काठमाडौं । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएको स्वीकार गरेका छन् । स्थानीय पत्रकार विराट अनुपमलाई उनले दिएको धम्कीको अडियो सुनेपछि प्रमुख चौधरीसँग गरिएको कुराकानीमा उनले आफू पीत पत्रकारिता गर्नेका लागि मेयर नभई गुण्डगर्दीमा उत्रने चेतावनी समेत दिए । उनले पत्रकारलाई कुटाउनको लागि एक कठ्ठा जग्गा समेत छुट्टाएको भन्दै पत्रकारले आफूलाई आजित बनाएको आरोप समेत लगाए । हाम्राकुराले प्रमुख चौधरीसँग यस विषयमा कुरा गर्दा उनले आक्रोशित स्वरमा यस्तो जवाफ दिए ।
''पत्रकारले जे मनलाग्दी भनेर हुन्छ ? यो कुरा के भएको हो विराट अनुपमलाई सोध्नु न । त्यो चाटुकारलाई पत्रुकारलाई के भएको हो भन्नु नि, त्यो बहुलाएको हो । त्यसलाई बहुलाको कुकुरले टोकिराछ, त्यो पागल भैराको छ । त्यसले आफ्नो उपचार पहिले गराओस् न । पहिले विराट अनुपमको एक वर्षदेखिको स्टाटस हेर्नु ।''
यत्तिकैमा फोन काटियो । केही क्षणमा फेरि उनी आफैंले टेलिफोन गरेर यस विषयमा थप स्पष्टिकरण दिँदै भने
''तपाईंले विराट अनुपमको विषयमा नै थप कुराकानी गर्न चाहनु भएको होला । उनको डेढ वर्षदेखिको सबै फेसबुकको स्टाटस हेर्नुहोस् । के के लेखेका छन् । मलाई कसरी खुईल्याउने प्रयास गरेका छन् । उनी पूर्व बजारमा पत्रकारिता गर्छन् । एक वर्षदेखिको उसको सम्पादकीय संकलन हेर्नुहोस् । मेयर भ्रष्ट भनेर डेढ वर्षदेखि मलाई खेद्दै आएको हो । उनले अमूक नेताको इशारामा जाँड खाएर पैसा लिएर पित पत्रकारिता गर्ने गरेका छन् । तत्कालीन नेकपा एमालेका जिल्ला समिति सदस्य रामप्रसाद चौलागाईंको पैसा खाएर उनले मेरो बदनाम गर्ने गरेका छन् । तिनै चौलागाईमार्फत् अर्काे पटक मेयर हुने दुषित मनसायका साथ मेरो बदनाम गराउँदै आईएका छन् । यो विषयमा मैले सबै अनुसन्धान गरेपछि मलाई योजनाबद्ध रुपमा खेदो खनिएको पाएको छु ।
भ्रष्टाचारको विषयमा म विरुद्ध जति लेखिएको थियो । तर, अख्तियारले मलाई क्लिन चिट दियो । म विरुद्ध समाचारलेख्दा मेरो परिवार कति लज्जित भएका छन् । त्यसको क्षतिपूर्ति हुन्छ ? त्यसैले मैले भनेको हो तिमी जस्तै चाटुकार पत्रुकारको नाकको हड्डि भाँचेको थियो पर्शुराम बस्नेतले । तर, म त्यस्तो गुण्डा हैन । त्यस्तै गर्यौ भने अरु कोहीले नै तिम्रो नाकको हड्डि भाँच्छ । मैले यही भनेको हो । यस्ता कुराहरु भाईरल हुन दिनुहोस् । यस्तै अर्काे फटाहालाई अस्ति मैले लोपारिदिएको थिएँ ।
मैले भनेको हो, तँ जस्ताको नाकको डाँडी भाँच्नको लागि एक कठ्ठा घडेरी तयार पारिसकेको छु । म ओपन वार गर्ने मान्छे हुँ । म हिन्दी फिल्म हेर्ने मान्छे हुँ । हिन्दी फिल्मको प्रभाव पनि छ मलाई । म अब यस्तै भए मेयर मात्रै होईन गुण्डागर्दीमा पनि उत्रिन्छु । मस्तसँग लेखिदिए हुन्छ । जोसँग जे छ त्यही चलाउने हो । गन हुनेले गन चलाउँछ । कलम हुनेले कलम चलाउँछ । बुट हुनेले बुट चलाउँछ ।''
उनले पत्रकार विराट अनुपम सोध्नु भनेको कुरा नै हामीले विराटसँग सोध्यौं । सो क्रममा उनी भन्छन्
''मेयर चौधरीले जेठ ६ गते विना काममा नेकपाका नेतालाई कुट्नु भयो । जुन कार्यक्रममा भीम आचार्य लगायतका नेताहरु समेत सहभागी थिए । त्यसकै पर्सीपल्छ अर्थात् जेठ ८ गते नै अर्का एक कर्मचारीलाई विना कारण कुटपीट गर्नुभयो । सोही दिन उहाँले पत्रकारहरुमाथि दूब्र्यवहार गर्नुभयो । म कार्यरत नेपाल समय डटकममा आलोचनात्मक समाचारहरु आउने गरेकोमा पहिलेदेखि नै उहाँ हामीहरुसँग असन्तुष्ट हुनुहुन्थ्यो ।
उहाँको आलोचना सहन नसक्ने बानी सुधार्नको लागि हामीले सामाजिक सञ्जालमा पनि उहाँलाई सुझावहरु दिने गरेका थियौं । मेरो एउटा स्टाटसमा उहाँले अब तिम्रो पालो भन्दै धम्कीपूर्ण भाषामा कमेन्ट गर्नु भएको थियो । उहाँको एकदमै प्रेसर उच्च विन्दूमा रहेकोले मैले केही पनि प्रत्युत्तर त्यतिबेला दिईन । राष्ट्रिय महिला खेलाडी रेखा पौडेलसँग केही पत्रकारहरुले मंगलबार सामूहिक फोटो खिचेर फेसबुकमा पोष्ट गरेका थियौं । त्यसमा उहाँले पत्रुकार भन्दै कमेन्ट गर्नुभयो ।
त्यो विषयमा मैले फोन गर्दा उहाँले एकै छिनमा फोन काट्नु भयो र पछि आफैंले फोन गरेर यस्तो धम्की दिनुभयो । अहिले यहाँ पत्रकारको विषय मात्रै भाईरल भईरहेको छ । त्यसबाहेक पनि उहाँले सेवाग्राहीको निवेदन च्यात्नेदेखि लिएर नेकपा नेता र कर्मचारीलाई कुट्ने काम पनि धेरै गरिसक्नु भएको छ । उहाँको उदण्ड चाहिँ पत्रकारमा मात्रै सीमित भएको छैन ।''