्ला भएका तत्कालीन माओवादी नेता भक्तराज कन्दङ्वाप्रति सम्मान दर्शाउँदै उनको नाममा खेल मैदान निर्माण गर्न लागिएको हो । सो बजेट ल्याउन नेता बेघाले पहल गरेको अध्यक्ष लिम्बूले बताए ।
मैदानलाई लेभलिङ गर्ने, माटो भर्ने काम शुरु भएको छ । शुरुमा हाल ३ वटा पिच निर्माण गरिँदैछ । निर्माण समितिका अध्यक्ष श्रीप्रसाद बेघाले प्रदेश सरकारबाट आएको बजेटले असार १५ सम्म क्रिकेट खेल्न उपयुक्त हुने मैदान तयार गर्ने गरी काम तीब्र बनाइएको बताए । आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोको पहलमा ५० लाख बजेट छुट्टिएको उनले बताए ।
खोरिया वस्तीमा तटबन्ध
धरान–१५ स्थित खोरिया वस्तीमा हाल तटबन्धन निर्माण तीब्र गतिमा भइरहेको छ । खोरिया वस्ती तटबन्धन निर्माण समितिका सदस्य तिलकबहादुर राईले बेघाको पहलमा ४० लाख रूपैयाँ बजेट प्रदेश सरकारबाट आएपछि यस्तो कार्य अघि बढेको हो । ‘यहाँका बासिन्दा वर्षेनी सेउतीबाट पीडित थिए, तर तटबन्धले जनतालाई राहत पुग्ने महसुस गरेका छौं ।