काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष तथा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच द्वन्द्वकालीन मुद्दाबारे छिटो टुंगोमा पुग्ने सहमति भएको छ ।
बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको शीर्ष नेताहरुको बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा छिट्टै पदाधिकारी नियुक्त गर्ने सहमित जुटेको स्रोतले जनाएको छ । नेताहरुबीच सत्य निरुण तथा मेलामिला आयोग र बेपत्ता छानविन आयोग सम्बन्धि ऐन संशोधनका विषयमासमेत छलफल भएको जनाइएको छ । कस्ता मुद्दामा माफी दिने र कस्ता मुद्दामा सजाय दिने भन्ने स्पष्ट व्यवस्था गर्न ऐन संशोधनको तयारी भइरहेको छ ।
शीर्ष बैठकमा आयोगमा पदाधिकारी छिट्टै पूर्ति गर्ने विषयमा सहमति जुटेको बैठकमा सहभागी नेपाली काँग्रेसका नेता रमेश लेखकले बताए । उनका अनुसार नेताहरु द्वन्द्वकालीन मुद्दाहरु छिट्टै टुंग्याउन सहमत भएका छन् ।
सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको छ ।
शसस्त्र द्वन्द्वका पीडितहरुलाई न्याय दिन ती दुई आयोग बनाइएको भए पनि शान्ति सम्झौता भएको १२ वर्ष भइसक्दा पनि द्वन्द्वका पीडितहरुले न्याय पाउन सकेका छैनन् । यो विषयले सबैभन्दा धेरै तत्कालीन माओवादीका नेताहरुलाई तर्साउने गरेको छ ।