२०६८ साल जेठ २२ गते। नागरिक दैनिकमा तत्कालीन अवस्थामा विराटनगरबाट रिपोर्टिङ गर्थे खिलानाथ ढकाल। उनी अहिले काठमाडौंमा रहेर अपराध र भ्रष्टाचारविरूद्ध लेख्छन्।
विराटनगरमा गुण्डा नाइके पर्शुराम बस्नेतविरुद्ध समाचार लेखेपछि उनलाई अपहरण गरी ज्यान मार्ने प्रयास भएको थियो। विराटनगरको समग्र आपराधिक गतिविधिमा त्यतिबेला सक्रिय पर्शुराम बस्नेतले मोरङ जिल्ला अदालतमा बन्दीमाथि आक्रमण गरेको घटनाबारे समाचार लेख्दा ढकालमाथि आक्रमण भएको थियो।
उनी २२ दिन नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए। त्यतिबेला उनको नाकको अप्रेसन भएको थियो।
ढकालको समर्थनमा देशव्यापी आन्दोलन भयो। तत्कालीन सत्तारुढ दल नेकपा एमालेतर्फबाट झलनाथ खनाल प्रधानमन्त्री थिए। त्यसबेला बस्नेत समूहले ५० लाख लिएर मुद्दा फिर्ता लिन ढकाललाई दबाब दिएका थिए। बस्नेत समूहले ‘नाक भाँचेको बदलामा ५० लाख’ दिने भनी प्रचार गरेको थियो। अहिले इटहरीका पत्रकार विराट अनुपमलाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एक करोड दिएर नाक भाँचिदिने धम्की दिएपछि ‘नाकको मूल्य कति’ भनी देशव्यापी चर्चा छ। उनै ढकालसँग गरिएको कुराकानी प्रस्तुत छः
नाकको मूल्य त फेरि तोकियो नि ?
हेर्नुस्, कसको नाकको मूल्य के तोकियोरु त्यस विषयमा मलाई केही पनि जानकारी छैन। घटना के र कहिलेको हो भन्नेमा पनि म स्पष्ट छैन। सञ्चारमाध्यम र पत्रकारसँग सम्बद्ध संस्थाहरूले विज्ञप्ति जारी गरेपछि मैले आधिकारिक रुपमा थाहा पाएँ। नाकको विषयमा त्यहाँ ‘नेगेटिभ इन्टरप्रिटेसन’ भएको छ, त्यो आपत्तिजनक छ।
तपाईले भनेको के हो ‘नेगेटिभ इन्टरप्रिटेसन’ ?
नाकको विषयमा नकारात्मक तरिकाले व्याख्या गरिएको छ। समग्रमा पत्रकारले नाक जोगाउने विषयसँग यो सन्दर्भ नै मिल्दैन। न कि मेरो विषयमै जोडिएर आउने कुरा। त्यतिबेला मेरो नाकमा ‘सिरियस इन्जुरी’ थियो, अप्रेसन भएको थियो। त्यो ज्यान मार्ने अपराध थियो। घटनामा मेरो नाकको अप्रेसन गर्नुपरेको थियो। कसले मेरो मूल्य कति तोके मैले ख्याल गरिनँ, तर अपराधविरुद्ध मैले सम्झौता चाहिँ गरिनँ।
तपाईंको नाक भाँचिएको र पर्शुरामले त्यो गरेको भनेर त मेयरले भन्नुभयो नि ?
म माथि आक्रमण भएको, नाकको अप्रेसन भएको विषयमा देशी विदेशी सञ्चारमाध्यमले लेखिसकेका छन्, सबैलाई थाहा छ। यसमा थप भन्न जरुरी पनि ठानेको छैन। तर, त्यो घटनालाई जोडेर त्यहाँ भइरहेको घटनासँग जोड्दा चाहिँ मलाई नराम्रो लागेको छ।
तपाईंलाई किन नराम्रो लाग्यो, कारण के हो ?
