लेटाङ । उत्तरी मोरङको लेटाङ नगरपालिका ७ वाराङ्गी का ५९ वर्षीय आइतजित राईको खरले छाएको सानो घर छ । दुःख सुख बसेकै छन् राई दम्पती । उमेर भाका छोराछोरी भविष्य बनाउन भन्दै शहर पसे । तर आइतजित र पत्नी विष्णुकुमारीका जन्मेहुर्केको ठाउँ छाड्न सकेनन् ।
घरमा जडान गरेको मिटर बक्स देखाउँदै मोरङको वाराङ्गी सामल टोलका आइतजित राई ।
समला टोलमा खरको छानो भएको घर आइतजितको मात्रै हो । अरु सबै घर जस्तापाताले छाएका छन् । आइतजितको घरमा पहिलो पटक विजुलीको मिटर बक्स जोडिएको छ । तर, उनले विद्युतो बल्ब भने झुण्ड्याएका छैनन् ।
फुसको छानो भएको घरमा बिजुली बाल्दा आगो लाग्छ कि भन्ने उनलाई डर छ । त्यही भएर उनले जस्तापाताले छाएर नयाँ घर बनाउने सोच बनाएका छन् । उनी भन्छन्, ‘अब बिजुली आइहाल्यो टिनको छानो हालेर घर बनाउँछु अनी झललल्ल पारेर बत्ती बाल्छु ।’
बिजुली पुगेकामा खुसी व्यक्त गर्दै उनले भने,‘पहिले मट्टितेलबाट कुपि बालिन्थ्यो त्यसपछि सोलर आयो अब लाइन आयो अब विजुली बत्ती बाल्न पाइने भइयो ।’ स्थानीय ऋषिराम राई विजुली आएपछि मोवाइल चार्ज गर्न पाउँने भएँ भनेर हर्सित छन् । ‘पहिले मोवाइन चार्ज गर्न लेटाङ बजार जान्थ्यौं, १० रुपैयाँ तिर्नु पर्थ्यौ एउटा मोवाइन चार्ज गरेको,’ उनले भने, ‘अब त हाम्रै गाउँमा विजुली आएको छ धेरै खुसि लागेको छ ।’
पूर्वको सुगम जिल्ला मोरङमै पर्ने भएपनि अहिलेसम्म वाराङ्गीमा विजुली पुगेको थिएन् । मंगलबार भने पहिलो पल्ट वाराङ्गीमा बिजुली बत्ती बलेको हो । लेटाङ नगरपालिकाको जाँतेबाट विद्युत लाइन बिस्तार गरेर वारङ्गीमा बिजुली पुर्याइएको हो ।
त्यस क्षेत्रका प्रदेश सांसद उपेन्द्र घिमिरेले समला टोलमा मंगलबार स्वीच थिचेर औपचारिकरुपमा बिजुली बत्ती बालेका हुन । ३ वर्ष अगाडिदेखि विद्युतीकरण सुरु गरिएको उक्त टोलमा ३१ लाखको लगानीमा ५० घरमा वत्ती बल्न सुरु भएको हो ।
स्थानीयले मिटरबक्स जडानका क्रममा विभिन्न शुल्क गरी ३ हजारभन्दा बढी तिरेका छन् । विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख सचितानन्द यादवले सो टोलका ५० घरमा विद्युत् बालिएको र अब अन्य घरमा पनि विद्युत् विस्तार गर्ने काम भइरहेको बताए । मोरङका अझै २० प्रतिशत जनता विद्युत उपयोगबाट बञ्चित छन् । आगामि वर्षभित्रमा मोरङ शतप्रतिशत विद्युतीकरण हुने यादवले बताए ।
पूर्व वारङ्गी गाविसमा ७ सय घरधुरी छन् । अहिले ५० घरधुरीमा बिजुली जडान भएको छ । केही दिन भित्रै थप ४० घरमा बिजुली जडान गर्ने नेपाल विद्युत प्राधिकरणको तयारी छ । आगामी वर्ष मोरङ, सुनसरी, झापा, धनकुटा र झापाका सबै घरमा बिजुली बालिसक्ने सरकारको तयारी रहेको यादवले बताए । त्यसकालागि आवश्यक बजेट विनियोजन भएकोले त्यसै अनुसार योजनाहरु बनाएको उनले बताए ।
मोरङको मिक्लाजुङ–१, लेटाङ–७ र केराबारीको–४ नम्बर वडामा अहिलेसम्म बत्ती नबलेको सांसद घिमिरेले बताए । निकट भविष्यमा केराबारी ४ को चिउरी भन्ज्याङ्मा पनि सुरु हुने तयारी रहेको उनले जानकारी दिए । अबको १ वर्षमा वारङ्गीको ७५ प्रतिशत घरमा विजुली पुग्ने उनले बताए ।
विद्युत् नहुँदा त्यस भेगका बालबालिकालाई पढ्ने कुरामा सहज थिएन, जटिबुटी, अलैंची प्रशोधन कारखाना थिएन, मिल मेसिनरी संचालन गर्न पनि समस्या थियो । विद्युतीकरणका लागि लेटाङ नगरपालिकाले पनि ठूलो योजनाको रुपमा बजेट हालेको उपमेयर कृष्णकुमारी निरौलाले जानकारी दिइन् ।
वारङ्गीका १० प्रतिशत घरमा मात्र बिजुली बलेको र थप विद्युतीकरणमा नगरपालिकाले पनि लगानी गर्ने उनले बताइन् । अव्यवस्थित वस्ति, पातलो घर आदिले गर्दा विद्युत विस्तारको योजना महंगा हुने गरेको उनको भनाइ छ ।
‘अहिलेपनि मोरङका कतिपय गाउँमा वत्ती बलेको छैन भन्दा मानिस हास्ने गर्छन्, तर, वास्तविकता त्यस ठाउँको अर्कैर् छ,’ उनले भनीन्, ‘तर गाउँमा व्यवस्थित वस्ती नभएको कारणले विद्युतीकरणमा निकै समस्या छ ।’ वारंगीमा बिजुली पुगेको खुसियालीमा मंगलबार औपचारिक समारोहको आयोजना गरिएको थियो भने नाचगान र सांस्कृतिक कार्यक्रमसमेत भएको थियो ।