जेष्ठ २१, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गरेका छन् ।कोइरालाले आइतबार विज्ञप्ति जारी गरेर सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापनसम्बन्धी विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मूल्यमान्यता तथा संविधानविपरीत भएको भन्दै फिर्ता लिन माग गरेका हुन् । उनले कुनै पनि बहानामा स्वतन्त्र प्रेसमाथि तरबार झुन्ड्याउने काम बन्द गरिनुपर्ने विज्ञप्तिमा भनेका छन् ।
‘स्वतन्त्र प्रेसमाथि कुनै पनि बहानामा तरबार झुन्ड्याउने काम जनताको सूचनाको अधिकार कुण्ठित गर्ने सरकारी कुटिल चाल हो,’ विज्ञप्तिमा भनिएको छ ।
डा। कोइरालाले विधेयक जबरजस्ती अघि बढाइनु कुटिल चाल र बहुमतको दम्भ भएको भन्दै अधिनायकवादी शैलीबाट विधेयक पारित गरिए संविधानविपरीत हुने बताए ।
‘बहुमतको दम्भ देखाएर पारित गर्न तम्सिनु भनेको वर्तमान कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्रको विस्तारित रूप हो,’ उनले भने ।
विधेयकमा पत्रकारहरुलाई हदैसम्म दण्ड जरिमाना र जेल सजायसम्मका कठोर प्रावधान राख्नु, काउन्सिललाई निरंकुश संस्थाका रूपमा स्थापित गर्न खोज्नु भनेको प्रेसको आलोचनात्मक चरित्रलाई समाप्त पार्ने सरकारी कुटिल चाल भएको उनले जनाए । प्रस्तावित विधेयक र मस्यौदाका क्रममा रहेका कानुनबाट बन्ने संरचना स्वायत्त र स्वतन्त्र राख्न नचाहनुसमेत गलत भएको उनको धारणा छ ।
उनले विधेयक फिर्ता लिई सरोकारवालासँग छलफल र सहमतिका आधारमा ल्याउनसमेत सरकारलाई सुझाएका छन् ।
‘सरकारले बलपूर्वक ती कानुन पारित गराउन खोजेमा उसको अधिनायकवादी यात्रालाई सार्वभौम संसद्ले लगाम लगाउँदै ती कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता, हाम्रो संवैधानिक प्रावधान, प्रचलित अभ्यास र आमसञ्चार नीति २०७३ अनुकूल बनाउनुपर्छ । म सार्वभौम भनिएको संसद् कार्यकारीको ल्याप्चेका रूपमा रूपान्तरित नहोस् भन्नेतर्फ सचेत गराउन चाहन्छु,’ डा। कोइरालाले भनेका छन् । राजधानीबाट ।