सुन्नुहोस्, न्याय मैले अवश्य पाइनँ। मैले ‘नेगेटिभ इन्टरप्रिटेसन’ भयो भनेर त्यतिकै भनेको पनि हैन। अपराध र आपराधिक समूहविरुद्ध लेख्दा ममाथि आक्रमण भएको थियो। मलाई त उनीहरू मार्न चाहन्थे, तर म भाग्यले बाँचें। अहिले मेयरले त त्यो हदसम्म गरिसकेको स्थिति पनि हैन। धम्की मात्र दिएको हो, न यो अपराधसँग त्यो सम्बन्धित नै छ। मेयर र उहाँ अनुपमजी बीच के कसो भएको थियो, किन यो हदसम्म र नाकै भाँच्ने भनी पर्शुरामसँग जोडेर मेयरले भन्नुभयो मलाई थाहा भएन। यो घटनासँग मेरो घटनाको तालमेल नै छैन, यही प्रसंग जोडेर मिडियाहरूले मेरो नाम जोड्दा मलाई दुःख लागेको हो।
अनुपमको नाक भाँच्ने भन्दा तपाईंलाई चित्त दुखेन उसोभए ?
यसमा चित्त दुखो दुखेन भन्दा पनि घटना के भएको हो वास्तविकतामा जान जरुरी छ। मेयरले दिएको अभिव्यक्तिमा मेरो आपत्ति छ। तर, मेयरले उल्लेख गरेका कतिपय विषयवस्तुले त हामी पत्रकारमाथि नै प्रश्न सोझियो निर ? किन यस्तो भइरहेको छ भनी म चिन्तित पनि छु।
कस्तो प्रश्न भन्नुभएको तपाईंलेरु तपाईंले भन्न खोजेको वास्तविकता के हो ?
यहाँ कसैले पत्रकारितामाथि प्रश्न उठायो भने हामीले त्यसमा समीक्षा गर्ने कि नगर्ने ? व्यावसायिक पत्रकारिता र मेयरले भनेको ‘चाटुकारिता’ के हो ? कसले त्यो ‘चाटुकारिता’ गरेको छ ? पहिले त्यो खुट्याउन जरुरी छ। ‘चाटुकारिता’ गरेको हो भने त्यो सहेर बस्ने पनि हुँदैन। पत्रकारले जे पायो त्यही लेख्न हुँदैन। र, कसैको चरित्र हत्या गर्ने गरी समाचार प्रस्तुत हुनु पनि हुँदैन।
तपाईंले कस्तो व्यावसायिकता र चाटुकारिताको कुरा गर्नुभएको ?
सही प्रश्न गर्नुभयो। व्यावसायिक पत्रकारिताबारे मैले तपाईंलाई भन्नै पर्दैन। व्यावसायिक पत्रकारिता गर्दा कसैले पनि प्रश्न गर्दैन। म यहाँ काठमाडौं आएर कतिपटक नेता, मन्त्री, प्रधानमन्त्री, गुन्डा, प्रहरी अधिकारी, फटाहाहरूको विषयमा लेखेको छु। खै मलाई कसैले प्रश्न गर्दैन त, किन लेखिस् भनेर ? यो हुनुमा मैले बिना प्रमाण मैले कहिल्यै कसैलाई ‘नेगेटिभ इन्टरप्रेट’ गरिनँ। तर, मलाई ‘नेगेटिभ प्रिजेन्टर’ भन्छन् कतिपयले। प्रमाण भएपछि त्यस्ता कुराले केही पनि असर पार्दैन।
तपाईंले पनि त पर्शुरामको चरित्र हत्या गर्नुभयो भन्ने आरोप छ नि ?
कसले भन्यो त्यो ? म त त्यसबेला अस्पतालमा थिएँ। कसले गर्यो र पर्शुरामको चरित्र हत्या ? पर्शुरामको अपराध खोतल्दा चरित्र हत्या हुन्छरु पहिले पर्शुराम के हो भनेर बुझ्न जरुरी छ। जहाँसम्म उनको आपराधिक पृष्ठभूमिबारे मिडियाले खोतलेको हो, देशी विदेशी पत्रकारले अनुसन्धान गरेर पर्शुरामको आपराधिक पृष्ठभूमि खोतलेका हुन्। उनको आपराधिक गतिविधिबारे विराटनगरका राजनीतिक दल, सामाजिक संघ–संस्था, प्रहरी प्रशासनलाई सोध्नुस्। म अपराध र भ्रष्टाचार क्षेत्रमा काम गरिरहेको मान्छे हुँ। नेपाल प्रहरीले घरीघरी सुरक्षा रणनीति बनाउँदा पूर्व क्षेत्रमा पर्शुरामको नाम लिन्छ। पूर्वमा जाने अधिकांश प्रहरी अधिकारीले गुण्डाहरुको ‘लिष्ट’ बनाउँदा पर्शुरामको नाम ‘चुनौती’को रुपमा लिन्छन्। केन्द्रीय अनुसन्धान ब्युरोमा काम गरेका र पर्शुरामको सम्पत्ति शुद्धिकरण मुद्दामा काम गरेका अफिसरहरूलाई सोध्नुस्, राजनीतिक दलको आवरणमा उनले के–के गरे भन्ने स्पष्ट हुन्छ। गुन्डाहरुको नाम सार्वजनिक हुँदा पर्शुरामको किन आउँछरु मैले सारा प्रहरी प्रशासनलाई मिलाएर यस्तो आएको हो र ? जसले जे कर्म गरेको छ यहाँ त्यही अनुसारको रिपोर्ट आउने हो। अपराधविरुद्ध समाचार लेख्दा कसैको चरित्र हत्या हुँदैन। चरी किन मारिएरु घैंटे किन मारिएरु गुण्डाहरुको भविष्य छैन भन्ने यसले देखाउँछ। हाम्रो अदालत डराउँछ, न्यायाधीश डराउँछन्, दबाब–प्रभावमा पर्छन्,निष्पक्ष न्याय छैन यहाँ।
भनेपछि यहाँ स्वतन्त्र न्याय छैन है ?
हो, घटनाक्रम हेर्दा यहाँ न्याय छैन। पैसा र राजनीतिक दलको पहुँचमा न्यायको किनबेच भइरहेको छ। बेलाबखत यो देखिने गरेको पनि छ। तर, सधैं यो कायम भएको छैन, हुँदैन पनि। न्यायालयमा राम्रा न्यायाधीशहरू छन्। जस्तोः सुशीला कार्की। उहाँ त रिटायर्ड हुनुभयो। डा। आनन्दमोहन भट्टराई, अनिल सिन्हा, सपना मल्ल प्रधान, हरिकृष्ण कार्की, अहिलेकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पनि राम्रो न्याय दिइरहनुभएको छ।
तर, गुण्डाहरुले राजनीतिक पहुँचले मनोवैज्ञानिक रुपमा अदालत र न्यायाधीशमाथि दबाब छ। एउटा अदालतबाट सफाइ पाएँ भनेर ढुक्क हुनु पनि पर्दैन। यहाँ न्याय हुन्छ। तर, न्यायका लागि वर्षौं पर्खिनुपर्ने बाध्यता चाहिँ छ। न्यायमा ‘क्रस ब्यालेन्स’ छ, धेरै न्यायाधीशहरू कारबाही पनि परेका छन्। हामीले बेला–बेला न्यायको आवाज निकाल्यौं भने अदालतलाई घटनाको संवेदनशीलमा टेवा पुग्छ। कानुनी राज्यमा न्यायालय नै अन्तिम विकल्प हो।
तर, तपाईंको घटनामा कसैलाई कारबाही किन भएन ?
प्रहरीले काम गरेको हो। त्यसमा चित्त नबुझाउने ठाउँ नै थिएन। तर, न्यायालय कमजोर पार्न नेपालका दलहरू सक्रिय थिए, त्यो पनि त्यसैको परिणाम थियो। गुन्डा राजनीतिक दललाई चाहिन्छ। दलले राष्ट्र चलाउँछ। दल र गुण्डा एक–अर्काका परिपुरक छन्। पैसाको खोलो बग्छ यहाँ, न्याय किनबेचमा। गोपाल पराजुलीजस्ता न्यायाधीश भएपछि कसले पाउँछ न्यायरु अहिले न्यायालयले क्रान्तिकारी छलाङ मारिरहेको छ, तर न्यायालय सरकार र राजनीतिक दलको दबाबमा पक्कै छ। हामी पत्रकारिता क्षेत्रमा केही घटना हुँदा कति संगठित हुन्छौं, त्यो न्यायालयमा पनि गर्न सके ? पहिला हाम्रो न्यायालयलाई आत्मबल दिऔं। संसारमा न्यायालय बलियो भएको देशमा कसैले पनि पत्रकारितामाथि धावा बोल्न सकेको छैन।
विराट अनुपमको विषयमा तपाईंले केही बोल्नुभएन नि ?
म उहाँको पत्रकारितामा कमेन्ट गर्न चाहन्नँ। उहाँले कस्तो किसिमले घटनालाई ‘इन्टरप्रिएट’ गर्नुहुन्छ, त्यसमा पनि म जान चाहन्नँ। तर, पत्रकारले सभ्य, मर्यादित र आफूले पाएको जिम्मेवारीमा वस्तुनिष्ठ तरिकाले समाचार सम्प्रेषण गर्नुपर्छ। पत्रकारले जे हो त्यो ल्याइदिने हो। यहाँ म पत्रकार हुँ भनेर कसैलाई ‘यो ठिक यो बेठिक’ भन्दै सिकाइरहनु पनि पर्दैन। आफ्नो परिधि नाघ्न हुँदैन। परिधि नाघेपछि मात्र ‘यो ठिक यो बेठिक’ भन्ने कुराहरू आउँछन्। तपाईं मलाई यतिका कुरा सोध्दै हुनुहुन्छ, तपाईं ठिक कि बेठिक भनेर कसैले औंलो ठड्याएको छरु पहिला आफू ठिक हुनुपर्छ, अनिमात्र अरुलाई प्रश्न गर्नुपर्छ।
त्यसो भए अनुपमको नाक भाँच्ने धम्की ठिक हो ?
मैले कहिले ठिक भनें ? म यस्तो विषयमा यो ठिक यो बेठिक भन्न रुचाउँदिनँ। तर, घटनाक्रमको सबै अनुसन्धान न्यायोचित ढंगले हुनुपर्छ। पत्रकारले सामाजिक सञ्जालमा चरित्र हत्या गरेर कसैको बदनाम गर्न पनि हुन्न। विराट अनुपमजीको नाम सुनेको हुँ, मैले उहाँलाई व्यक्तिगत रुपमा प्रत्यक्ष भेटेको पनि छैन, उहाँले कहाँ के गर्नुभयो भन्ने कुरामा मेरो चासो पनि छैन। तर, नाक भाँच्ने सन्दर्भमा आएका तमाम कुराहरूमाझ मलाई नजोडियोस्।
मेयरलाई कारबाही गर्नु पर्छ कि पर्दैन ? के देख्नुहुन्छ तपाईं ?
मेयर हकी र सन्काहा स्वभावको हुनुहुँदो रहेछ। उहाँ भ्रष्टाचारबिरोधी काममा लोकप्रियता हासिल गरिरहेको पनि मान्छे हो भन्ने मैले बुझेको छु। कसैले नराम्रो वा नकारात्मक विचार अभिव्यक्ति राख्यो भनेर उहाँले यति पैसा छुट्याएको, यसो गर्छु भन्नु चाहिँ ठिक हैन। उहाँमाथि उचित अनुसन्धान र कारबाही अवश्य होस्। तर, पत्रकारले पनि सूचना सम्प्रेषण गर्दा प्रमाणित र वस्तुनिष्ठ सामग्री ल्याउनुपर्छ। कसैलाई आघात पार्न हुन्न। कानुनी बाटो हुँदाहुँदै आक्रमणको धम्की दिने व्यक्ति ठिक हैन। तर, सबै विषयवस्तुमा पत्रकार महासंघले छानबिन गरोस्। स्मरणरहोस्, पत्रकार महासंघले गरेको निर्णयमा मेरो कहिल्यै असहमति र आपत्ति भएको थिएन। पत्रकार महासंघले निर्दोषलाई दोषी बनाएको चाहिँ छैन।